देशका कलेजबाट ‘ड्रप आउट’ हुँदै विदेशिनेको ताँती, भर्ना भएका तीन चौथाई कोर्स नसक्दै पलायन

नेत्र तामाङ
२०८० भदौ १० गते १३:१३ | Aug 27, 2023
देशका कलेजबाट ‘ड्रप आउट’ हुँदै विदेशिनेको ताँती, भर्ना भएका तीन चौथाई कोर्स नसक्दै पलायन

पुल्चोक इन्जिनियरिङ क्याम्पसमा बीई भर्ना भएका नेम्जङ खम्बु दोस्रो वर्ष नै ‘ड्रप आउट’ भए। कडा प्रतिस्पर्धा गरी आर्किटेक्चरमा नाम निकालेका उनले नेपालमा भविष्य देखेनन्। अहिले उनी अमेरिका वा युरोपका जुनसुकै देश जाने तयारी गर्दै छन्।

Tata
GBIME
Nepal Life

कैलालीका सुरज बस्नेत बीबीएस तेस्रो वर्ष पढ्दापढ्दै अष्ट्रेलिया हानिए। भिसा हात पार्नसाथ यताको पढाई हापिहाले उनले।

लगातार ६ महिना जापानको भाषा कक्षा लिएर १२ लाख जम्मा गरेपछि सीता लामाले जापानको भिसा हात पारिन्। काभ्रेकी उनी ताहाचल क्याम्पसमा बीएड पढ्दै थिइन्।

आफ्नो अध्ययन बीचमै छाडेर नेपालबाट विदेशिने विद्यार्थीका हुलमा प्रतिनिधि पात्र मात्रै हुन् खम्बु, बस्नेत र लामा। नेपालको शैक्षिक क्षेत्रसँग जोडिएकाहरु यी तीन जनाको केसलाई ‘टिप अफ आइसबर्ग’का रुपमा अर्थ्याउँछन्। शिक्षा मन्त्रालयको तथ्याङ्कले पनि माथिका उदाहरण समुन्द्रको सतहमा देखिने हिउँका टुक्रामात्र भएको देखाउँछ, जसको मूल हिस्सा चाहिँ पानीमुनि नै छ।

पछिल्ला दुई वर्षमा ‘नो अब्जेक्सन लेटर'(एनओसी) लिनेको संख्या बढेको तथ्यांकले नेपाली विद्यार्थीको ठूलो लर्कोले मुलुक छाडिरहेको देखाउँछ। आर्थिक वर्ष २०७७/७८ मा २८ हजार ८८५ जनाले विदेश पढ्नका लागि यस्तो पत्र लिएकोमा २०७८/७९ मा एक लाख २ हजार ५०४ पुगे।

गत आव अर्थात् २०७९/८० मा साउन महिनाबाहेक नै एक लाख १० हजार २१७ जनाले एनओसी लिइसकेका छन्। 

कलेजलाई विद्यार्थी टिकाउनै गाह्रो

नेम्जङ, सुरज र सीता झैं विदेशिने विद्यार्थीको लाइन अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका लागि सामान्य हुन्। कुमारीपाटीस्थित निर्वाणा कलेजका सञ्चालक दिनेश थापामगरका अनुसार बीबीएसमा पहिलो वर्षमा ४० जना भर्ना भए अन्तिम वर्षमा मुस्किलले १२ जना विद्यार्थी बाँकी हुन्छन्। बाँकी बीचमै हराउने उनले जानकारी दिए।

महेन्द्ररत्न क्याम्पस ताहाचलमा कुनै बेला ८ हजारको संख्यामा विद्यार्थी भर्ना हुन्थे। संख्या अहिले घटेर ६ सयको हाराहारी छ। महेन्द्ररत्नकी उपप्राध्यापक शारदा पहारीका अनुसार गणित पढ्नेका लागि बीएडमा ६० जनासम्म भर्ना हुन्छन्। अन्तिम वर्ष पुग्दा १० जना पनि बाँकी रहँदैनन्।

