६ महिनापछि खुले मुलुकभरका होटल, सौराहा र पोखरामा होटल बुकिङका लागि फोनको ओइरो

बिजमाण्डू
२०७७ असोज १ गते १३:४० | Sep 17, 2020
६ महिनापछि खुले मुलुकभरका होटल, सौराहा र पोखरामा होटल बुकिङका लागि फोनको ओइरो

Tata
GBIME
Nepal Life

काठमाडौं। सरकारले लामोदुरीका सवारी साधन र होटल रेष्टुरेन्ट खोल्न दिने निर्णय गर्‍यो। सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले मंगलबार पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषदबाट विहीबारदेखि सवारी साधन र होटल खोल्न दिने निर्णय भएको जानकारी गराए।

यो जानकारी गराएको भोलिपल्टै बुधबार चितवन सौराहामा रहेको जंगल सफारी लजमा इन्क्वाइरी आयो। वीरगंजबाट टेलिफोनमार्फत सोधे-‘सरकारको निर्णय अनुसार तपाईँहरुको होटल खुल्छ? खुल्ने भए हाम्रा लागि शुक्रबार ८ वटा रुम बुकिङ गरिदिनु होला।’

यो टेलिफोनसँगै होटल संचालक सुमन घिमिरेले आफ्ना सीमित कामदारलाई खबर गरे। बुधबारनै होटल र रेष्टुरेन्ट सफा गरेर आवश्यक सुरक्षा मापदण्डका सामाग्रीहरु समेत राखे। ‘६ महिनापछि होटल बुकिङका लागि सुखद खबर आएको थियो। मैले तत्कालै बुकिङ लिए,’ उनले बिजमाण्डूसँग भने, ‘कोभिडबाट अब डराएर हुँदैन्। आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर होटल संचालन गर्नुको विकल्प छैन्।’

उनलाई सुरुवातमा पर्यटकको संख्या धेरै हुन्छन् भन्ने लागेको छैन्। तर असोजको दोस्रो सातादेखि होटल व्यवसायको एउटा तस्वीर भने आउनेमा उनी विश्वस्त छन्। ‘दसैंका बेलामा सौराहामा आन्तरिक पर्यटकको भीडभाड हुन्थ्यो। तर अहिले कोरोनाका कारण अहिलेनै केही भन्न सकिने अवस्था छैन्। तर ६ महिनादेखि घरभित्रै थुनिएर बसेकालाई सुरक्षित रुपमा घुम्ने गन्तब्य सौराहा बन्नेमा हामी ढुक्क छौं,’ उनले भने, ‘ अहिले सौराहाका होटलहरु खुलिसकेका छन्। तर पूर्ण रुपमा भने होइन्।’

पछिल्लो समय विदेशी पर्यटकबाट बुकिङ गर्ने र क्यान्सिल गर्ने प्रक्रिया चलिरहेको जंगल वाइल्डलाइफ क्याम्पका संचालक नारायण भट्टराईले बताए। आन्तरिक पर्यटकबाट भने बुकिङका लागि केहि इन्क्वाइरीहरु आउने क्रम सुरु भएको उनले जानकारी दिए। क्षेत्रिय होटल संघ सौराहाले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि आकर्षक योजना ल्याउने संघका अध्यक्ष दीपक भट्टराईले बताए। जीप सफारी, हात्ती सफारी लगायतमा छुटका लागि पहल भइरहेको उनले बताए।

सौराहा मात्रै होइन आन्तरिक पर्यटकको मुख्य गन्तब्य पोखराका होटल आशिंक रुपमा संचालनमा आइसकेका छन्। क्षेत्रीय होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले विहीबारदेखि केही होटल संचालनमा आएको बताए।

