महामारीमा तरलता सुनिश्चित गर्ने टाटाको योजना, ‘कठिन घडीले पनि केही न केही अवसर ल्याउँछ’

बिजमाण्डू
२०७६ चैत्र २९ गते १०:३३ | Apr 11, 2020
महामारीमा तरलता सुनिश्चित गर्ने टाटाको योजना, ‘कठिन घडीले पनि केही न केही अवसर ल्याउँछ’

मुम्बई। भारतको प्रसिद्ध टाटा ग्रुप अफ कम्पनीले कोरोना महामारीको अवस्थामा आफ्नो कम्पनीहरुमा परेको असरको समीक्षा गर्दै भविष्यमा कसरी अघि बढ्ने भन्ने बारे योजना बनाइरहेको छ। 

Tata
GBIME
Nepal Life

कोरोनाको महामारीले कम्पनीमा पर्ने सम्भावित असरबाट जोगिएर अघि बढ्न ग्रुप अन्तर्गतका सबै कम्पनीहरुलाई पर्याप्त तलरताको समीक्षा गर्न समेत भनेको छ। 

११३ अर्ब डलरको टाटा ग्रुपका अध्यक्ष एन चन्द्रशेखरनले ग्रुप अन्तर्गतका सबै कम्पनीका सिइओहरुलाई आगामी तीनदेखि ६ महिनासम्म ब्यापारमा पर्ने असर समीक्षा गर्दै तरलता ब्यबस्थापनको योजना बनाउन भनेका छन्। 

'सन् २०२०/२१ का लागि नगदको जोहो गर्नु भन्ने नै सबै कम्पनीका सिइओलाई हाम्रो सन्देश हो,' उनले भने। 

ग्रुपका सबै सिइओहरुलाई उनले ब्यवसायको 'डिजिटलाइजेसन'मा अझ बढी एग्रेसिभ हुन र थप उत्तरदायी हुन उनले सुझाव दिएका छन्। 'विश्वका सबै देशहरु यतिबेला महामारीको प्रभावमा छन्। यसले बेरोजगारी बढाउने र जिडिपीमा प्रहार गर्ने निश्चित छ। भारतको पनि जिडिपीमा ठूलो गिरावट आउने अनुमान गरिएको छ। यस्तो अवस्थामा हामीले तत्काल अर्थतन्त्रलाई ब्यूँझाउने किसिमले अघि बढ्दै संकटको समयलाई सम्बोधन गर्न जरुरी छ,' चन्द्रशेखरनले भने। 

'हाल अर्थतन्त्रमा ऋणको चाङ लागेको छ भने कारोबारहरु देखिएका छैनन्। कोरोना महामारीभन्दा अघिदेखि नै सुस्त देखिएको भारतको अर्थतन्त्रमा हाल अझ गम्भीर अवस्था देखिएको बताइन्छ। साना तथा मझौला उद्यमीहरु तथा लघु उद्यमीहरुलाई टिक्नका लागि अहिलेको अवस्थामा अझ बढी सहायता आवश्यक देखिन्छ,' उनले भने।

निर्माण, अटोमोबाइल तथा लजिस्टिक सेक्टर ब्यूँझिनका लागि मानिसहरु काममा फर्कनुपर्ने हुन्छ। अर्थतन्त्रलाई चाँडै पुरानै अवस्थामा फर्काउन खाद्य सुरक्षाका साथै बिना धितो तथा बिना ब्याज ऋण उपलब्ध गराउनुपर्ने उनले बताए। 

'खासमा कोरोनाको महामारीको असर कहिलेसम्म सामना गर्नुपर्ने हो अनिश्चित छ। हालको अवस्थामा यो नै सबैभन्दा ठूलो चुनौती हो,' उनले भने। उपभोग्य वस्तु तथा खुद्रा सामाग्रीहरु त उपलब्ध हुन सक्लान् तर मानिसहरुलाई काममा फेरि फर्कनका लागि ठूलो प्रोत्साहन र राहतको आवश्यकता पर्छ। 

ग्रुप अन्तर्गतको भिस्तारा एयरलाइन्स र होटलहरुको रेभेन्यूमा कोरोनाले कति असर पारेको छ हाल भन्न नसकिएपनि ती कम्पनीहरुले नै आफ्नो ब्यापारको अवस्थाको मूल्यांकन गरेर अघि बढ्ने उनले बताए। 

'टाटा सन्स हालको अवस्थामा केवल सिनारियोको प्लानिङ गरिरहेको छ। आखिर हामी पनि सेयर होल्डर नै हौं। हरेक कम्पनीले आफ्नो मानव संसाधन नीति, रेभेन्यू योजना तथा क्यास-फ्लो ब्यवस्थापन गर्नेछन्। हामीहरु हरेक कम्पनीले आफ्नो उपयुक्त ब्यापारका लागि आफैं निर्णय लिनेछन् भन्नेमा हामी विश्वस्त छौं,' उनले भने। 

टाटा ग्रुपले हाल कोरोना भाइरस संकटमा सरकारलाई सहयोग गर्नका लागि भेन्टिललेटर बनाइरहेको बताएको छ। यसका साथै अब अन्य मेडिकल उपकरणहरु पनि बनाउने योजनामा रहेको उनले बताए। 

'हामीसँग योजना पहिलेदेखि नै थियो। तर अब हाम्रो मेडिकल भेन्चर बिजनेसको बिजारोपण भएको छ,' उनले भने। 

टाटा ग्रुपले पिपिइ, मास्क, स्यानिटाइजर र अन्य उपकरणहरु बनाउन प्रक्रिया सुरु गरिसकेको जनाएको छ। उसले अस्पतालका लागि बिरामीको बेड बनाउनुका साथै भेन्टिलेटरको उत्पादनलाई तीव्र बनाएको छ। 

'अटोमोबाइल सेक्टरमा प्यासेन्जर कार र कमर्सियल भेहिकलको बजार ओरालो लागेको छ। अब ती सेक्टरहरु फेरि कमब्याक गर्न सक्छन्। थोरै राहतले ती सेक्टरको रिभाइभ गर्न सकिन्न। यसबाट धेरै मानिसहरु काममा फर्कन्छन् जसबाट अर्थतन्त्रलाई पनि पुन उकास्न सकिन्छ,' उनले भने। 

ग्लोबल बिजनेसका रूपमा रहेको टाटा स्टिल युरोपको ब्यापारका बारेमा उनले भने- 'हरेक देशका सरकारले उद्योग तथा रोजगारीलाई बचाउन सहयोग तथा सुरक्षाका उपायहरु अफर गरिरहेको छ। हामी ती प्रक्रियामा जान्छौं र ती सरकारहरुसँग मिलेर रोजगारी जोगाउन समयमै सहयोग लिन्छौं।' 

टाटा सन्सले बिगत तीन वर्षमा आफ्ना कम्पनीहरुमा २० हजार करोडको पुँजी थपिसकेको छ। हालैका वर्षहरुमा उपभोक्ता लक्षित कम्पनीहरु जस्तै टाइटान, ट्रेन्, इन्डियन होटल्स कम्पनी लिमिटेड (आइएचसिएल) तथा टाटा ग्लोबल वेभरेज लिमिटेडले ठूला फ्ल्यागशिप कम्पनीजहरु जस्तै टाटा स्टिल, टाटा मोटर्स र टाटा पावरले भन्दा बढी ब्यापार वृद्धि गरेको छ। 

कम्पनीले नयाँ 'डिजिटल डिस्ट्यान्सिङ' को नीति लिएको पनि उनले बताए। मानिसहरुले यात्रा गर्न छाडेका छन्। उनीहरु आफ्नो स्वास्थ्यलाई लिएर कुनै पनि जोखिम मोल्न चाहँदैनन्। त्यसैले हाल ब्यापारका लागि हुने यात्रा डिजिटल भएको छ। सुरक्षा विश्वास र पारदर्शिताका साथ डिजिटल कामलाई प्राथिमकतामा राख्नुपर्ने उनले बताए। 

'यो संकट यस अघिका संकटभन्दा फरक छ। हामीले पछि फर्किएर हेर्दा कोरोना अघि र कोरोना पछिको युग देख्न सकिन्छ। म आशावादी छु अर्थतन्त्रले फेरि पुरानै लय समात्छ। तर लकडाउन कहिलेसम्म रहन्छ भन्ने कुराको टुंगो छैन। यसबाट अर्थतन्त्र धेरै प्रभावित भइरहेको छ। हामी यस अवस्थालाई कसरी सामना गर्छौं भन्ने महत्वपूर्ण देखिन्छ।' 

चन्द्रशेखरनले जस्तो सुकै अवस्थामा पनि टाटाको मूल्य र मान्यताहरु परिवर्तन नहुने बताए। समूहमा बसेर काम गर्ने संस्कारमा केही परिवर्तन भने देखिने बताए। 'हरेक संकटले केही न केही अवसरहरु लिएर आउँछ। आजको अवस्थामा बजारमा देखिएको परिवर्तनलाई तत्काल आत्मसात नगरे दीर्घकालीन रूपमा अघि बढ्नुको विकल्प छैन। टाटा ग्रुपले पनि त्यही नै गर्नेछ,' उनले भने।