आरआरमा सबै विषयमा गरी हरेक वर्ष १६०० विद्यार्थी भर्ना हुन्छन्। तर, अन्तिम वर्ष पुग्दा ९०० हाराहारी मात्र बाँकी रहन्छन्।

मानविकीतर्फ घुइँचो लाग्ने कलेज रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसको पनि हाल उस्तै छ। क्याम्पस प्रमुख प्राडा जीवनधर ज्ञवालीका अनुसार आरआरमा सबै विषयमा गरी हरेक वर्ष १६०० विद्यार्थी भर्ना हुन्छन्। तर, अन्तिम वर्ष पुग्दा ९०० हाराहारी मात्र बाँकी रहन्छन्। यसरी विद्यार्थी नअडिँदा राज्यलाई ठूलो घाटा लागिरहेको ज्ञवालीको भनाइ छ। ‘थोरै भए पनि फी कम हुने भयो कलेजलाई। राज्यलाई त २० देखि ३० लाखको भार नै पर्ने भयो,’ प्राध्यापक ज्ञवालीले भने।

सरकारी क्याम्पसमात्र होइन, यसखाले आँकडा निजी क्षेत्रबाट संचालित कजेजमा पनि उस्तै देखिन्छ। निजी कलेजहरुको साझा संगठन उच्च माध्यमिक विद्यालय संघ नेपाल, ‘हिसान’का अध्यक्ष रमेश सिलवालका अनुसार अघिल्लो वर्ष प्लस टू सक्काएका १ लाख ८० हजारमध्ये ५० हजारमात्र नेपालमा बाँकी छन्। ‘बाँकी अधिकांश विदेश हिँडेका छन्। पढाई नछाड्ने एकदम कम छन्,’ सिलवालले भने।

यसखाले लहर सबैखाले विषयमा उस्तै हिसाबले देखिएको छ। इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन) वाग्मतीका अध्यक्ष नरकान्त सापकोटाकाका अनुसार अघिल्लो आर्थिक वर्ष ५ हजार भन्दा धेरै इन्जिनियरिङका विद्यार्थीले देश छाडे। ‘पहिले सिभिल इन्जिनियरिङमा क्रेज थियो। अहिले ती कक्षा खाली हुँदै गएका छन्,’ सापकोटाले भने।

कोही किन छाड्छ नेपाल?

‘प्लस टु सकाएका विद्यार्थीको योजना नै विदेश उड्ने हुन्छ। नसकेकाहरु ब्याचलर जोइन गरेर बस्छन्। पढ्दापढ्दै ”ट्राइ” मारिरहेका हुन्छन्। मिल्ने बित्तिकै उड्छन्। यसले कलेजहरुलाईसमेत मुस्किल छ,’ निर्वाणा कलेजका सञ्चालक थापा मगरले भने।

महेन्द्र रत्न क्याम्पसका उपप्रमुख सिद्धिराज जोशीका अनुसार ताहाचलमा विद्यार्थी घट्नुको मुख्य कारण गाउँ-गाउँमा बीएड पुगेर पनि हो। ‘त्यसैले गर्दा हामीकहाँ विद्यार्थी घटेका छन्,’ जोशीले भने। उनका अनुसार यहाँ पढिरहेका मध्ये धेरैजसो चाहिँ जापान जाने भनेर सिफारिस माग्न आउने गरेका छन्।

क्यानडा, अष्ट्रेलिया, अमेरिका र जापानजस्ता देश जानेहरु कमाउने लक्ष्य सहित प्रोसेसिङमा लागेका हुन्छन्। अर्कातिर यस्ता मुलुकले विदेशी विद्यार्थीलाई अर्थतन्त्र चलायमान गराउनका लागि आकर्षित गर्ने गर्छन्।

