कर्पोरेट कानुनमा चार दशकदेखि ‘पायोनियर लिगेसी’ पुस्तान्तरण हुँदै

सुदर्शन सापकोटा/बिजमाण्डू
२०७९ साउन १७ गते ०८:५८ | Aug 2, 2022

काठमाडौं। २०३८/३९ सालताका सुवासचन्द्र नेम्वाङ, वैद्यनाथ उपाध्याय र भरतराज उप्रेती ‘नेपाल ल फर्म’ मा काम गर्थे। कृष्णप्रसाद भण्डारी र कुसुम श्रेष्ठको उक्त ल फर्म त्यो बेला निक्कै चलेको र सम्मानित थियो।

Tata
GBIME
Nepal Life

केही नयाँ गर्नुपर्छ भन्ने युवाहरुले २०४० सालमा नेपाल ल फर्म छाडे। कनकविक्रम थापालाई समेत साथै लिएर खोले ‘पायोनियर ल फर्म।’

नेम्वाङ संविधानसभाका पूर्व अध्यक्ष हुन् भने वैद्यनाथ उपाध्याय सर्वोच्च अदालतका न्यायाधीशबाट अवकाश। थापा त्रिभुवन विश्वविद्यालयमा कानुन संकायको डिन भएर बाहिरिए। र, भरतराज उप्रेती पनि सर्वोच्च अदालतबाट अवकाश भए, पछि उनले ‘स्व-मृत्युवरण’ रोजे।

चार जनाले ल फर्म खोल्नुअघि नै कसले के हेर्ने भनेर कार्यक्षेत्र समेत छुट्याएका थिए। उप्रेतीले कर्पोरेट रोजेका थिए भने, नेम्वाङले फौजदारी, उपाध्यायले ‘देवानी’ र थापाले प्रशासनिक कानुन क्षेत्र रोजेका थिए।

समयसँगै सबैको प्राथमिकता फेरियो, भूमिकाहरु पनि फेरिँदै गए।

२०४९ मा उपाध्याय न्यायाधीश भएपछि ल फर्म छाडे। सहायक प्राध्यापक रहेका थापा २०५० मा कानुनको डिन भए। सार्वजनिक लेखा समितिको सभापति भएपछि २०५२ मा नेम्बाङले पनि ल फर्म छाडे। तैपनि उनका लागि २०६८ सम्म उनका लागि एउटा कोठा भने राखिएको थियो।

सबैले भटाभट छाडेपछि भरतराज उप्रेतीले ल फर्मलाई अगाडि बढाए। फौजदारी, देवानी, प्रशासनलगायत सबै क्षेत्रको मुद्दा लड्ने गरेको ल फर्म जब उप्रेतीको एक्लैको काँधमा आयो, यसले ‘कर्पोरेट’ मुद्दालाई मात्र प्राथमिकता दियो।

४० वर्ष कर्पोरेट क्षेत्रका लागि न्यायिक मामिलामा बहस-पैरवीलाई अगाडि बढाएका भरतराज उप्रेतीको लिगेसी यतिबेला पनि कायम छ। कम्पनीका साझेदारहरु फेरिएका छन्, टिम फराकिलो भएको छ, तर पायोनियर टिमले भरतराज उप्रेतीको फिलोसफी नै पछ्याएर काम गरिरहेको  छ।

उनी बिते पनि छोरा अनुपराज उप्रेतीको नेतृत्वमा ल फर्मले ‘कर्पोरेट’ क्षेत्रमा नेतृत्वदायी भूमिका खेलिरहेको छ। पुरानो तरिकाले चलिरहेको ल फर्म भरत जीवित हुँदै २०५८ मा कम्पनीमा परिवर्तन भइसकेको थियो।

पायोनियरले ४० वर्षको इतिहासमा धेरै देखिने काम गरेको छ। विदेशी संयुक्त लगानीको नेपाल अरब बैंक (अहिले नबिल) को कानुनी जन्म यही ल फर्मबाट भएको हो। त्यसबेला यसको कार्यालय पद्मकन्या क्याम्सको अगाडिको पुरानो रातो घरमा थियो। नेपाल एसबीआइ बैंक को त कर्पोरेट अफिस नै केही समय पायोनियर ल फर्मबाटै सञ्चालनमा ‍थियो।

