खानेपानी विभागको महानिर्देशकमा खत्री नियुक्त, उनकै नेतृत्वमा पूरा भएको थियो मेलम्ची खानेपानी

बिजमाण्डू
२०७८ बैशाख २५ गते १०:४४ | May 8, 2021
खानेपानी विभागको महानिर्देशकमा खत्री नियुक्त, उनकै नेतृत्वमा पूरा भएको थियो मेलम्ची खानेपानी

 

Tata
GBIME
Nepal Life

काठमाडौं। खानेपानी तथा ढल व्यवस्थापन विभागको महानिर्देशकमा तिरेश प्रसाद खत्री नियुक्त भएका छन्। 

खानेपानी तथा सरसफाई मन्त्रालयले बिहिबार मन्त्रीस्तरीय निर्णय गरि खत्रीलाइ विभागको महानिर्देशक नियुक्त गरेको हो।

खत्री २०४७ सालमा इन्जिनियरका रुपमा सरकारी सेवामा प्रवेश गरेका थिए। उनले करिव १० बर्ष दार्चुला, अछाम, धनगढी लगायत सुदुरपश्चिममा बसेर खानेपानीका आयोजनाहरुमा काम गरेका थिए।

२०७२ सालमा सहसचिव भएपछि साना  शहरी खानेपानी आयोजनाको निमित्त प्रमुखका रुपमा काम गरेका खत्रीले त्यसपछि आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) को प्रमुखका रुपमा समेत काम गरिसकेका छन्।

पिआइडीले सुन्दरीजलको ट्रिटमेन्ट प्लान्ट देखि उपत्यकाभरि मेलम्चीको पानी वितरणका लागि नयाँ पाइपलाइन तयार पार्ने काम गरिरेहको छ।

खत्रीले पहिलो फेजको पानी वितरणका लागि पाइपलाइन तयार पारेका थिए।  त्यसपछि उनी मेलम्ची खानेपानी आयोजनाको प्रमुखको रुपमा समेत जिम्मेवारी सम्हालिसकेका छन्।

मेल्मचीमा करिव २० महिनाको जिम्मेवारी सम्हालेपछि उनलाई खानेपानी विभागको जिम्मेवारी दिइएको हो। उनकै पालामा बहुप्रतिक्षित मेलम्ची पानी राजधानीबासीको धारामा आइपुगेको हो। बर्षौदेखिको अधुरो मेलम्ची आयोजना पुरा गर्न उनको महत्वपुर्ण भुमिका रहेको थियो।

खत्रीले सरकारले आफूलाई  नयाँ जिम्मेवारी दिएर पुरस्कृत गरेको बताए। 'मेलम्ची आयोजनाको पानी ल्याउन सफल भयौं। यो सबैका लागि गौरव हो,' उनले भने,' यो एउटा खानेपानीको आयोजना थियो। विभागले देशैभरि हेर्छ। उक्त जिम्मेवारी पाएको छु।'

खत्रीलाई विभागमा लिएपछि मेलम्ची खानेपानी आयोजनाको प्रमुखमा राम कुमार श्रेष्ठलाई ल्याइएको छ। खानेपानी तथा ढल व्यवस्थापन विभागको निवर्तमान  महानिर्देशक मीना श्रेष्ठलाई मन्त्रालय बोलाइएको छ। उनलाई मन्त्रालयको खानेपानी महाशाखाको जिम्मेवारी दिइएको छ।