जापान उड्नुअघि फोटो खिचाउँदै विद्यार्थीहरु।

आरआरका प्रमुख ज्ञवाली चाहिँ राजनीतिक अवस्था नसुध्रिँदा देशमा बस्ने स्थिति नबनेको स्वीकार्छन्। उनका अनुसार छोराछोरीलाई तह लगाउन अभिभावक ऋणै गरेर पनि विदेश पठाउन बाध्य छन्। ‘पोलिटिकल कल्चर सुध्रेन। रोजगारीको बजार पनि देखिएन। देशमा छी छी दुरदुर गरिने काम विदेशमा इज्जतका साथ गर्छन्,’ ज्ञवालीले भने, ‘सामाजिक रुपमा पनि विदेश पठाउने संस्कारको विकास भएको छ।’

हिसानका अध्यक्ष सिलवालका अनुसार कोभिडपछि ‘ड्रप आउट’ रेट ह्‍वात्तै बढ्यो। ‘कोभिड अघि ड्रप आउट रेट १० प्रतिशत रहेकोमा अहिले त्यो बढेर ३० प्रतिशतसम्म पुगेको छ,’ उनले भने, ‘पढ्न जाने र ड्रप आउट रेट दुवै उच्च छ।’ कोभिडका कारण रोकिएका विद्यार्थीको विदेश फ्लो एकै हुँदा पनि तथ्यांकमा धेरै देखिएको हुनसक्ने सिलवालको तर्क छ। कतिपय अवस्थामा सेमेस्टर क्रेडिट ट्रान्सफर हुँदा पनि विदेश जाने संख्या बढेको उनले जानकारी दिए।

नीलो रंगका देशहरुमा नेपाली विद्यार्थीहरुले पढ्न जान गत आर्थिक वर्षमा एनओसी लिएका छन्।

विद्यार्थी पढ्नमात्रै विदेशिएको मान्न तयार छैनन् सिलवाल। क्यानडा, अष्ट्रेलिया, अमेरिका र जापानजस्ता देश जानेहरु कमाउने लक्ष्य सहित प्रोसेसिङमा लागेका हुन्छन्। अर्कातिर यस्ता मुलुकले विदेशी विद्यार्थीलाई अर्थतन्त्र चलायमान गराउनका लागि आकर्षित गर्ने गर्छन्। ‘कोभिडमा सुकेको आम्दानी आर्जन गर्न सबै देशले एकैचोटि भिसा खुकुलो गरेको सिलवालको भनाई छ। ‘अस्ट्रेलिया, अमेरिका क्यानडाका लागि आम्दानीको स्रोत बनेका छन् हाम्रा युवा। कोभिड अलिकति कम हुनेबित्तिकै ह्वात्तै छोड्यो,’ सिलवालले भने, ‘नेपाल गरिव छ तर नेपाली गरिव छैन। अस्ट्रेलियमा नेपाली तेस्रो हो यसरी पढ्न जाने। अमेरिकामा सातौं, क्यानडामा पनि शीर्ष दशभित्र नेपाल पर्छ।’

शिक्षालाई धिक्कार्ने, रेमिट्यान्स पुकार्ने

राष्ट्र बैंकको तथ्यांकअनुसार वर्षमा एक खर्ब रकम वैदेशिक शिक्षामा लगानी भएको देखाउँछ। तर, सिलवाल भने ३ देखि ४ खर्ब पैसा विदेशकै पढाईमा जाने दाबी गर्छन्। ‘सरकारी रेकर्डमा एक अर्ब देखिए पनि एनआरएनए मार्फत् र हुन्डी मार्फत् थप पैसा जान्छ,’ उनले भने, ‘वैदेशिक शिक्षामा लगानीको स्रोत नखोज्दा यस्तो भयो। जिन्दगीभर कमाउनेभन्दा धेरै पैसा लगाएर छोराछोरी बाहिर पठाउन सरकारले नै प्रोत्साहन गर्‍यो।’

नेपालको शिक्षालाई धिक्कार्ने र नेताहरुले रेमिट्यान्स पुकार्ने प्रवृत्तिले यस्तो भयावह अवस्था निम्तिएको उनको तर्क छ। ‘डलरको लोभले होनाहार युवालाई विदेश पठाइरहेका छन्। नेपालको शिक्षालाई धिक्कार्ने काम भइरहेको छ। रेमिट्यान्सको धाक लगाइरहेका छन् नेताहरुले,’ सिलवालले भने, ‘यसले देश बन्दैन भन्ने उदाहरण थुप्रै छन्। यसका लागि युवालाई उद्योगमा लगाउनै पर्छ।’

सिडेन वाग्मतीका अध्यक्ष सापकोटा भने फरक तर्क गर्छन्। उनका अनुसार नेपालको पढाई व्यवहारिक छैन। ‘एक त खुलेका कलेजहरुमा इन्फ्रास्ट्रक्चर छैन। पढाइ व्यवहारिक छैन। एडप्ट गर्ने खालको छैन,’ सापकोटाले भने। उनले अर्को कारण चाहिँ राजनीतिक स्थायित्व नहुनुलाई लिएका छन्। ‘देश सुध्रन्छ, सुध्रन्छ भनेर बसेकाहरु अब वाक्क भएका छन्। राजनीतिक स्थिरता छैन। पचासमाथिका अभिभावकले धेरै राजनीतिक परिवर्तन देखिसकका छन्। उनीहरुमा देशमा केही परिवर्तन आएन भन्ने छ,’ सापकोटाले भने।

उनका अनुसार युवाले विदेश छाड्ने अर्को कारण हो विश्वविद्यालयको लठिभद्र शैक्षिक क्यालेन्डर। ‘समयमा कोर्स सकिन्न। चार वर्ष पढेको विषय ३ घण्टाको मूल्याङ्कनले ७ प्रतिशत पनि पास हुँदैनन्। चार वर्ष समय १५ देखि ३० लाख खर्च गर्दा पनि इन्जिनियर हुने पक्का नभएपछि यहाँ किन अडिने भन्ने हुन्छ,’ उनले भने, ‘बरु ६ महिना पढाएर आइइएलटीएस गर्ने, १० लाख जति खर्चने अनि बाहिर पठाउने।’

हाइफाइ लाइफ कल्चरले पनि विदेश जान प्रेरित गरेको बताउँछन् उनी। ‘अहिले आफै कमाउ भन्ने छ युवाहरुलाई। अर्को र्‍यापिड मनी खोज्छ अहिलेको पुस्ताले। सामाजिक र पारिवारिक दबाब पनि छ विदेश जानका लागि,’ उनले भने, ‘विदेशिनु त फेसन नै भयो।’

स्वदेशमा श्रम गर्न चाहनेका लागि भन्दा विदेश पढ्न हिँड्नेलाई बैंकले धेरै पत्याइदिँदा यसखाले संस्कृति झँगिएको पनि देखिन्छ। ‘नेपालमा पढ्नेलाई लोन पत्याउँदैन बैंकले। न त आफन्तले नै पत्याउँछन्। ‘बाहिर पठाउँदा ढुक्कले दिन्छन्,’ उनले भने।

त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानका सहायक डीन प्राडा चिन्तामणि पोखरेलका अनुसार सरकारले इन्जिनियर भएकालाई समेत काममा लगाउन सकेको छैन। त्यसैले विद्यार्थी देशमा अडिने वातावरण नबनेको उनको बुझाइ छ।

अर्कातिर नेपालमा चलेका कलेजसँग आर्थिक स्रोत कमजोर हुँदा पूर्वाधार पर्याप्त छैन। ‘हामीसँग ल्याब पुरानो छ। रिप्लेस गर्नुपर्ने अवस्था छ। गर्न सकिएको छैन,’ पोखरेलले भने, ‘अनि ‘पास आउट’ भएकालाई सरकारले रोजगारी दिन सकेको छैन।’