२०५२ मा शंकरदेव छेउमा कार्यालय सर्यो भने २०५५ मा अनामनगरमा जग्गा किनेर २०५६ मा आफ्नै घर बनाएपछि ल फर्म अहिलेसम्म त्यहीँ नै छ।

‘सुवास नेम्वाङले भनेपछि म यो ल फर्म छिरेको थिएँ। तर मेरो प्रवृत्ति र काम गर्ने तरिका भरत‍ सरसँग धेरै मिल्थ्यो,’ भर्खरै वरिष्ठ अधिवक्ता बनेका शिवप्रसाद रिजालले भने, ‘२०५८/६० देखि हामी पूर्णरूपमा कर्पोरेट मुद्दा मात्र हेर्न थाल्यौं। भरत सरको स्कुलिङले गर्दा अहिले पायोनियर कर्पोरेट लमा सम्झिने नाम बनेको छ।‘

रिजालको अनुभवमा- त्यो बेला अर्थतन्त्र सानो थियो। बजार पनि सानो थियो। तर भरतराज उप्रेतीलाई भने आगामी दिन कर्पोरेट लको राम्रो स्कोप छ भन्ने लाग्थ्यो।

अनुपराज उप्रेती

विजयनाथ भट्टराईको त्यो मुद्दा

‘कर्पोरेटमा विशेषज्ञता चाहिन्छ भन्ने त्यो बेला नै थियो। अन्य ल फर्मभन्दा फरक हुनुपर्छ भन्ने त थियो, सँगसँगै यो क्षेत्र राम्रो चल्छ यसमा मान्छे आवश्यक पर्नेवाला छ भनेर त्यही बेला हामीलाई थियो, ‘ उनले भने।

कर्पोरेट मुद्दामा फोकस पायोनियरले भ्रष्टाचारको मुद्दा हेर्दैन। नेपाल राष्ट्र बैंकका गभर्नरका रूपमा जब विजयनाथ भट्टराईमाथि अन्याय भयो, त्यो सुनेर भरतराज उप्रेतीलाई यस्तो त हेरेर बस्नु हुँदैन भन्ने लागेको थियो।

एसियाली विकास बैंकले राष्ट्र बैंकको सूचनाप्रविधिका लागि लगानी गरेको थियो। त्यो पैसामा गभर्नरका रुपमा भट्टराई र कार्यकारी निर्देशकका रुपमा सुरेन्द्रमान प्रधानलाई भ्रष्टाचारको मुद्दा लाग्यो। दुवै थुनिए पनि।

एउटा समूहले नेपालमा अन्य दुई बैंक खोल्ने लाइसेन्स मागेको थियो। त्यो दिन नमानेका कारण भट्टराईलाई अख्तियार लगाएर अन्यायपूर्ण ढंगले भ्रष्टाचारको मुद्दामा थुनाइएको थियो। यही कारण उप्रेतीले यो मुद्दा हेरेका थिए। यसमा बहस रिजालले समेत गरेका थिए। पछि भट्टराई र प्रधान दुवैले सफाइ पाए।

भट्टराईलाई फसाउने समूहको तागतको भरमा नेपालमा १४/१५ वटा रहेको बैंकको संख्या ३२ वटासम्म पुग्यो। अहिले त्यसले चुनौती दिन थालेपछि धमाधम मर्जर गर्न थालिएको छ।

भट्टराईको मुद्दापछि ल फर्मले भ्रष्टाचारको मुद्दा नै हेर्न छाडेको छ।

ल फर्मले एनसेल आजियटाको करको मुद्दा पनि हेरेको थियो।

अर्को चर्चित मुद्दा- धमिजा काण्ड पनि ल फर्मले हेरेको थियो। एक डलरमा खुलेको कम्पनीले नेपाल एयरलाइन्सलाई कसरी बोइङ बेच्यो भन्ने मुद्दा थियो। यसमा प्रधानमन्त्रीका रुपमा गिरिजाप्रसाद कोइरालासम्म मुछिएका थिए। लण्डन अदालतमा गएर समेत बहस गर्नु परेको थियो।

शिवप्रसाद रिजाल

कानुन निर्माणमा अग्रसरता

पायोनियर ल फर्म संलग्न नभएको कर्पोरेट कानुन निक्कै कम छन्। कम्पनी ऐन २०२१ काम नलाग्ने भइसकेको थियो। त्यसलाई प्रतिस्थापन गरेर २०५३ ल्याउने बेलामा पनि उप्रेतीलगायतले निक्कै मेहेनत गरेर कानुनको मस्यौदा गरेका थिए।

