सजिलो सेवाले प्राविधिक र सेवाग्राहीलाई लक्षित गर्दै ल्यायो ‘सजिलो सेवा मोबाइल एप’

बिजमाण्डू
२०७९ भदौ १९ गते १२:५४ | Sep 4, 2022

काठमाडौं। मर्मत सम्भारसँग सम्बन्धित सेवा दिँदै आएको स्टार्टअप कम्पनी 'सजिलो सेवा'ले  कम्पनीले आफूसँग आबद्ध प्राविधिक र सेवाग्राही लक्षित सर्भिस सेयरिङ सजिलो सेवा मोबाइल एप संचालनमा ल्याएको छ। 

Tata
GBIME
Nepal Life

सजिलो सेवा स्थापनाको पाँचौं वार्षिकोत्सव मनाए लगत्तै प्रविधिमैत्री सेवा दिन आइओएस  तथा एन्ड्रोइड दुवैलाई हुने गरी मोबाइल एप ल्याइएको कम्पनीका सह-संस्थापक पुकार आचार्यले बताए।  

सजिलो सेवा सन् २०१७ मा म्यानेजमेन्टका दुई विद्यार्थी र १ इन्जिनियरले काठमाडौंका घर तथा अफिसलाई दैनिक रुपमा चाहिने विद्युत तथा प्लम्बिङ सम्बन्धी सानोतिनो समस्याका लागि सेवा चाहिँदा खेप्नुपर्ने सास्तीलाई समाधान गर्न सुरु गरेका हुन्।

पाँच वर्ष लामो व्यावसायिक यात्रामा यस कम्पनीले २ सय ५० प्राविधिकहरूबाट ४० हजारभन्दा बढी सेवा प्रदान गरिसकेको छ। सजिलो सेवा टिमले आफ्नो सेवालाई अटोमेट गर्न विगत एक वर्षदेखि काम सुरु गरेको थियो। 

सजिलो सेवाले यस एप मार्फत आफ्नो सेवाको दायरालाई अझ फराकिलो बनाउँदै होम रिपेयर, होम सैलुन, इभेन्ट म्यानेजमेन्ट, मेडिकल टेस्ट एट होम, गार्डेनिङ, ड्राइभर, क्लिनिङ तथा पेस्ट कन्ट्रोल लगायत ५० भन्दा बढी सेवाहरु प्रदान गर्ने भएको छ l

यस्ता छन् विशेषता

यस एपमा सेवाग्राहीहरूले सहजै सेवा बुकिंग गर्न सकिने, सेवाहरुको मूल्य पारदर्शी रूपले एपमा देख्न सकिने, सेवा बुकिङ गर्नु अगावै आफूलाई चाहिएको सेवाको खर्च इस्टिमेट तुरुन्त प्राप्त गर्न सकिने बताइएको छ।

आफ्नो अर्डरको स्थिति लाइभ अपडेट लिन मिल्ने, ३० दिनको सर्भिस वारेन्टी, विभिन्न अनलाइन पेमेन्टको विकल्प रहेको र एपमार्फत विभिन्न छुट तथा क्यासब्याकहरु पाइने लगायतका सुविधाहरू पाइने पुकारले जानकारी दिए। 

यसका साथै एप संचालनमा आएको सुरुवाती दिनहरुमा अर्थात भाद्र १७ देखि आगामी कात्तिक ७ गतेसम्म कम्पनीले ग्राहक लोभ्याउने अफरहरु पनि ल्याएको छ। एप डाउनलोड र साइन अप गरेकामध्य एक विजेताले आइफोन ११ जित्न सक्नेछन् भने सजिलोएप प्रोमोकोड प्रयोग गरी आफ्नो पहिलो अर्डरमा ५० प्रतिशत छुट पाउने सक्ने छन्। त्यस्तै एनआईसी एसिया र क्युआर, इसेवा र खल्तीबाट भुक्तानी गर्दा  ३०० रुपैयाँसम्म क्यासब्याक पाइने छ।

ग्राहकहरुका लागि मात्र नभई कम्पनीले सेवा प्रदायकहरुका लागि पनि ‘सजिलो एक्सपर्ट्स’ नामक एप दुवै आइओएस तथा एन्ड्रोइडमा छ। यसले गर्दा सेवा प्रदायकहरुले छिटो र गुणस्तरीय सेवा प्रदान गर्न सक्ने पुकार बताउँछन्।

‘यो एपमार्फत हामीले दक्ष जनशक्ति पहिचान गरी उहाँहरुलाई पर्याप्त रोजगारीको अवसर सृजना गर्ने लक्ष्य लिएका छौं,’ उनले भने। ‘सजिलो एक्सपर्ट्स’ एप प्राविधिकहरूका  लागि ठूलो बजारमा आफ्नो सेवा सहजै उपलब्ध गर्न सक्ने एउटा सजिलो प्लाटफर्म हुनेमा सजिलो सेवा विश्वस्त रहेको उनको भनाइ छ। 

उनी थप्छन्, ‘यस एप मार्फत प्राविधिकहरूले आफ्नो सेवाको उचित मूल्य प्राप्त गर्न सक्नेछन् साथै आफ्नो अनुकूलता अनुसार काम गर्न सक्ने छुट पनि हुनेछ।

कम्पनीले आगामी असोजदेखि सेवा क्षेत्र उपत्यकाबाहिर पोखरामा विस्तार गर्दैछ। यसपछि कम्पनीले  यस एपमा एक सयभन्दा बढी सेवालाई थप्दै जाने योजनामा काम गर्दै छ। 

त्यस्तै, सजिलो सेवाले आफ्नो सेवालाई छिटै नेपालभरि विस्तार गर्ने लक्ष्य लिएको छ। यसो गर्दा कम्पनीले नेपाली बजारमा दैनिक ५ हजार भन्दा बढी रोजगारीको अवसर सृजना गरेर युवा प्राविधिकलाई जोड्ने छ।