वीरगंजमा २४ करोडको भन्सार छलीको सामान बरामद, मोटरसाइकल चोरीको घटना बढ्यो

बिजमाण्डू
२०७९ साउन १५ गते ०९:४४ | Jul 31, 2022

वीरगंज। पर्सा प्रहरीले गत आव २०७८/७९ मा २३ करोड ९६ लाख ७० हजार रुपैयाँ बराबरको भन्सार छलीका सामान बरामद गरेको छ।

Tata
GBIME
Nepal Life

जिल्ला प्रहरी कार्यालय पर्साले बरामद सामान आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय, पथलैया र वीरगंज भन्सार कार्यालयमा बुझाएको जनाएको छ।

पर्सा प्रहरीको तथ्यांक अनुसार किराना सामाग्री ३ करोड ५३ लाख २ हजार, विद्युतीय सामग्री ७ लाख ७३ हजार, सवारीसाधन र पार्टपुर्जा १० करोड २६ लाख ३० हजार, लत्ताकपडा, फेन्सी सामान ९ करोड २८ लाख ७९ हजार गरी कुल २३ करोड ८५ लाख ३५ हजार बराबरको सामान नियन्त्रणमा लिएर राजस्व र वीरगंज भन्सार कार्यालयमा बुझाएको पर्सा प्रहरीका प्रवक्ता डीएसपी प्रहलाद कार्कीले जानकारी दिए।

त्यसैगरी गत आवमा ५४ ग्राम ७९४ मिलिग्राम सुन, १४ किलो ४२१ ग्राम २७० मिलिग्राम चाँदी गरी कुल ६ लाख ३७ हजार मूल्य बराबरको सामान राजस्व अनुसन्धान कार्यालय, पथलैयामा बुझाइएको छ।

उनका अनुसार गत आवमा यससम्बन्धी घटनामा ५६ जना मानिस र ६१ वटा सवारीसाधन नियन्त्रणमा लिइएको छ। यसैगरी, पर्सा प्रहरीले महिलाविरूद्धको अपराध कसूरमा १०४ वटा मुद्दा दर्ता गरेको र ११ जना महिलासहित ४७ जनालाई कारबाहीको दायरामा राखेको जनाएको छ।

गत आवमा कर्तव्य ज्यानका ११ वटा मुद्दा दर्ता भएको र त्यसमा आठ महिला र १८ जना पुरूष पक्राउ परेको प्रवक्ता कार्कीले बताए।
लागूऔषधमा २ सय ३७ वटा मुद्दा चलेको र नौजना महिलासहित ३ सय ९ जना पुरूषमाथि मुद्दा चलाइएको उनले बताए।

चोरी सम्बन्धमा १ सय ४६ वटा मुद्दा दर्ता भएको र ती घटनामा दुईजना महिलासहित १ सय ९७ जनालाई पक्राउ गरिएको उनले बताए। गत आवमा पर्सा जिल्लामा मोटरसाइकल चोरीका २ सय ७२ वटा घटना दर्ता भएको उनले जानकारी दिए।