पछिल्लो २५ वर्ष न्युनतम शुल्कमा पढाइरहेको सरकारी इन्जिनियरिङ कलेजले यसपटक शुल्क बढाउने प्रस्ताव गरेको छ। तर, विद्यार्थीहरुले भने कुनै हालतमा शुल्क बढाउन नहुने भन्दै आन्दोलन थालेका छन्। ‘छात्रवृत्तिमा छानिएकालाई ३४ हजारबाट ८० हजार र पूर्ण शुल्क तिर्नेलाई २ लाख ८१ हजार तिर्नेलाई ७ लाख ७५ हजार पुर्‍याउने प्रस्ताव हो। विगत २५ वर्षसम्म हामीले न्युनतममा पढाइरहेका हौं। तर यसपटक बढाउन बाध्य भएका छौं,’ पोखरेलले भने।

विश्वविद्यालय कोष भएन

त्रिभुवन विश्वविद्यालय मानवशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा डा डम्बर चेम्जोङका अनुसार नेपालका शैक्षिक संस्था बलियो नबन्दा अहिलेको स्थिति सिर्जना भएको हो।

‘शैक्षिक संस्था बलियो बनाएनन् बरु मन्दिर, चर्च, गुम्बा, मस्जिदमा दान दिन थाले। विश्वविद्यालय कोष छैन,’ चेम्जोङले भने, ‘केपी ओलीले पशुपतिको जलहरीमा १०८ किलो सुन चढाए। तर, शैक्षिक संस्थामा लगानी गरौं भन्ने कोही भएनन्।’

भारतकै ठूलो व्यावसायिक घराना रतन टाटाको उदाहरण दिँदै उनले नेपाली साहुमहाजनले पनि त्यहाँबाट सिक्नुपर्ने उनले सुझाए। ‘नेपालमा पढेका विनोद चौधरीले रतन टाटाबाट सिक्नुपर्ने हो। रतनले स्नातक अमेरिकाको कर्नेल युनिभर्सिटीमा पढे। स्नातकोत्तर चाहिँ हार्वडमा,’ चेम्जोङले भने, ‘सन् २००८ मा विश्वव्यापी आर्थिक मन्दी हुँदा उनी पढेका विश्वविद्यालयहरु पनि यसको चपेटामा परे। त्यतिबेला रतन टाटाले आफू पढेका दुई विश्वविद्यालयलाई ५०/५० मिलियन डलर दान दिए। उनले २५ जना भारतीयलाई पढाउनुपर्छ भन्ने सर्तमा दान दिएका थिए।’

अमेरिकामा अधिकांश विश्वविद्यालय ट्रस्टबाट चल्ने र ट्रस्टमा सबैभन्दा बलियो हार्वड भएको उनको भनाइ छ। हार्वड मा ३५ अर्ब अमेरिकी डलर र कर्नेलमा ७ अर्ब डलरको अक्षय कोष छ। ‘संसारमा जो बलियो छ उसैलाई पत्याउने हो। यस हिसाबले हेर्दा नेपालका विश्वविद्यालय कमजोर भए। अक्षयकोष बनाउँ भन्ने ध्येय कसैको भएन,’ चेम्जोङले भने।

विदेशी शैक्षिक संस्थामा आकर्षित हुनुको अर्को कारण काम नै भएको बताउँछन् उनी पनि। ‘राम्रो पढे त्यहीँ स्कलरसिप पाउँछन्। अझ एसिस्टेन्सी पाउँछन्,’ चेम्जोङले सुनाए।

अर्कातिर विदेशिनु सामाजिक प्रतिष्ठाको सूचक बनेको छ नेपालमा। सँगैका साथीभाइ विदेश लाग्दा नेपाल बस्नेहरु त्यतातिर तानिएका छन्। ‘हीनताबोधबाट ग्रसित हुन किन नेपाल बस्ने? देश खाई शेष भएर फर्कने प्रवृत्तिले पनि नेपालमा पढाइ छाडेर विदेशिनेको संख्या उकालो लागेको छ,’ चेम्जोङले भने, ‘पियर प्रेसर, बाआमाको इज्जतको सवाल पनि छ। अर्को देश खाई शेष भएर फर्कने प्रवृत्ति बढेको छ।’