नेपाल-बंगलादेश व्यापार वार्तामा २३ एजेण्डा, थप बन्दरगाह प्रयोग र धागो निकासी प्राथमिकतामा

बिजमाण्डू
२०७६ कात्तिक ४ गते २०:३० | Oct 21, 2019
नेपाल-बंगलादेश व्यापार वार्तामा २३ एजेण्डा, थप बन्दरगाह प्रयोग र धागो निकासी प्राथमिकतामा

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल-बंगलादेशबीच मंगलबारदेखि काठमाडौंमा द्धिपक्षीय व्यापार वार्ता हुने भएको छ।

सहसचिवस्तरीय वार्तामा दुई देशबीच व्यापारसँग सम्वन्धित २३ एजेण्डामा छलफल हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। वार्ताका लागि नेपालका तर्फबाट वाणिज्य सहसचिव नवराज ढकालको नेतृत्वमा १४ सदस्यीय टोली गठन भएको छ। बंगलादेशबाट सहसचिवकै नेतृत्वमा सात सदस्यीय बंगलादेशी टोली काठमाडौं आइसकेको छ।

ढकालका अनुसार बंगलादेशसँग विद्युत व्यापार, विद्यार्थीका लागि भिसा सहजीकरण, कार्गो बोक्ने सवारी साधन, बन्दरगाह प्रयोग, धागो निकासी लगायत २३ विषयमा छलफल हुनेछ। छलफलको एजेण्डालाई मन्त्रीपरिषदले समेत स्वीकृति दिइसकेको छ।विद्युत व्यापारको विषयमा भने सामान्य छलफल हुनेछ। सोही वार्ताबाटै विद्युत व्यापारको विषयमा छलफल गर्न अर्को समिति निर्माणको प्रस्ताव नेपाली पक्षले गर्दैछ।

 बंगलादेशसँग सन् १९७६ मा चार वटा बन्दरगाह प्रयोग गर्न पाउने गरी सम्झौंता भएको थियो। हाल नेपालले फुलबारी बन्दगाह मात्र प्रयोग गर्न पाएको छ। अन्य बन्दरगाह प्रयोग सहज छैन।

बंगलादेश र नेपाल दुबै विकासील राष्ट्र भएकोले स्वदेशी उद्योग संरक्षणका लागि विभिन्न सेफगार्ड उपाय अबलम्बन गरिरहेका छन्। तयारी पोशाक उत्पादनमा विश्वमै अग्रणी रहेको बंगलादेशले धागो आयातमा कडाई गरेको छ भने नेपालले पनि स्वदेशी उद्योग संरक्षणको लागि भन्दै बंगलादेशी जुस आयातमा रोक लगाएको छ।

स्रोतका अनुसार बंगलादेशी पक्षले जुस निकासीमा लगाइएको प्रतिवन्धको मुद्दालाई प्राथमिकतामा राख्नेछ। नेपालले जुस निकासीमा प्रतिवन्ध लगाउँदा बंगलादेशको कम्पनी प्रान सबैभन्दा बढी प्रभावित भएको छ। प्रानको जुस झण्डै एक अर्बको नेपालमा आयात हुन्थ्यो।

धागो निर्यात सहजीकरणका लागि छलफल हुने

धागो निर्यात खुल्ला गरेपनि अहिलेसम्म पचास हजार डलरको मात्रै धागो कोलकाता हुँदै बंगलादेश निकासी भएको छ।

आयात खुल्ला गरेको एक वर्षमा यति थोरै परिमाणको धागो नेपालबाट जानुको कारण हो, बंगलादेशले बंगलाबन्ध मार्गबाट नेपालको एक्रेलिक धागो मात्रै निकासीको अनुमति दिएको छ।

एक्रेलिक धागो मात्रै निकासीको सुविधाले नेपाली उद्योगलाई कुनै फाइदा नभएकोले निकासी धेरै न्यून भएको हो। एक्रेलिक धागोको माग बंगलादेशमा अत्यन्तै न्यून छ।भिस्कस यार्न, पोलिष्टर भिस्कस, डाइड यार्न (रंगिन धागो)को माग बंगलादेशमा उच्च छ। अझ बंगलादेशले एक्रेलिक धागोको निकासी एक वर्षका लागि मात्रै परीक्षणका लागि खुला गरेको जनाएको छ।

धागो उत्पादक संघका अध्यक्ष पवन गोल्यानले बंगलादेशको शर्तका कारण धागो निकासी राम्रो हुन नसकेको बताए। धागो निर्यात सहज बनाउन वार्तामा छलफल गर्ने सहसचिव ढकालले बताए।

उनले भने-‘बंगलादेशले धागो निर्यातमा पूर्ण रुपमा प्रतिबन्ध लगाएको थियो। व्यापार वार्ताबाटै एक्रेलिक धागो निर्यातको लागि सहमति दिएको हो। यो पटकको वार्तामा पनि हामीले सबै किसिमका धागो निर्यातका लागि बाटो खुल्ला गर्न प्रस्ताव राखेका छौं।‘  उद्योगी शशिकान्त अग्रवालले देखाउनका लागि मात्रै बंगलादेशले धागोको आयात खुल्ला गरेको बताउँछन्।