उनीहरुले लेखेको मस्यौदा रातारात परिवर्तनसमेत भएको थियो। सरकारी कर्मचारीहरुले रातारात मस्यौदा तलमाथि गरेपछि त्यसले आशा गरेअनुसार नतिजा दिन सकेन। नभन्दै २०६३ मा फेरि अर्को ऐन ल्याउनु पर्यो। त्यो ऐन पनि पायोनियर प्रत्यक्ष संलग्न भएर लेखिएको थियो। भरतराज उप्रेती र उनको टिमले नै त्यो बेला आर्थिक मुद्दा हेर्न वाणिज्य इजलासको परिकल्पना गरेको थियो। दामासाही ऐन पनि पायोनियरको अग्रसरतामै लेखिएको थियो।

‘निजी क्षेत्रलाई अगाडि नबढाइ केही हुँदैन भन्ने हो,’ रिजालले भने, ‘त्यही भएर नयाँ रिफर्मको कुरामा भरतसर अग्रसर भइहाल्नु हुन्थ्यो। त्यो लिगेसी अहिलेसम्म पनि कायम छ।’ रिजाल पायोनियरका पार्टनर पनि हुन्।

भरतराज उप्रेतीले नयाँ पुस्तालाई अगाडि बढाउन पनि पहल गर्थे। आर्टिकल लेख्नेदेखि अन्य प्राज्ञिक काममा पनि उनले नयाँ पुस्तालाई जिम्मेवारी दिन्थे।

‘लिगल रिफर्म, कर्पोरेट ल रिफर्मको कुरा छ भने भरतसरले कहिले पनि पैसा हेर्नु भएन। जति आए पनि सुधारको कुरामा उहाँ काम गरिहाल्नु हुन्थ्यो,’ भरतको लिगेसी धानिरहेका उनका छोरा अनुपराजले भने, ‘अहिले पनि हामी यही मोडेलमा हिँडिरहेका छौं। यही फिलोसफीमा छौं।‘

भरतराज उप्रेती आफैं वकालत गर्ने, २० वर्षभन्दा बढी त उनले पढाउने कामसमेत गरे। सर्वोच्च अदालतको न्यायाधीश पनि भए। कानुनका किताबहरुको लेखक भए। ‘धेरै कुराको मिश्रण उहाँमा थियो। त्यसैले त्यो लिगेसीलाई क्याचअप गर्न हामीलाई निक्कै चुनौती छ,’ उनले भने, ‘सकभर उहाँको फिलोसफीलाई पछ्याउन भने छाडेका छैनौं।‘

पायोनियर आबद्ध भएर कम्पनी ऐन, दामासाही ऐन, कम्पनी ऐनको संशोधन भएको छ। यसबहेक अहिले पनि धेरै वटा कानुनको मस्यौदा गर्ने काममा ल फर्मको संलग्नता छ। विशेष आर्थिक क्षेत्रदेखि क्रेडिट रेटिङ, इ-कमर्स कानुनको मस्याैदामा पायोनियर संलग्न छ।

‘अधिकांश कानुन निर्माणमा पायोनियरको सहभागीता विदेशी दाताको प्राविधिक सहयोग अन्तरगत भएको छ । आगामी दिनमा नेपाल सरकारले नै कानुन निर्माणको क्रममा आफुहरुलाई सँलग्न गराउने कुरामा आफुहरु आशावादी छौं।’ अनुपले भने

स्वतन्त्र विचार दिनेमा पायोनियरलाई धेरैले प्राथमिकतामा राख्छन्। धेरैतिरको विचार आउने र कुनै पनि निचोडमा नपुग्ने अवस्था आयो भने पनि मान्छेहरु पायोनियर पुग्छन्।

‘हामीकहाँ तटस्थ र मार्ग निर्देश दिने खालको राय आउँछ भनेर आउने हुन्छन्,’ अनुपले भने, ‘अलिक जटिल खालको, अलिक ठूलाे काराेबार, रातारात गर्नु पर्ने कामहरु पनि हाम्रोमा आउँछ।‘

लजुला महर्जन

काम गर्न गाह्रो

भरतराज उप्रेतीले आफ्नो मूल्यमान्यतालाई कहिले त्यागेनन्। कहिले गलत तरिकाले मुद्दा मामिला लडेनन्। निजी क्षेत्रलाई अगाडि बढाउनका लागि बाटामा आइपर्ने व्यवधानलाई सजिलै पार लगाए। तर कहिलेकाहीँ प्रणालीसँग काम गर्न भने कठिन भइहाल्छ।

हेटौंडामा विदेशी लगानीको एउटा कम्पनी खुल्ने भयो। त्यो कम्पनीको कानुनी पक्ष सबै पायोनियरले हेर्ने जिम्मा लिएको थियो। दर्तादेखि स्थापनासम्म पायोनियर जोडिएको थियो।

कम्पनी दर्ता गर्न जाँदा कम्पनी रजिष्ट्रारको कार्यालयका एक कर्मचारीले पैसा मागे। कानुन अनुसार हुने काममा पैसा मागेपछि भरतले सोझै कम्पनी रजिष्ट्रारलाई फोन गरेर पैसा मागिएको कुरा सुनाइदिए। त्यसपछि त्यहाँका महानिर्देशकले सबै काम आफैंले हेरे र फटाफट काम गरिदिए।

उनको अनुभवमा अहिले समय फेरिएकाे छ। त्यस्ता मुल्य मान्यतामा ह्रास आएकाे छ। यस्ता विषयमा हिजको जस्ताे संवेदनशीलता आज पाईदैन।

‘समय फेरिएको छ। त्यसलाई पछ्याएर जान निक्कै कठिन छ। हामी हाम्रा मुल्य मान्यतामा संझौता गर्दैनौ । त्यसैले अहिले पायोनियरले सरकारी अड्डामा काम गर्न निकै चुनाैतीपुर्ण बन्दै गएकाे छ। तैपनि यसमा सुधार हुने आशमा छाैं’  अनुपले तितो अनुभव सुनाए।

तिलकविक्रम पाण्डे

‘कर्पोरेट ल’ बुझाउन गाह्रो

कर्पोरेट कानुन जटिल कानुनभित्र पर्छ। यसको अभ्यासै पनि अन्यभन्दा कम छ। एकदमै निरस, प्राविधिक विषय भएकाले हत्तपत्त कसैले चाख पनि दिँदैनन्।

एकपटक पायोनियरका तर्फबाट भरतराजले मुद्दामा बहस गरिरहेका थिए। अढाइ घण्टा बहस चल्यो। सरकारी वकिलले आफ्नो धारणा राखे। प्रत्युत्तरमा फेरि बहस भयो।

मुद्दाका लागि बिभिन्न पुस्तक, जर्नलहरुको रिफ्रेन्स लिइयो। साइटेसनहरु भए।

निक्कै ध्यान दिएर सुनिरहेका न्यायाधीशले अन्त्यमा प्रश्न सोधे- तपाइँले रिफरेन्स दिएको त्यो किताब कहाँ किन्न पाइन्छ?

भरतराज उप्रेती जुरुक्क उठे। आफ्नो नरम शैलीमा भने- श्रीमान् यहाँ (रामशाहपथ) बाट सिंहदरबारतिरको बाटो गयो भने अलिक लामो पर्छ। घुम्नु पनि पर्छ। त्यता नगएर घट्टेकुलो चोकतिर गएर अगाडि पुगेपछि त्यहाँ पायोनियरको अफिस आउँछ, त्यहीँको पुस्तकालयमा पाउँछ।

‘कुरो बुझ्न नखोज्ने प्रवृत्ति पनि हुन्छ कत्तिको,’ रिजालले भरतसँगको अनुभव सुनाउँदै भने, ‘अढाइ घण्टाको बहस खेर गयो। किताबमा के लेखिएको छ, के भन्न खोजिएको छ भन्नेतिर नगएर किताब कहाँ पाइन्छ भनेर सोधेपछि के हुन्छ?‘

अर्को अनुभव त्यस्तै छ। एउटा मुद्दाको सुनुवाइ सुरुवातदेखि एक जना न्यायाधिस लेखेका लेख्यै थिए (उनी अवकाश भइसकेका छन्)। उनले लेखेको देखेर अदालतमा उपस्थीत धेरैलाई कति धेरै टिपेको होला भन्ने पनि लाग्यो। यस्तो मेहेनती न्यायाधीश भए पो मुद्दा लड्न सजिलो हुन्छ भन्ने पनि भयो।

मुद्दाको बहस सकियो। एकछिन ब्रेक भयो। श्रीमानले धेरै नै लेख्नु भयो भनेर रिजाललाई जान्न मन भयो। उनले न्यायाधीशका एक जना सहायकलाई सोधे।

सबैभन्दा माथि १ लाखपटक ‘हरे राम हरे राम लेख्नु छ’ भनेर लेखिएको थियो। त्यसपछिका सबै लाइनमा ती न्यायाधिसले ‘हरे राम हरे राम’ लेखेका थिए।

‘ध्यान नदिने प्रवृत्ति यस्ता अनुभवले देखाउँछ,’ रिजालले भने।

प्रतीक्षा दाहाल

स्रोतको अभाव

न्याय प्रणालीमा सुधार गर्ने कुरा निक्कै चुनौतीपूर्ण रहेको अनुपको अनुभव छ। उनका लागि ‘जजमेन्ट’ का लागि आवश्यक स्रोत चाहिन्छ। त्यो अदालतमा छैन। त्यसैले कतिपय अवस्थामा स्रोत नपुगेर पनि उचित व्याख्या हुँदैन।

‘पायोनियरमा काम गर्ने करिब ३० जना साथीहरु छन्। सबैले मलाई कुनै पनि काममा सहयोग गर्छन्। तर न्यायालयमा त्यो हुँदैन। रिसर्चर गर्ने साधन स्रोत हुँदैन,’ अनुपले सुनाए, ‘सामूहिकतामा काम गर्न सक्यो भने राम्रो नतिजा दिन सकिन्छ।‘

अर्कोतर्फ राजनीतिक रुपमा मान्छेहरु न्यायाधीश कोटामा नियुक्त भएका हुन्छन्। फरक पृष्ठभूमिबाट जानेहरुलाई कर्पोरेट बुझाउन गाह्रो हुन्छ। यसबाहेक न्यायाधीश भएपछि समाजसँग अलिकति टाढा पनि हुन्छ। यस्तो हुँदा पक्ष-विपक्षको कुरा सुन्दा दुवैको राम्रो लाग्छ। सही लाग्छ। तर न्याय दिनुपर्ने कुरो फरक हो। ‘त्यसका लागि स्रोतसाधन आवश्यक पर्छ,’ अनुपले भने।

पुस्तान्तरण हुँदै

४० वर्षको इतिहासमा पायोनियरमा पनि पुस्तान्तरण भइरहेको छ। भरतराज उप्रेतीहरुपछि अहिले अनुप, तिलकविक्रम पाण्डे, रिजाल पार्टनरका रूपमा छन्। अनुप र तिलक २० वर्षदेखि पायोनियरमा छन्। रत्न खरेल पनि उतिनै समय देखि फर्ममा आवद्ध छन्।

यसबाहेक लजुला महर्जन र प्रतीक्षा दाहाल सिनियर एसोसिएट्स भएर काम गरिरहेका छन्। अहिले करिब ४० जनाको टिमले पायोनियर हाँकिरहेको छ। सम्भवतः देशकै ठूलो ल फर्मभित्र पायोनियर पर्छ।

नयाँ पुस्तालाई कर्पोरेट ल मा टिकाउन निक्कै गाह्रो भएको अनुभव अनुप सुनाउँछन्। पायोनियरले ज्ञान अभिवृद्धिमा सहयोग गरिहरेको हुन्छ। कलेजका विद्यार्थीहरुलाई छात्रवृत्ति पनि उपलब्ध गराउँदै आएको छ। कतिपयलाई इन्टर्नसिपको अवसर पनि दिइरहेको छ।