उनका अनुसार पर्यटक आएका आधारमा होटलहरु संचालन हुँदै जानेछन्। ‘अहिले सीमित जनशक्ति राखेर होटल संचालनमा आउनेछन्। वातावरण राम्रो हुने र पर्यटक बढ्दै गएमा होटल पूर्ण रुपमा संचालनमा आउनेछन्,’ उनले भने। वाराही समूहको सराङकोट माउन्टेन लज विहीबारदेखि संचालनमा आएको छ। होटलका संचालक विप्लव पौडेलले लामो दूरीका यातायात र होटल खोल्ने निर्णयपछि इन्क्वाइरी आउन थालेको बताए।

‘इन्क्वाइरी आएकै कारण हामीले साराङकोट खोल्ने निर्णय गरेका हौं। होटल बाराहीमा भने रेनोभेसनको काम भएकाले आशिंक रुपमा मात्रै संचालनमा आउनेछ,’ उनले भने।

पोखराकै लेकसाइड रिट्रिट विहीबारदेखिनै संचालनमा आएको संचालक विजय सुब्बाले बताए। पोखराकै होटल क्राउन हिमालयमा तीन दिन अगाडि देखि बुकिङका लागि इन्क्वाइरी आउन सुरु भएको होटलका निर्देशक आग्रह अर्यालले बताए। ‘कोरोनाको त्रासका बीच पनि होटलमा इन्क्वाइरी आउनु सकारात्मक हो। विश्वव्यापी महामारीका कारण पर्यटन क्षेत्र तहसनहस भयो। तर ग्राहकको सोधपुछले उज्यालोको संकेत भने गरेको छ,’ उनले भने।

काठमाडौंमा रहेका अधिकांश तारे होटल बिहीबारदेखि संचालनमा आएका छन्। गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष जीबा लामिछानेसहितको लगानीमा स्थापना भएको होटल अकामा संचालनमा आइसकेको छ। सानिमा ग्रुपका प्रमुख कार्यकारी अधिकृत विनय श्रेष्ठले होटल संचालनमा आइसकेको बताउँदै कर्पोरेट हाउस र होटल क्वारेन्टाइनका लागि इन्क्वाइरी आइरहेको बताए। ठमेलमा रहेको अलफ्ट लकडाउन र निषेधाज्ञाको बेलामा पनि संचालनमा थियो। यो होटलले आगामि फेब्रुअरीका लागि विदेशी पर्यटकको बुकिङ लिन थालिसकेको छ। होटलका महाप्रवन्धक बिक्रम सिंहले फेब्रुअरीका लागि विदेशी पर्यटकको बुकिङ लिइसकिएको र कोभिड संक्रमण कम हुँदै गएमा होटल व्यवसायले गति लिने बताउँछन्। तर अहिले बुकिङका लागि इन्क्वाइरी नआएको उनले बताए।

लाजिम्पाटस्थित साङ्ग्रिला होटलले तत्कालका लागि क्वारेन्टाइन प्रयोजन बाहेक बुकिङ नलिएको संचालक प्रविण बहादुर पाण्डेले बताए। उनले क्वारेन्टाइनका लागि होटल खुलानै रहेको बताउँदै अहिलेनै अरु प्रयोजनका लागि खुला नगरेको जानकारी दिए। क्वारेन्टाइनका लागि ३० वटा कोठा होटलले छुट्याएको छ। यो वाहेक होटलका लागि इन्क्वाइरी नआएको पाण्डेले बताए।

लाजिम्पाटको र्‍याडिसन होटल तीन सातापछि संचालनमा आउने भएको छ। लामो समयदेखि बन्द रहेको कारण होटल सरसफाई र तयारी गर्न तीन साता समय लाग्ने कम्पनीका प्रवन्ध निर्देशक अनिलदास श्रेष्ठले जानकारी दिए।

होटल अन्नपूर्ण र याक एण्ड यति पनि परिस्थिती हेरेर मात्रै संचालनमा ल्याउने जानकारी दिएको छ। सोल्टी होटल लकडाउन र निषेधाज्ञामा समेत संचालनमै रहेको छ। सोल्टीले समेत बुकिङका लागि टेलिफोन नआएको जानकारी दियो।