हिमालय एयरलाइन्सको दुई वर्षे संस्थागत सामाजिक उत्तरदायित्व विवरण सार्वजनिक, चार निशुल्क उडान

बिजमाण्डू
२०७९ साउन १८ गते १४:०४ | Aug 3, 2022
हिमालय एयरलाइन्सको दुई वर्षे संस्थागत सामाजिक उत्तरदायित्व विवरण सार्वजनिक, चार निशुल्क उडान

काठमाडौं। निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले आफ्नो दुई वर्षे संस्थागत सामाजिक उत्तरदायित्व विवरण सार्वजनिक गरेको छ। कम्पनीले कोभिड-१९ यता आफ्नो व्यवसायसँगै सिएसआर अन्तर्गतको नियमित कर्तब्यलाई पनि यथावत राख्दै आएको ब्राण्ड एण्ड सर्भिस इम्प्रुभमेन्ट विभाग प्रमुख उज्वला दलीले  जानकारी दिइन्।

Tata
GBIME
Nepal Life

'कोभिड-१९ सुरु भएसँगै विश्व अर्थतन्त्र नै डामाडोल भएको थियो। यो अवस्थामा पनि हामीले निरन्तर सेवासँगै सिएसआर अन्तर्गतको सेवा यथावतै राख्न सफल भएका छौं। शिक्षा, वातावरण, उद्धार उडान, कार्गो उडानलगायत क्षेत्रमा हामीले सिएसआर अन्तर्गतको कर्तब्य पूरा गरेका छौं।'- दलीले भनिन्।

कम्पनीले यो समय सरकारलाई १० लाख रुपैयाँ सहयोग स्वरुप हस्तान्तरण गरेको जानकारी दिएको छ। कम्पनीले सहयोगी मुलुकबाट आएको खोप तथा स्वास्थ्य सामाग्री ल्याउनका लागि चारवटा निशुल्क कार्गो उडान गरेको जनाएको छ।

कम्पनीले चीनले सहयोगमा दिएको दुई लाख थान भेरोसेल खोप निःशुल्क ढुवानी गरेको जनाएको छ। सिएसआरअन्तर्गतको यो निशुल्क कार्गो चार्टर उडान दुई करोड २५ लाख रुपैयाँ बराबरको रहेको कम्पनीले जनाएको छ।

यो समय नियमित उडान नरहेको विभिन्न मुलुकबाट उद्दार उडान गरेको कम्पनीले जानकारी दिएको छ। कम्पनीले यात्रु सुरक्षालाई मध्यनजर गर्दै चारैवटा जहाजमा अटोमेटेड एक्सटर्नल डेफिब्रिलेटर्स (एइडीएस) जडान गरेको छ।  जीवन सुरक्षा केन्द्रित यो उपकरण जडान गर्ने हिमालय देशकै पहिलो एयरलाइन्स भएको कम्पनीले बताएको छ।

यो उपकरणले यात्रुको हृदयगति अकस्मात् बन्द हुँदा वा हुन लाग्दा त्यसलाई रोकेर हृदयगति सुचारु राख्न मद्दत गर्ने कम्पनीले जनाएको छ।

सन २०२१ कार्गो सेवामा मुलुककै दोस्रो वायुसेवा कम्पनी बन्न सफल हिमालयले दिगो वातावरण प्रदुषण नियन्त्रणका लागि काम गर्दै आएको कार्बोनडाइओक्साइड नियन्त्रण लक्षित प्रणाली प्रयोग गर्दै आएको जानकारी दिएको छ।  प्रयास नेपालमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको पनि कम्पनीले बताएको छ।

सन् २०१६ मे बाट एउटा जहाज मार्फत उडान सेवा सुरु गरेको कम्पनीका हाल तीनवटा जहाज संचालनमा छन्। यसमार्फत युएइ, मलेसिया, कतार, साउदी अरेबिया, बङ्गलादेश, चीन, कुवेत लगायत विभीन्न गन्तब्यमा नियमित यात्रु तथा कार्गो उडान गर्दै आएको  कम्पनीले जानकारी दिएको छ।