खुकुरीको नयाँ प्रिमियम ‘खुकुरी स्पाइस्ड रम’ बजारमा, यो वर्ष ६ देखि ७ हजार केस उत्पादन हुने

बिजमाण्डू
२०७८ माघ ३ गते ११:५८ | Jan 17, 2022
खुकुरीको नयाँ प्रिमियम  ‘खुकुरी स्पाइस्ड रम’ बजारमा, यो वर्ष ६ देखि ७ हजार केस उत्पादन हुने


काठमाडौं। नेपालको प्रिमियम रम ब्राण्ड खुकुरीले नयाँ प्रोडक्ट ‘खुकुरी स्पाइस्ड रम’ बजारमा सार्वजनिक गरेको छ। विगत ६० वर्षदेखि खुकुरीले ‘खुकुरी ट्रिपल एक्स रम’ नेपालका साथै अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्दै आएको छ। 

Tata
GBIME
Nepal Life

विभिन्न मसलाजन्य पदार्थको मिश्रण गरी कम्पनीले स्पाइस्ड रम बजारमा ल्याएको जनाएको छ। यसअघिका वर्षहरुमा जापान र कोरियामा खुकुरी स्पाइस्ड रम निर्यात हुँदै आएको थियो। जापान र कोरियामा निकै रुचाइएको गुणस्तरीय उत्पादन नै अहिले नेपाली बजारमा ल्याइएको कम्पनीले जनाएको छ।

नयाँ स्वादको रम बजारमा उतार्नुअघि कम्पनीले बुटवल र भैरहवालगायत अन्य क्षेत्रमा परीक्षण गरेको थियो। विशेषगरी ‘खुकुरी स्पाइस्ड रम’ निट वा कोलासँग पिउँदा ग्राहकहरुले औधी मन पराएको दाबी कम्पनीको छ। 

प्रिमियम खुकुरी रमको तुलनामा थप उत्कृष्ट पदार्थ प्रयोग हुनुका साथै उत्पादनको प्रक्रिया समेत लामो र फरक हुने भएकोले यसको बजार मूल्य खुकुरी ट्रिपल एक्स रमको  केही बढी हुने उत्पादक कम्पनी द नेपाल डिस्टीलरिजका महाप्रबन्धक सुभास लामिछानेले जानकारी दिए। 
‘यो प्रिमियम क्याटेगोरीको विशेष उत्पादन हो। त्यसैले स्वाद र गुणस्तरमा अझ विशेष छ,’ लामिछानेले भने। 

चालु आवमा ६ देखि ७ हजार केससम्म मात्र ‘स्पाइस्ड रम’ बजारमा पठाउन सकिने लामिछानेले बताए। स्पाइस्ड रमको उत्पादन क्षमता आगामी वर्षदेखि बढाउने तयारी भइरहेको उनले जानकारी दिए। 

‘आफ्ना ग्राहकहरुको अपेक्षाअनुसार यो नयाँ प्रोडक्ट ल्याउन सफल हुँदा हामीलाई खुशी लागेको छ,’ लामिछानेले भने, ‘आगामी दिनमा पनि ग्राहकहरुका लागि सदैव उच्च गुणस्तरको रम उत्पादन गर्न हामी प्रतिबद्ध छौं।’