अमेरिकी टेक जायन्टहरु धमाधम भारत छिर्दै, अमेजनले भारती एयरटेलको सेयर किन्न छलफल थाल्यो

बिजमाण्डू
२०७७ जेठ २३ गते १२:१७ | Jun 5, 2020

Tata
GBIME
Nepal Life

फेसबुक  माइक्रोसफ्ट तथा अन्य अमेरिकी जायन्टहरुलाई पछ्याउँदै अमेजन डटकम कम्पनी पनि भारतमा बजार बिस्तार गर्न अघि सरेको छ।

विश्वमै इन्टरनेट संजालको सबैभन्दा तीव्र बिकास भइरहेको देश मानिएको भारतमा अमेरिकी अनलाइन रिटेलर अमेजनले भारतीय वायरलेस अपरेटर भारती एयरटेलको ५ प्रतिशत सेयर किन्न छलफल अघि बढाएको रोयटर्सले जनाएको छ। रोयटर्सले स्रोतलाई उद्धृत गर्दै यो डिलका लागि दुवै पक्ष छलफलमा रहेको बताएको हो।

भारती एयरटेलमा लगानी गरी अमेजनले उसका ३० करोड सब्स्क्राइबरहरुमाथि पहुँच बढाउन चाहेको छ।

एशियाको दोस्रो बढी जनसंख्या भएको भारतमा अमेरिकी टेक जायन्टहरुले पछिल्लो समयमा आफ्नो उपस्थिति बलियो बनाउन लगानी बढाइरहेका छन्।

यसअघि फेसबुकले मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रिजमा ५.७ अर्ब डलरको लगानी गरेको छ भने माइक्रोसफ्टले पनि रिलायसन्समै लगानी गर्ने सम्झौता गरिसकेको छ।

विश्वका सबैभन्दा धनी अमेजनका सिइओ जेफ बेजोसले भारतको भ्रमणका क्रममा भारतलाई अमेरिकापछि आफ्नो सबैभन्दा ठूलो इ-कमर्स संचालनको स्थल बनाउने प्रतिबद्धता जनाएका थिए। गत जनवरीमा नै उनले साना तथा मध्यम स्तरका ब्यापारलाई अनलाइनमा जोड्नका लागि थप १ अर्ब डलर खर्चने बताएका थिए।

भारती एयरटेलले पनि आफ्नो उत्पादन सेवा तथा कन्टेन्ट उपभोक्तासम्म पुर्‍याउन बिभिन्न डिजिटल प्लेयर्ससँग मिलेर काम गरिरहेको भन्दै अमेजनसँगको सहकार्यबारे भने केही बताएको छैन।

अमेजनका प्रवक्ताले कम्पनीले आगामी दिनमा लगानीका विषयमा के तय गर्न सक्छ भन्ने बारेमा अहिले नै टिप्पणी नगर्ने बताए।
भारती एयरटेल भारतको तेस्रो ठूलो टेलिकम कम्पनी हो। रिलायन्सको जियो र भारती एयरटेलबीच निकै प्रतिस्पर्धा रहेको छ।

संचालनको २५ वर्षको अवधिमा भारती एयरटेलले बिभिन्न नीतिगत परिवर्तनका कारण समस्याहरुसँग जुध्दै अघि बढेको छ। जियो इन्फोकमले बजार ओगटेपछि भारती एयरटेलले भारतको सबैभन्दा ठूलो वायरलेस क्यारियरको ताज गुमाएको हो।

जियोले फेसबुक, केकेआर, माइक्रोसफ्ट लगायका लगानीकर्ताबाट १० अर्ब डलर जुटाइसकेको अवस्थामा अमेजन र भारती एयरटेलबीच लगानीका विषयमा छलफल अघि बढेको हो।

अमेजनले भारतमा आफ्नो वृद्धिको सम्भावना भएको बजारका रूपमा लिएको छ। उसले भारतमा इ-कमर्स बिजनेस बिस्तारका लागि ६.५ अर्ब डलर लगानीको योजना बनाएको छ। हालै अमेजनले भारतमा आफ्नो भ्वाइस एक्टिभेटेड स्पिकर्सको डिजिटल सेवा पनि सुरु गरेको छ।