ब्याजदर बढाउँदैमा वाणिज्य बैंकहरुको निक्षेप नबढ्ने संकेत, बरु बैंकहरूको लागत मात्र बढ्दै जाने

बिजमाण्डू
२०७८ फागुन ३० गते १२:०५ | Mar 14, 2022
ब्याजदर बढाउँदैमा वाणिज्य बैंकहरुको निक्षेप नबढ्ने संकेत, बरु बैंकहरूको लागत मात्र बढ्दै जाने

काठमाडौं। नयाँ ब्याजदर सार्वजनिक गरे पनि वाणिज्य बैंकहरुको नाफा नबढ्ने बरु खर्च बढ्ने देखिएको छ। सोमबार अधिकांश वाणिज्य बैंकहरूले ब्याजदर सार्वजनिक गरेका थिए। चैत १ गतेदेखि लागू हुने गरी बैंकहरूले सार्वजनिक गरेको ब्याजदर अघिल्लो महिनाको तुलनामा भने बढेको छैन। 

Tata
GBIME
Nepal Life

फागुन महिनाका लागि वाणिज्य बैंकहरूले तोकेको निक्षेपको ११.०३ प्रतिशत ब्याज नै चैत महिनाका लागि प्रभावी हुनेछ। पुस र माघ महिनामा बैंकहरूले नबढाएको ब्याजदर फागुन महिनाको लागि भने बढेर ११.०३ प्रतिशत कायम हुन पुगेको थियो। 

यद्यपि ब्याज वृद्धिले पनि बैंकहरूले निक्षेप भने आकर्षित गर्न सकेका थिएनन्। अर्कोतिर बैंकहरूले ऋण बिस्तार नरोक्दा कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ९१ प्रतिशत हाराहारी पुगेको छ।   

ब्याज वृद्धिको चौतर्फी विरोधपछि बैंकर्स संघले चैतका लागि ब्याज दर स्थिर राख्ने निर्णय गरेको हो। सोही अनुरूप वाणिज्य बैंकहरूले चैत महिनाका लागि फागुनमा कायम निक्षेपतर्फको ११.०३ प्रतिशत ब्याजदरलाई नै निरन्तरता दिने भएका छन्। 

चैतमा साधारण मुद्दतीको अधिकतम ब्याज ११.०३ प्रतिशत हुनेछ। संस्थागत मुद्दती निक्षेपकर्ताले १०.०३ प्रतिशत पाउने छन् भने रेमिटेन्स पठाउनेले १२.०३ प्रतिशत ब्याज पाउने छन्। ग्राहकहरूले घटीमा तीन महिना र एक वर्षभन्दा अधिक अवधिका लागि राखिएको मुद्दती निक्षेपमा सो ब्याजदर प्राप्त गर्नेछन्। बचत खाताको न्यूनतम ब्याजदर भने ६.०३ प्रतिशत छ। 

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको निर्णयलाई समर्थन गर्दै विकास बैंक र फाइनान्स कम्पनीहरूले पनि चैतमा ब्याजदर स्थिर राखेका छन्। 

निक्षेपमा सुधारका संकेत नदेखिँदा विकास बैंकहरू आफैंले पनि ब्याजदर बढाउन नखोजेको मनसाय बनाएको देखिन्छ। ब्याजदर बढ्दा बैंक तथा वित्तीय संस्थाको लागत खर्चमा भने वृद्धि भएको हो।   

ब्याजदर बढाउँदैमा निक्षेप नबढ्ने बरु बैंकहरूको लागत मात्र बढ्दै जाने डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष प्रद्युमन पोखरेलले बताए। ‘ब्याजदर बढाउँदा निक्षेपमा अपेक्षा अनुरूपको वृद्धि देखिएन। बरु बैंक वित्त संस्थाहरूको लागत भने बढ्न गयो,' उनले बिजमाण्डूसँग भने, 'यसकारण हामीले पनि ब्याजदर यथावत् राख्ने निर्णय गरेका हौं।‘ 

राष्ट्रिय स्तरका विकास बैंकहरूले चैतमा पनि व्यक्तिगत मुद्दतीमा अधिकतम ११.५५ प्रतिशत र संस्थागतमा अधिकतम १०.५५ प्रतिशत ब्याजदर निर्धारण गरेका छन्। रेमिटेन्स पठाउनेले १२.५५ प्रतिशत ब्याज पाउने छन्। ग्राहकहरूले घटीमा तीन महिना र एक वर्षभन्दा अधिक अवधिका लागि राखिएको मुद्दती निक्षेपमा सो ब्याजदर प्राप्त गर्नेछन्। 

क्षेत्रीय स्तरका विकास बैंकहरूले व्यक्तिगत मुद्दतीमा अधिकतम ११.६५ प्रतिशत र संस्थागतमा अधिकतम १०.६५ प्रतिशत ब्याजदर कायम गरेका छन्। क्षेत्रीय स्तरका विकास बैंकहरूमा रेमिटेन्स पठाउने ग्राहकहरुले भने १२  प्रतिशतसम्म ब्याज पाउनेछन्।  

त्यस्तै फाइनान्सहरूले पनि व्यक्तिगत मुद्दती निक्षेपमा न्यूनतम ११.७१ देखि अधिकतम १२.२५ प्रतिशतसम्म र संस्थागतमा न्यूनतम १०.७१ देखि अधिकतम ११.२५ प्रतिशतसम्म दिएका छन्। निउनतम व्याजदरलाई अघिल्लो महिनाको सरह निरन्तरता दिएका फाइनान्सले अधिकतम व्याजदरको विन्दु भने बढाएका हुन्।