पूर्व मन्त्री मोहन बस्नेतको ६१ करोड 'कालोधन' शुद्धिकरण विभागले भेट्यो




काठमाडौं। नेपाली कांग्रेसका नेता तथा पूर्व संचारमन्त्री मोहनबहादुर बस्नेतको ६१ करोड स्रोत नखुलेको सम्पति फेला परेको छ। 

राजधानीको महाबौद्धस्थित प्रणामी बचत तथा ऋण सहकारी संस्थामा पूर्वमन्त्री बस्नेतको नाममा ठूलो रकम निक्षेप राखेको भेटिएपछि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान थालेको हो।

TATA
SANIMA new
Jagdamba Steel

विभागले सहकारीमा रहेको बस्नेतको पैसा 'फ्रिज' गरेर अनुसन्धान थालिसकेको छ। बैंक तथा वित्तीय संस्थापछि सहकारीमा समेत सम्पत्ति शुद्धिकरण कार्यान्वयनमा ल्याएपछि उनले निक्षेप राख्नेवित्तिकै त्यसको जानकारी वित्तीय जानकारी ईकाइ र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा पुगेको थियो। 

बस्नेतको नाममा ठूलो रकम खातामा जम्मा भएपछि विभाग अलर्ट भएर अनुसन्धान तत्कालै थालेको थियो। प्रारम्भिक अनुसन्धानमा बस्नेतको कर छलीबाट आएको रकम जम्मा भएको देखिएको छ।

'प्रारम्भिक अनुसन्धानमा बस्नेतको कर छली गरेको भेटिएको छ। उहाँको 'ब्याकग्राउन्ड' सँग यति ठूलो पैसाको मेल खाने देखिएन। त्यही भएर सहकारी विभागमार्फत पैसा रोक्का गरिदिएका छौं' शुद्धिकरण विभागका एक अनुसन्धान अधिकृतले बिजमाण्डूसँग भने, 'अरु स्रोतहरु पनि खोजिरहेका छौं। अहिले सहकारीमा स्रोत नपुग्ने पैसा भेटिएको छ।'

बस्नेतको चीनसँग व्यापारिक कारोबार गर्ने व्यवसायीसँग बढी हिमचिम छ। उनी सिन्धुपाल्चोकका पूर्व सांसद हुन्। उनी अहिलेको निर्वाचनमा नेकपाका नेता अग्नि सापकोटासँग पराजित भएका थिए।

विभागले अहिले पोलिटिकल्ली एक्सपोज पर्सन (राजनीतिक रुपमा चिनिएका) हरुको अनुसन्धान तीब्र बनाएको छ। विभागले केही समयमै नेपाली कांग्रेसका सांसद सूर्यबहादुर केसी विरुद्ध मुद्दा हाल्ने तयारी गरेको छ।

बस्नेत केही समयअघि नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसी) बैंकका सञ्चालक समेत थिए। बैंक तथा वित्तीय संस्था ऐन संशोधन भएर आउँदा संबैधानिक पदमा बसेकाहरु सञ्चालन हुन नपाउने ब्यवस्था भएपछि उनले राजीनामा गरेका थिए। उनी त्यसबेला संविधानसभा सदस्य थिए।

सम्पति शुद्धिकरण बिरुद्ध अन्तर्राष्ट्रिय रुपमा काम गरिरहेको संस्था फाइनान्सियल एक्सन टाक्सफोर्स (एफएटिएफ) मा आबद्ध भएपछि नेपालले कालोधन बिरुद्ध कडा नीति लिन थालेको छ। 

बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, शेयर, सुन बजारका साथै पछिल्लो समय सहकारी क्षेत्रमा पनि शुद्धिकरणको नियम कडाइका साथ कार्यान्वयन गर्न थालिएको छ। यसैक्रममा अनुसन्धान गर्दा बस्नेतको 'कालोधन' फेला परेको विभाग स्रोतले जानकारी दियो।

बस्नेतको कालोधका बारेमा शुद्धिकरण विभागका साथै सहकारी विभाग र राष्ट्र बैंकमा रहेको वित्तीय जानकारी इकाइले पनि काम गरिरहेको छ। इकाइले उनको वित्तीय कारोबारको 'ट्रयाक' गर्न थालेको छ भने शुद्धिकरण विभागले अन्य निकायसँग समन्वय गरेर अनुसन्धान तीब्र बनाएको छ।

'अब हामी बस्नेतजीलाई बयानका लागि बोलाउने तयारीमा छौं। अहिलेसम्मको अनुसन्धानमा गैरकानुनी रुपमा नै धन आर्जन गरेको देखिन्छ' ती अनुसन्धान अधिकृतले भने, 'बयानपछि हामी कसरी अगाडि बढ्ने भन्ने निर्णयमा पुग्छौं।'

शुद्धिकरण विभाग केपी ओली दोस्रो पटक प्रधानमन्त्री भएपछि मन्त्रीपरिषद्को कार्यालयमा ल्याइएको निकाय हो। विभागले कसलाई कारवाही अगाडि बढाउने भनेर सोझै प्रधानमन्त्रीको राय लिन्छ। 'राजनीतिक रुपमा लागेका ब्यक्तिहरुको अनुसन्धान त्यति सजिलो छैन' ती अनुसन्धान अधिकृतले भने, 'प्रधानमन्त्रीबाट 'गो अहेड' भन्ने निर्देशन आएमा मुद्दा हाल्ने छौं।'

बस्नेतको ६१ करोडको स्रोत नखुलेको पैसाका बारेमा उनका परिवार र नातेदारमा पनि अनुसन्धान तीब्र पारिएको छ। 'वित्तीय जानकारी इकाइबाट हामीले परिवार र नातेदार सबैको बैंकिङ 'हिस्ट्री' मागेका छौं' विभाग स्रोतले भन्यो, 'इकाइले सहयोग गर्यो भने अझै गहिरोमा पुगेर अनुसन्धान गर्न सकिन्छ।'

सहकारी पनि ट्रयाकमा
पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थामा कारोबारमा कडाई गर्न थालेपछि अवैध कारोबारमा कमाएको पैसा सहकारीमा सिफ्ट हुन थालेको थियो। राजनीतिक दलदेखि विभिन्न कर छलेर कमाएको पैसासम्म सहकारीमा जान थालेपछि सरकारले नियम बनाएर कस्न थालेको छ।त्यही क्रममा पूर्व मन्त्री बस्नेतले पैसा राख्नेवित्तिकै अनुसन्धान गर्ने निकायले जानकारी पाएका हुन्।

सहकारी विभागले ०७४ माघ १५ गते सम्पति शुद्धिकरण सम्वन्धी व्यवस्था कार्यान्वयन गर्दै एसटिआर (सस्पिसिएस ट्रान्जेक्सन रिपोर्ट)  पठाउन निर्देशन दिएको थियो। मुलुकभर १४ हजारभन्दा बढी बचत तथा ऋण सहकारी संस्था छन्। ती संस्थामध्ये केहीले मात्रै सम्पति शुद्धिकरण सम्बन्धी व्यवस्था कार्यान्वयन गर्न थालेका छन्।


Share this Story

   

पूर्व मन्त्री मोहन बस्नेतको ६१ करोड 'कालोधन' शुद्धिकरण विभागले भेट्यो को लागी १ प्रतिक्रिया(हरु)

Chandra Prasad Neupane[ 2019-07-18 08:34:10 ]
माेहनदाइकाे अाम्दानी गजब । व्यापारबाट जम्मा भएकाे पैसा अझै कति हाेलान् । जावाे ६१ कराेड के हाे र ? तिबेतनसँग पनि सम्बन्ध हुनसक्छ । उताबाट सुन अाउँछ रे !

   हालसम्म २३१ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell