हवाई सेवा नियमित भए पनि यात्रु सहभागिता घटेसँगै आन्तरिक उडान संख्या लाग्यो ओरालो

बिजमाण्डू
२०७८ बैशाख १७ गते १४:०१ | Apr 30, 2021
हवाई सेवा नियमित भए पनि यात्रु सहभागिता घटेसँगै आन्तरिक उडान संख्या लाग्यो ओरालो

Tata
GBIME
Nepal Life

काठमाडौं। निषेधाज्ञाको समयमा आन्तरिक उडान नियमित छ। तर गत बुधबारजस्तो धेरै यात्रु छैनन्। यात्रु माग कम आएपछि उडान संख्या क्रमिक रूपमा घट्दै छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार शुक्रबार विभिन्न वायुसेवा कम्पनीले ७७ वटा उडान गर्ने भएका छन्। बिहीबारको तुलनामामा शुक्रबार आन्तरिक उडान संख्या ३२ वटाले घटेको छ।

बिहीबार ५० वटा उडान गरेको निजी क्षेत्रका वायुसेवा कम्पनी बुद्ध एयरले शुक्रबार ३५ वटा मात्र उडान गर्ने भएको छ। दिन प्रतिदिन यात्रुको माग घट्दै गएका कारण उडान संख्या घटाउँदै गएको कम्पनीका बिक्री तथा बजार निर्देशक रुपेश जोशीले  बताए। 'गत वर्ष बसको यात्रुलाई हवाई यातायातमा आकर्षण गर्दै प्रमोसनल फेयर लागू गरेका थियौं। अहिले त बस पनि चलेको छैन। अनि अतिआवश्यक काम नपरी कोही पनि आउजाउ गर्ने अवस्थामा छैनन्,' उनले भने, 'यात्रुको माग अनुसारको सेवा भने निरन्तर दिइरहने छौं।' 

उनका अनुसार यतिखेर हवाई सेवा प्रयोग गरेर काठमाडौंबाट बाहिरिने यात्रु अकुपेन्सी दर ८५ प्रतिशत हुँदै आएको छ भने काठमाडौं भित्रिने दर २५ देखि ३० प्रतिशत छ। 

स्वास्थ्य सुरक्षा  मापदण्ड अवलम्बन गरेर सेवा दिँदै आए पनि अबका दिनमा नाफा आर्जनको सम्भावना न्यून रहेको अर्को कम्पनी यती एयरलाइन्सले जनाएको छ। 'यात्रु माग झन् झन् घट्दो क्रममा छ। अहिले हामी सेवा मात्र सहभागी छौं, फाइदै छैन। तर यो अवस्थामा स्वास्थ्य सुरक्षाको  मापदण्ड पालना गरेर सेवा दिने अवसर मिलेको छ,' कम्पनीका उडान सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले भने, 'विमानस्थल परिसर र गन्तव्यसम्म पुग्नका लागि हामीले कडाइका साथ स्वास्थ्य सुरक्षा मादण्ड अवलम्बन गर्दै आएका छौं।' 

उनका अनुसार काठमाडौंबाट बाहिरिने अधिकांश उडानमा ‍यात्रु अकुपेन्सी करिब ८० प्रतिशत कायम हुँदै आएको छ भने भित्रिने यात्रु दर ४० प्रतिशत मात्र छ। काठमाडौंतर्फको उडानमा ७२ सिट क्षमताको जहाज एटीआर-७२ मा २५ देखि ३० जना यात्रु हुने गरेको उनले बताए।

विमानस्थल कार्यालयको विवरण अनुसार शुक्रबार नेपाल वायुसेवा निगम, बुद्ध एयर, यती एयरलाइन्स, तारा एयर, श्री एयरलाइन्स, समिट एयरलाइन्स लगायत ६ वटा वायुसेवा कम्पनीले ७७ वटा उडान गर्दै छन्।