विराटनगर भन्सार प्रमुखसहित ३ कर्मचारी अनुसन्धानमा तानिए, जुत्ता-गार्मेन्टको प्रज्ञापनपत्रमा भएको केहो?

अनन्तराज न्यौपाने
२०७९ माघ १३ गते १५:२२ | Jan 27, 2023
विराटनगर भन्सार प्रमुखसहित ३ कर्मचारी अनुसन्धानमा तानिए, जुत्ता-गार्मेन्टको प्रज्ञापनपत्रमा भएको केहो?

विराटनगर। विराटनगर भन्सार कार्यालयका प्रमुख ताराप्रसाद सापकोटासहित ३ कर्मचारी छानबिनका लागि काठमाडौं तानिएका छन्।

Tata
GBIME
Nepal Life

काठमाडौंको देव इन्टरनेसनलले चीनबाट आयात गरेको जुत्ता र रेडिमेड गार्मेन्टका विषयमा तीन जनालाई नै काठमाडौं बोलाइएको हो। सापकोटालाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ।

त्यस्तै भन्सार अधिकृत नकुल शर्मा र नासु हिमालय दाहाललाई बयानका लागि भन्सार विभागमा हाजिर गराइएको स्रोतले जनाएको छ।

सरुवा भएका प्रमुख सापकोटाले शुक्रबार विराटनगरबाट रमाना लिएका छन्। अधिकृत शर्मा र नासु दाहाल गत बिहीवारदेखि भन्सार विभागमा हाजिर गरिरहेका छन्।

कार्यालयको स्रोतका अनुसार देव इन्टरनेसनलले ७३ हजार डलर बराबरको जुत्ता र तयारी गार्मेन्ट चीनबाट आयात गरेको थियो। आयातकर्ताले भन्सार प्रतिनिधि शरण (सन्तोष) खरेलमार्फत् यसको राजस्व ४५ लाख तिर्ने घोषणा गरेका थिए।

उक्त सामग्री विराटनगरको आइसीपीस्थित भन्सार कार्यालयको परिसरमा आइपुगेपछि देव इन्टरनेसनलका प्रतिनिधि खरेलले भन्सार कार्यालयमा प्रज्ञापनपत्र दर्ता गरेका थिए। तर, दर्ता भएको प्रज्ञापनपत्र एकाएक रद्द गरियो।

प्रज्ञापनपत्र सिस्टममा इन्ट्री लगत्तै डिलिट गरिएको थियो। यसको सुईको पाएको विभागले तत्काल छानबिन टोली विराटनगर पठायो। टोलीलाई प्रतिनिधि खरेलले ‘मालसामान चीनबाट चलानी नै नभएको हुँदा प्रज्ञापनपत्र रद्द गरिएको’ उत्तर दिए।

भन्सार कार्यालयले रद्द गरिएको प्रज्ञापनपत्रमा घोषणा गरिएको मालवस्तु विराटनगर भन्सार कार्यालयको परिसरभित्र नआइपुगेको र आइसीपीको गोदाममा सामान नरहेको जबाफ दियो।

यसपछि विभागको टोलीले गोदामको परीक्षण गर्यो। गोदामको परीक्षण गर्दा रद्द गरिएको प्रज्ञापनपत्रमा घोषणा गरिएका मालसामान फेला परे।

कोलकाता बन्दरगाहले उक्त मालसामानको उल्लेख गर्दै विराटनगर नाकाका लागि सीटीडी (कस्टम ट्रान्जिट डिक्लियरेसन) फर्म पनि जारी गरेको छ।

स्रोतका अनुसार एलसी खोलेर मगाइएको मालवस्तु आएन भने एलसी खोल्नेलाई विदेशी मुद्रा अपचलनको अभियोग लाग्छ। त्यस्तै मालवस्तु आयो तर भन्सार छलेर आयात गरियो भने राजस्व अपचलनको अभियोग लाग्छ।

यस विषयमा अर्थ मन्त्रालयले मन्त्रालयका सहसचिव सुमन दाहालका संयोजकत्वमा छानबिन समिति बनाएको छ।

प्रमुख सापकोटालाई मन्त्रालयमा सरुवा गरिएपछि विराटनगर भन्सारले आयातित उक्त सामानको १ करोड २५ लाख रुपैयाँ राजस्व असुल गरेर जाँचपास गरेको छ। जबकि यसको राजस्व ४५ लाख हुने घोषणा गरिएको थियो।

बिजमाण्डूले सापकोटासित सम्पर्क गर्ने बारम्बार प्रयास गर्दा पनि उनले फोन उठाएनन्।

भन्सार प्रतिनिधि खरेलले केही सामान मिसप्लेस भएको र कन्फ्युजन उत्पन्न भएको उल्लेख गर्दै उक्त सामान जाँचपास भई गइसकेको दाबी गरे। उनले भने ‘यो विषयमा कुनै विवाद भएको छैन।’

यसअघि भन्सार प्रमुख सापकोटाले जाँचपास गरेका ट्रकमा राजस्व अनुसन्धान विभागले छड्के जाँच गरेको थियो। त्यसमा न्यून बिजकीकरण भेटिएपछि विभागले २ वटा ट्रकलाई ४५ लाख जरिवाना गरेको थियो। सापकोटा पहिल्यैदेखि शंकाको घेरामा रहेको राजस्व स्रोतले जनाएको छ।

भन्सार विभागका पूर्व महानिर्देशक कमलप्रसाद भट्टराईले पनि उनी माथि छड्के चेकजाँच गर्न लगाएका थिए। जनार्दन शर्मा अर्थमन्त्री हुँदा सापकोटाका कामको छड्केमा जाने अधिकृतको १० दिनमै सरुवा गराइएको थियो। उक्त घटना अहिले आएर समीक्षा सुरु भएको छ।