काठमाडौं। सरकारले डन्डी उद्योगमा मूल्य अभिवृद्धि बढाउन स्पन्ज आइरनमा लाग्दै आएको भन्सार पूर्ण रूपमा हटाउँदै आयातित बिलेटमा लाग्ने अन्त:शुल्क प्रति टन १६ सय ५० रुपैयाँबाट २५ सय रुपैयाँ पुर्याएको छ।
भदौ २५ गते प्रतिस्थापन विधेयकमार्फत डन्डीमा गरेको भन्सार हेरफेरपछि उद्योगी विभाजित भएका छन्।
नेपालमै बिलेट उत्पादन गर्ने उद्योगले सरकारी निर्णयको स्वागत गरे भने बिलेट आयात गर्ने उद्योगले विरोध गरिरहेका छन्।
प्रतिस्थापन विधेयकमार्फत भएको भन्सार हेरफेरविरुद्ध नेपाल रोलिङ मिल एशोसिएसनले भदौ २८ गते र्याडिसन होटलमा पत्रकार सम्मेलन गरेर सरकारले तत्काल निर्णय फिर्ता नलिए २४ वटा डन्डी उद्योग बन्द हुने चेतावनी दिइसकेका छन्।
पञ्चकन्या, हामा, हिमाल, साख:, सिद्धिलक्ष्मी, प्रिमियर लगायत कम्पनीका संचालक उपस्थित भएर एशोसिएसनको ब्यानरमा भएको पत्रकार सम्मेलनमा सरकारलाई मात्रै होइन बिलेट उत्पादकको समेत आलोचना गरेका थिए।
पत्रकार सम्मेलनमा बोल्ने अधिकांशले 'पत्रु पगालेर बनाइएको बिलेट कम गुणस्तरको हुने' समेत जिकिर गरेका थिए। त्यसमा पनि साख: स्टीलका संचालक किरणप्रकाश साख:ले नेपालमै बिलेट उत्पादन गर्ने उद्योगको जमेर विरोध जनाए। उनले पत्रु पगालेर बनाउने बिलेटको गुणस्तर नहुने र आफूहरुले प्रिमियम बिलेट ल्याएर डन्डी बनाउने गरेको जिकिर गरे।
पत्रकार सम्मेलनमा बिलेट उत्पादकप्रति सबैभन्दा आक्रामक सा:ख नै थिए। पत्रु पगालेर बन्ने कम गुणस्तरको हुने आरोप लगाउने उनकै उद्योग साख: स्टीलले जगदम्बा स्टीलबाट बिलेट किनेको पाइएको छ।
साख: स्टीलको लेखा शाखाबाट बिजमाण्डूलाई प्राप्त बिल अनुसार २०७८ साउन ३ गते जगदम्बा स्टीलबाट १८ लाख ४२ हजार ९ सय ५० रुपैयाँ बराबरको बिलेट किनेको देखिन्छ।
साख: स्टील इन्ड्रस्ट्रिज सिमराको भ्याट नम्बर ३०००२१३२३ बाट एमएस बिलेट खरिद गरिएको छ। साख:ले २५ टन बिलेट किनेको बिलमा देखिन्छ।
जगदम्बा स्टीलसँग कबाडी पगालेर बिलेट बनाउने उद्योग छ। कबाडी पगालेर बिलेट बनाउँदा गुणस्तर कमजोर हुने दाबीप्रति बिलेट उत्पादकले च्यालेन्ज समेत गरेका थिए। सर्वोत्तम स्टीलका चेयरम्यान विष्णु न्यौपानेले समेत आफूले उत्पादन गरेको बिलेट राम्रा भनिएका डन्डी उत्पादकले किनिरहेको जिकिर गरेका थिए।
'मैले अहिले बनाएको बिलेट केही फ्याक्ट्रीलाई बेचिरहेको छु, नाम अहिले नलिउँ, तिनीहरुले त्यही बिलेटबाट ५००डी, एफई ५००डी डन्डी बनाइरहेका छन्। त्यसको गुणस्तर नेपाल स्ट्यान्डर्ड अनुसार पुगिरहेको छ,' उनले एक महिना अघि बिजमाण्डूसँगको कुराकानीमा भनेका थिए।
रोलिङ मिलले आयात गरेर ल्याएको स्टील बिलेट र आफ्नो उद्योगले बनाएको बिलेटको गुणस्तर जाँच गर्न चुनौती दिँदै न्यौपानेले भनेका थिए- 'उहाँहरुसँग भएको भन्दा मेरो बिलेट राम्रो रैनछ भने पनि म भोलि नै फ्याक्ट्री बन्द गरिदिन्छु। हामी त कच्चा पदार्थबाट नै बिलेट बनाउँदै छौं भने चाहेजस्तो गुणस्तरको बनाउन त्यसमा कुन रसायन कति हाल्नुपर्ने वा कमबेसी गर्नुपर्ने हो, कति शुद्धीकरण गर्ने हो त्यो सबै उत्पादन प्रक्रियामा आफ्नो नियन्त्रण हुन्छ। यसकारण म दाबाका साथ भन्छु, उहाँहरुले ल्याइरहेको भन्दा धेरै धेरै राम्रो बिलेट यहाँ बन्छ।'