घट्यो अन्तर-आबद्धता शुल्क, एउटा कम्पनीको नम्बरबाट अर्कोमा फोन गर्दा ४४ पैसा सस्तियो

बिजमाण्डू
२०७८ माघ ६ गते ११:३८ | Jan 20, 2022
घट्यो अन्तर-आबद्धता शुल्क, एउटा कम्पनीको नम्बरबाट अर्कोमा फोन गर्दा ४४ पैसा सस्तियो

काठमाडौं। एउटा कम्पनीको मोबाइल नम्बरबाट अर्को सेवा प्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने शुल्क माघदेखि कार्यान्वयनमा आएको छ।

Tata
GBIME
Nepal Life

२०७६ चैतबाट लागू गर्ने भनिएको टेलिकम कम्पनीहरुको अन्तर-आबद्धता शुल्क माघबाट लागू भएको छ। नेपाल दूरसंचार प्राधिकरणले अध्ययन गरेरै त्यसको प्रतिवेदनअनुसार एकैपटक अन्तर-आबद्धता शुल्क ४४ पैसा घटाएको हो। 

यसअघि एउटा टेलिकम कम्पनीको नेटवर्कबाट अर्को कम्पनीको मोबाइल नेटवर्कमा कल गर्दा प्रतिमिनेट लाग्ने शुल्कमा ५४ पैसा अन्तर-आबद्धता शुल्क ग्राहकले तिर्दै आएका थिए। 

यो व्यवस्था लागू भएसँगै हाल सञ्चालनमा रहेका नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकममध्ये एउटा सेवा प्रदायकको नम्बरबाट अर्कोको नम्बरमा कल गर्दा आबद्धता शुल्कवापत कम्पनीहरुले प्रतिमिनेट १० पैसामात्र लिन पाउने छन्। नयाँ निर्देशिकाअनुसार एउटै नेटवर्क भित्रको कलको दर पनि घट्ने भएकाले उपभोक्तालाई फाइदा हुने प्राधिकरणको तर्क छ। 

नयाँ निर्देशिका कार्यान्वयन भएर अन्तर-आबद्धता शुल्क घट्दा टेलिकम कम्पनीहरूले भने आफूहरूको नाफा घट्ने भन्दै पन्छिँदै आएका थिए। तर शुल्क घट्दा कलको दर बढ्ने भएकाले कम्पनीहरूलाई घाटा नहुने प्राधिकरणको जवाफ रहँदै आएको छ। 

हाल नेपाल टेलिकमको नेटवर्कबाट अन्य कम्पनीका प्रिपेड सिममा कल गर्दा प्रतिमिनेट १ रूपैयाँ ५० पैसा लाग्ने गरेको छ। टेलिकमकै पोस्टपेड सिमबाट कल गर्दा प्रतिमिनेट १ रूपैयाँ लाग्छ। माघबाट यो शुल्क घटेर प्रिपेडबाट प्रतिमिनेट १ रूपैयाँ ६ पैसा र पोस्टपेडबाट ६६ पैसा लाग्ने प्राधिकरणले जनाएको छ। 

त्यस्तै, एनसेलबाट अन्य टेलिकम अपरेटरको नम्बरमा कल गर्दा प्रतिमिनेट २ रूपैयाँ ५४ पैसा लाग्दै आएको छ। निर्देशिकाअनुसार एनसेलबाट नेपाल टेलिकम वा स्मार्टसेलमा कल गर्दा प्रतिमिनेट दुई रूपैयाँ १० पैसा मात्र लाग्ने छ।

यस्तै हाल स्मार्टबाट अन्य टेलिकम कम्पनीमा कल गर्दा प्रतिमिनेट १ रूपैयाँ ९२ पैसा लाग्दै आएको छ। अब स्मार्ट टेलिकमबाट अन्य टेलिकम कम्पनीहरुमा कल गर्दा प्रतिमिनेट १ रूपैयाँ ४८ पैसा लाग्ने प्राधिकरणले जनाएको छ।