रोकिएको लोकसेवाको अन्तर्वार्ता हुँदै, काठमाडौं बाहिर आउजाउ गर्नेलाई पीसीआर परीक्षण अनिवार्य

बिजमाण्डू
२०७७ जेठ २१ गते १०:३५ | Jun 3, 2020
रोकिएको लोकसेवाको अन्तर्वार्ता हुँदै, काठमाडौं बाहिर आउजाउ गर्नेलाई पीसीआर परीक्षण अनिवार्य

Tata
GBIME
Nepal Life

काठमाडौं। लोकसेवा आयोगले कर्मचारीको अन्तर्वार्ता अगाडि बढाउने भएको छ। आज सूचना जारी गर्दै लोकसेवाले राजपत्राङ्कित प्रथम श्रेणी, सहसचिव वा सो सरह पदका लागि दोस्रो र तेस्रो चरणको परीक्षा संचालन हुने जानकारी गराएको हो।

चैत १२ गतेका लागि तोकिएको अन्तर्वार्ता लकडाउनका कारण स्थागित भएको थियो। '१२ गतेदेखि नै सुरु हुनुपर्नेमा लकडाउनका कारण रोकिएको थियो। त्यही परीक्षा कार्यक्रम अगाडि बढाइएको हो,' लोकसेवा आयोगका उप सचिव सन्तोषप्रसाद दाहालले भने।

आज जारी भएको सूचनाअनुसार यस चरणमा सहभागी हुने उम्मेदवार काठमाडौं उपत्यका बाहिर रहेको अथवा लकडाउनका अवधिमा बाहिर गएर आएका छन् भने उनीहरुले अन्तर्वार्ता अगाडि पीसीआर परीक्षण गराउनुपर्ने व्यवस्था गरेको छ। अन्तर्वार्ता र प्रस्तुतीकरणका लागि कोरोना निरोगिताको पुष्टि हुने रिपोर्ट पेश गर्नुपर्ने उल्लेख गरेको छ। साथै स्वास्थ्य परीक्षण गराउन कुनै कठिनाइ भएमा उपसचिव दाहाललाई सम्पर्क गर्न भनिएको छ।

आयोगले आज प्रशासन सेवा र इन्जिनियरिङ सेवाको अन्तर्वार्ता र प्रस्तुतीकरणको सूचना जारी गरेको हो। असार २ गतेदेखि नै अन्तर्वार्ताको सुरुवात गर्न लागेको हो।

लोकसेवा आयोगबाट सरकारी सेवामा प्रवेशका चरणमा निरोगिताको रिपोर्ट पेश गर्ने प्रावधान चाहिँ पहिलेदेखि नै छ। अहिले कोरोना संक्रमण देखिएकाले त्यसमा थप सचेतता अपनाइएको हो।