तर धेरैलाई टिकाउन भने गाह्रो छ। कानुन क्षेत्रमा ल प्राक्टिसबाहेक पनि धेरै ठाउँमा अवसर हुन्छ। कतिपय पढ्नका लागि विदेश जान्छन् र उतै रहन्छन्। उनले भने, ‘कर्पोरेट ल को अभ्यास आफ्नै खालको छ । परम्परागत कानुनकाे भन्दा यसकाे अभ्यास फरक किसिमको छ । अफिसमा बसेर अधिकाश काम हुन्छ। यसका लागि निक्कै धैर्य र लगन पनि चाहिन्छ। पपुलर पनि तत्काल भइँदैन। त्यसो हुँदा नयाँ मान्छे आउन खोज्दैन।तर कर्पाेरेट दुनियाँमा यसको आफ्नै स्थान छ । यसमा पनि विविध चुनाैतपूर्ण र जटिल विषयहरु पर्दछन् । राष्ट्रको आर्थिक विकासमा महत्वपुर्ण योगदान पुर्याउने अवसर हुन्छन । जटिलता र चुनाैतीका विचमा धैर्यता र लगनकासाथ लाग्नेहरुका लागि भने याे क्षेत्र आकर्षक छ । ‘

उनले कर्पोरेट लमा मान्छे टिकाउन देशले पनि विकास गर्नु पर्ने बताउँछन्। ८ प्रतिशतको आर्थिक वृद्धि हुने, आर्थिक क्रियाकलाप मौलाउने, बजार बिस्तार हुने हो भने अवसर धेरै हुन्छ र मान्छेहरु यहाँ रोकिन्छन्।

प्रतीक्षा दाहाल पायोनियरकी सिनियर एसोसिएट्स हुन्। उनले काठमाण्डू स्कुल अफ लमा स्नातक अध्ययन गर्दै गर्दा २०१५ मा पायोनियरमा इन्टर्न गर्ने मौका पाइन्।

‘कर्पोरेट लको अभ्यास कस्तो हुन्छ भनेर इन्टर्न्शिप गर्नु आघी धेरै थाहा न भएको’ उनले सुनाइन्।

उनी सन् २०१८ मा स्नातकोत्तर गर्न बेलायत पुगिन्। त्यहाँ उनले ल फर्म र कर्पोरेट इन-हाउस मा काम पनि गरिन्। ‘त्यहाँ काम गर्ने र पायोनियरमा काम गर्ने शैली र कल्चर धेरै फरक लागेन मलाई र हाम्रो काम गर्ने तरिका अन्तर्राष्ट्रिय स्तरको भन्दा धेरै फरक न भएकै कारणले पायोनियरमामा सिकेका सीपहरू बेलायतमा काम गर्दा बखत पनि सजिलै हस्तान्तरण गर्न सके,’ उनले भनिन्, । ‘पहिले नै विकसित भैसकेको प्रणालीमा काम गर्नुको सट्टा आफ्नो देशमा भइरहेको आर्थिक विकासमा आफ्नो कामले केहि प्रभाव पार्न सक्ने अपेक्षाले म यहाँ फर्किएँ।‘

‘काम बाहेक हामी रमाइलो पनि गर्छौं। हामी वर्षमा धेरै पटक टिम बिल्डिङका विभिन्न कार्यक्रमहरु अफिस भित्र र बाहिर पनि गर्दै आएका छाैं’ उनले सुनाइन्।

लजुला महर्जन पनि पायोनियरकी सिनियर एसोसिएट्स हुन्। उनले नेपालका अन्य ल फर्महरुमा पनि काम गरेकी छन्। तर पायोनियरको लिगेसी देखेर छक्क छिन्।

‘ठूलाले मात्र ठूला विषय हेर्ने भन्ने हुन्छ नेपालमा धेरैतिर। तर पायोनियरमा ठूला विषय सिनियरले मात्र हेर्नु पर्छ भन्ने छैन। हामीले मजाले हेर्न सक्छौं,’ उनले अनुभव सुनाइन्, ‘यदि तपाइँले गर्न सक्नु हुन्छ भने सिनियर जुनियर भन्ने हुँदैन। गर्न सक्नेले गरे हुन्छ।‘

पायोनियरले शैक्षिक संस्थाहरुसँग पनि मिलेर काम गरिरहेको छ। भरतराज उप्रेती (बीआरयु) फाउन्डेसनबाट छात्रवृत्तिमा विद्यार्थी पढिरहेका छन्।

‘सेवाग्राहीलाई दिने सेवा त छँदैछ त्यसबाहेक शैक्षिक संस्थासँग पनि मिलेर काम गर्दै छौं। कर्पोरेट ललाई प्रमोट गर्नुपर्छ भनेर हाम्रो क्षमताले भ्याएसम्म काम गर्ने प्रयास गरेका छौं,’ तिलकले भने।