बुक बिल्डिङबाट सेयर मूल्य निर्धारण गर्न ५८ संस्थाको निवेदन, सबैले एक साताभित्रै अनुमति पाउने




काठमाडौं। बुक बिल्डिङ विधिबाट आइपीओ निष्कासन गर्न ५८ संस्थागत लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्ड (सेबोन) आवेदन दिएका छन्। 

बुक बिल्डिङ निर्देशिका २०७७ अनुसार योग्यता पुगेका संस्थागत लगानीकर्तालाई ३५ दिनभित्र निवेदन पेश गर्न गरिएको आह्वान अनुरूप करिब पाँच दर्जन संस्थाले आवेदन दिएको बोर्डका सहप्रवक्ता रुपेश केसीले बताए।  

TaTa
TVS

सेबोनले गत भदौ ३ मा बुक बिल्डिङ विधिबाट आइपीओ निष्कासनका लागि बोलकबोल प्रक्रियामा भाग लिन बुक बिल्डिङ निर्देशिका २०७७ अनुसार योग्यता पुगेका संस्थागत लगानीकर्तालाई ३५ दिनभित्र आवेदन दिन माग गरेको थियो। 

केसीका अनुसार, आवेदन परेका सबै संस्थालाई एक साताभित्र अनुमति दिइनेछ। यीबाहेक आगामी दिनमा अरु संस्थाहरु पनि इच्छा देखाएर आए भने यसमा बढ्दै जानसक्ने उनी बताउँछन्। 

हाल आवेदन दिने संस्थाहरुमा सूचीकृत मर्चेण्ट बैंकर, सामुहिक लगानी कोषका योजनाहरु अन्य कम्पनीहरु छन्। बोर्डले स्वीकृति दिएपछि यी संस्थागत लगानीकर्ताहरु बुक बिल्डिङमार्फत हुने सेयरको सार्वजनिक निष्कासन प्रक्रियामा सहभागी हुन पाउनेछन्। 

अंकित मूल्यमा साधारण सेयर जारी गर्न नचाहेका कम्पनीहरुलाई सर्वसाधारणमा जानका लागि प्रोत्साहित गर्न धितोपत्र बोर्डले यो बुक बिल्डिङ लागू गरेको हो। यससँगै रियल सेक्टर (गैरवित्तीय वा उत्पादन तथा सेवा क्षेत्र) का कम्पनीले साधारण सेयर बिक्री गर्न आउने  विश्वास बोर्डले गरेको छ।

यद्यपि, बुक बिल्डिङ विधिबाट साधारण सेयर निष्कासन गर्न हालसम्म कुनै पनि कम्पनीले बोर्डमा निवेदन नदिएको केसीले बताए। यस विधिमा बुक बिल्डिङ योग्य संस्थागत लगानीकर्ताहरुको मागको आधारमा प्राथमिक बजारमा निष्कासन गरिने धितोपत्रको वास्तविक तथा न्यायोचित मूल्य निर्धारण गरिन्छ। 

कस्ता कम्पनीले यस विधिबाट सार्वजनिक निष्कासन गर्न पाउँछन् ?
तीन आर्थिक वर्षदेखि लगातार खुद नाफामा रहेको, नेटवर्थ, चुक्ता पुँजी (प्रति सेयर) भन्दा कम्तिमा डेढ गुणा बढी रहेको, कम्तिमा औसत वा सोभन्दा माथिल्लो क्रेडिट रेटिङ ग्रेड प्राप्त गरेको, साधारणसभाले बुक बिल्डिङ विधिबाट धितोपत्र जारी गर्ने निर्णय गरेको लगायतका सर्त पूरा गरेका कम्पनीहरुले यस विधिबाट सेयर जारीमा जान सक्छन् ।

यसरी सेयर जारी गर्दा बुक बिल्डिङको सेयर मूल्य बोलकबोलमा भाग लिनले कम्पनीहरुको पनि सेबोनले तोकेबमोजिमको योग्यता पूरा भएको हुनुपर्नेछ। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत संगठित संस्था, सामूहिक लगानी कोष व्यवस्थापक, सामूहिक लगानी कोषका योजना, मर्चेन्ट बैंकर, विशेष ऐनद्वारा स्थापित वित्तीय संस्था, मान्यता प्राप्त अवकाश कोष, धितोपत्र व्यापारी र धितोपत्रमा लगानीको उद्देश्य रही न्यूनतम १० करोड रुपैयाँ नेटवर्थ भएका लगानी कम्पनीहरु यस विधिको मूल्य बोलकबोलमा भाग लिनका लागि योग्य ठहरिन्छन्। तर यसका लागि त्यस्ता कम्पनीहरुले सेबोनमा निवेदन दिएर अनुमति पाएको हुनुपर्नेछ।

अनुमति प्राप्त कम्पनीहरु वा संस्थागत लगानीकर्ताले कुनै पनि कम्पनीले धितोपत्र जारीका लागि बुक बिल्डिङ संचालन गरेको पाँच दिनभित्र आफूले खरिद गर्न चाहेको न्यूनतम  कित्ता र मूल्यांकनको आधारसहित आशय मूल्य (कोटेसन प्राइस) सहितको प्रस्ताव पेश गर्न सक्नेछन्। 

यसरी कम्तिमा १० योग्य संस्थागत लगानीकर्ताबाट खरिद आशय मूल्य प्राप्त भएपछि सोको अध्ययन गरी निष्कासन कम्पनीले धितोपत्रको आधार मूल्य निर्धारण गर्नुपर्नेछ। उक्त मूल्यमा २० प्रतिशत  तल/माथि गरी बोलकबोल हुन्छ, जसमध्ये अधिकतम र न्यूनतम मूल्य कायम गरी धितोपत्रको मूल्य सीमा निर्धारण गरिन्छ। 

उक्त सीमाभित्र वा त्योभन्दा बढी कबोल गर्ने संस्थागत लगानीकर्ताले बोलकबोल प्रक्रियामा अनिवार्य रूपमा सहभागिता जनाउनुपर्ने व्यवस्था रहेको छ।

बोलकबोलका लागि यसरी पेश भएको मूल्यहरुलाई नै आधार मानेर सम्बन्धित कम्पनीको धितोपत्रको कट-अफ मूल्य पनि तय गरिन्छ। सो कट-अफ मूल्यभन्दा कममा सेयर माग गर्ने संस्थागत लगानीकर्तालाई भने धितोपत्र बाँडफाँड हुने छैन।  

यस्तै, कट-अफ मूल्य र सो भन्दा माथिल्लो मूल्यमा कबोल गर्ने सबै आवेदनकर्तालाई माग बमोजिमको धितोपत्र कट-अफ मूल्यमा बाँडफाँट गर्नुपर्ने हुन्छ। कट-अफ मूल्यमा आवेदन गर्ने संस्थागत लगानीकर्तालाई माग बमोजिमको धितोपत्र बाँडफाँट गर्न नपुगेमा समानुपातिक रूपमा वितरण गर्नुपर्ने प्रावधान बोर्डले तोकेको छ।

सोपछि कट-अफ मूल्यमा १० प्रतिशत छुट दिई सर्वसाधारणलाई धितोपत्र निष्कासन गर्नुपर्ने हुन्छ। निष्कासन गरिने शतप्रतिशत धितोपत्र प्रत्याभूत गराउनुपर्ने हुन्छ। 

यस विधिबाट जारी गरिने सेयरका लागि सर्वसाधारण लगानीकर्ताले कम्तिमा ५० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने संगठित संस्थाले धितोपत्र बाँडफाँट गर्दा पनि प्रत्येक आवेदकलाई न्यूनतम ५० कित्ता दिनुपर्ने बताइएको छ।
बुक बिल्डिङ विधिबाट धितोपत्र निष्कासन गर्दा त्यसको ४० प्रतिशत संस्थागत लगानीकर्तालाई र ६० प्रतिशत सर्वसाधारणलाई छुट्याउनुपर्ने तोकिएको छ। 

प्रिमियममा पाँच कम्पनीले गरे सेयर निष्कासन, रुरु पाइपलाइनमा
बोर्डले बुक बिल्डिङ विधि लागु गर्नुभन्दा पहिले पनि पाँच कम्पनीले प्रिमियम मूल्यमा साधारण सेयर जारी गरेका थिए। जसमा सबैभन्दा पहिले (आव २०६५/६६ मा) नेपाल टेलिकम (प्रतिकित्ता रु. ६०१)  र सोही वर्ष अरुण भ्याली हाइडोपावर (प्रतिकित्ता रु. १८४) थिए। सोपछि २०६७/६८  मा चिलिमे जलविद्युत कम्पनीले पनि प्रिमियम मूल्य  (प्रतिकित्ता रु. ४०८.३६) मा साधारण सेयर बिक्री गरेको थियो।

यस्तै, रुरल माइक्रोफाइनान्सले २०६९/७० मा प्रिमियम सहित प्रतिकित्ता १९० मा र शिवम् सिमेन्टले पनि आव २०७४/७५ मा प्रतिकित्ता मूल्य आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई दुई सय र सर्वसाधारणलाई तीन सय राखेर प्रिमियमा सेयर बिक्री गरेको थियो। 

त्यसयता रुरु जलविद्युत आयोजनाले प्रिमियसहित प्रतिकित्ता १२० रुपैयाँमा सेयर जारी गर्न बोर्डमा निवेदन दिएको छ। यद्यपि यसले सेयर जारी गर्न भने बाँकी नै छ।


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell