नयाँ हेलिकोप्टर कम्पनीलाई धमाधम इजाजत दिँदा बजारमा अस्वस्थ्य प्रतिस्पर्धा सुरु

बसन्तराज उप्रेती/बिजमाण्डू
२०७६ जेठ ७ गते १७:०६ | May 21, 2019
नयाँ हेलिकोप्टर कम्पनीलाई धमाधम इजाजत दिँदा बजारमा अस्वस्थ्य प्रतिस्पर्धा सुरु

Tata
GBIME
Nepal Life

काठमाडौं। आन्तरिक उडान गर्दै आएका हेलिकोप्टर कम्पनीहरुले बजार हिस्सा विस्तारका लागि हेलिकोप्टर थप्ने भएका छन्। 

एयर डाइनास्टी, फिस्टेल, हेलि-एभरेष्ट, मनाङ र माउन्टेन कम्पनीले हेलिकोप्टर थप्न लागेका हुन्। यी कम्पनीहरुले एक वर्षभित्र नयाँ हेलिकोप्टर थप्ने जानकारी दिएका छन्। कैलाश, अल्टिच्यूड  र सिम्रिकले यसअघि नै नयाँ हेलिकोप्टर ल्याइसकेका छन्।  

हाल हेलिकोप्टर कम्पनीहरुबीच व्यावसायिक प्रतिस्पर्धा निकै बढेको छ। सामान ढुवानी, पर्यटकीय यात्रा र रेस्क्यू अपरेसनकालागि  हेलिकोप्टरको प्रयोग बढेसँगै हेलिकोप्टर कम्पनीहरुले क्षमता बिस्तार गर्न लागेका हुन्। 

पुराना कम्पनीहरुले क्षमता विस्तार नगरे नयाँ आउने कम्पनीहरुले बजार हिस्सा खोस्ने जोखिम बढेको एक ब्यवसायीले बताए। यसैले पनि पुराना हेलिकोप्टर कम्पनीहरु हेलिकोप्टर थप्न थालेको उनको भनाई छ। 

नयाँ हेलिकोप्टर कम्पनी थपिँदै जाँदा बजारमा अस्वस्थ प्रतिस्पर्धा समेत सुरु भएको भन्दै उनले चिन्ता ब्यक्त गरे।  

'उड्डयन मन्त्रालयले धमाधम नयाँ हेलिकोप्टरहरुलाई इजाजत पत्र दिँदै आएको छ। भएकै कम्पनीको हेलिकोप्टरहरुका लागि व्यवस्थित हेलिप्याड बनेको छैन। एक त पाइलट कमीको समस्या। भएकै कम्पनीलाई प्रभावकारी ढंगले नियमन गर्ने र आवश्यक पूर्वाधारको व्यवस्थापन गर्ने हो भने डिमाण्ड एण्ड सप्लाइ अनुसार अगाडी बढ्न सकिन्थ्यो' ती व्यवसायीले बिजमाण्डूसँग भने।        

नयाँ कम्पनीलाई इजाजत दिनुभन्दा पनि बिद्यमान अवस्थामा सुरक्षालाई प्राथमिकता दिनुपर्ने उनको सुझाव छ।          

नेपाल नागरिक उड्डयन प्राधिकरणले सन् २०१८ को अन्तिममा तयार पारेको तथ्याङ्क अनुसार १०  हेलिकोप्टर कम्पनीमार्फत एक वर्षमा ५१ हजार एक सय आठ यात्रुले सेवा लिएका छन्।

एयर डाइरनेस्टीले सन् २०१८ मा तीन हजार सात सय ४० वटा उडान अवतरण गरेको छ। 

प्राधिकरणको तथ्याङ्क अनुसार एक वर्षको अन्तरालमा नौ हजार छ सय ५८ यात्रुले सेवा लिएका छन्। 

कम्पनीसँग पर्याप्त मात्रामा हेलिकोप्टर भएकै कारण फ्लाइट मुभमेन्ट र यात्रु संख्या धेरै रहेको कम्पनीका अपरेसन म्यानेजर वालकृष्ण पण्डितले जानकारी दिए। 

पाँचवटा हेलिकोप्टरमध्ये एउटा हेलिकोप्टर गत माघमा दुर्घटनामा परेपछि कम्पनीले एक साताभित्रै एयरबस कम्पनीकै हेलिकोप्टर (एएस ३५०) ल्याउन लागेको उनले बताए। 

पर्यटक वृद्धि भएकै कारण सन् २०१७ को तुलनामा सन् २०१८ मा हेलिकोप्टरको फ्लाइट मुभमेन्ट बढेको उनले जानकारी दिए।   

यसैगरी फिस्टेल हेलिकोप्टरले दुई हजार चार सय ३७ वटा उडान  अवतरण गरेको छ। एक वर्षको अन्तरालमा सात हजार एक सय ७५ यात्रुले सेवा लिएका छन्।

तीनवटा हेलिकोप्टर संचालन गर्दै आएको कम्पनीले क्षमता विस्तारका लागि निकट भविष्यमा एउटा हेलिकोप्टर थप्ने योजना रहेको कम्पनीका अपरेसन म्यानेजर विनोद थापाले जानकारी दिए। 

हेलिकोप्टर कम्पनीको नाम

उडान र अवतरण संख्या

यात्रु संख्या

अल्टिच्युड  एयर

1535

5722

 

एयर डनइजेस्टी

3740

9658

 

फिसटेल एयर

2437

7175

 

हेलि एभरेष्ट

1492

5122

 

कैलाश हेलिकोप्टर

1241

3293

 

मनाङ एयर

1447

5179

 

माउन्टेन हेलिकोप्टर

661

2395

 

प्रभु हेलिकोप्टर

750

1786

 

सिम्रिक एयर

2186

6466

 

श्री एयर

1157

4315

 

जम्मा

16646

51111

 

 

एक वर्षको अन्तरालमा दुई हजार एक सय ८६ वटा फ्लाइट मुभमेन्ट गरेको सिम्रिक एयरको हेलिकोप्टर मार्फत छ हजार चार सय ६६ यात्रुले सेवा लिएका छन्। 

तीनवटा हेलिकोप्टर मार्फत उडान संचालन गर्दै आएको कम्पनीले गत वर्ष आफ्नो क्षमता विस्तार गरी दुईवटा हेलिकोप्टर खरिद गरिसकेको छ।    

एक हजार पाँच सय ३५ वटा फ्लाइट  मुभमेन्ट गरेको अल्टिच्युड एयरको हेलिकोप्टरमार्फत पाँच हजार सात सय २२ यात्रुले सेवा लिएका छन्। हाल कम्पनीसँग दुईवटा हेलिकोप्टर संचालित छन्।  

एक वर्षको अन्तरालमा १४ सय ९२ वटा फ्लाइट मुभमेन्ट गरेको हेलि एभरेष्ट मार्फत पाँच हजार एक सय २२ यात्रुले सेवा लिएका छन्। हाल दुईवटा हेलिकोप्टर संचालनमा ल्याइरहेको कम्पनीले सन् २०२० मार्च भित्र अर्को हेलिकोप्टर थप्ने योजना रहेको बताएको छ।    
 
यसैगरी १४ सय ४७ वटा फ्लाइट मुभमेन्ट गरेको मनाङ एयरमार्फत पाँच हजार एक सय ७९ यात्रुले सेवा लिएका छन्। कम्पनीले दुईवटा हेलिकोप्टर संचालनमा ल्याइरहेको छ। निकट भविष्यमा माग अनुसार जहाज थप्ने योजना रहेको कम्पनीले जनाएको छ।   

१२ सय ४१ वटा फ्लाइट मुभमेन्ट गरेको कैलाश एयरको हेलिकोप्टरमार्फत तीन हजार दुई सय ९३ यात्रुले सेवा लिएका छन्। दुईवटा हेलिकोप्टरमार्फत उडान गर्दै आएको कम्पनीले ग्राहकको माग अनुसार थप एउटा हेलिकोप्टर ल्याइसकेको कम्पनीले जनाएको छ।

एक वर्षको अन्तरालमा श्री एयरको हेलिकोप्टरमार्फत चार हजार तीन सय १५ यात्रुले सेवा लिएका छन्। कम्पनीको हेलिकोप्टरले यो अवधिमा एघार सय ५७ वटा फ्लाइट मुभमेन्ट गरेको प्राधिकरणले तयार पारेको तथ्याङ्कमा उल्लेख गरिएको छ। दुईवटा हेलिकोप्टरमध्ये एउटा हेलिकोप्टर मर्मतका क्रममा रहेको कम्पनीले जनाएको छ। 

एक वर्षको अन्तरालमा छ सय ६१ वटा फ्लाइट मुभमेन्ट गरेको माउन्टेन एयरको हेलिकोप्टरमार्फत २३ सय ९५ यात्रुले सेवा लिएका छन्। 

बजार हिस्सा बढाउनका लागि सन् २०२०मा क्षमता विस्तार गर्ने योजना रहेको कम्पनीका महाप्रवन्धक दिलबहादुर ‌ओलीले जानकारी दिए। हाल कम्पनीले दुईवटा एयरबसको हेलिकोप्टर संचालनमा ल्याएको छ।   

यसैगरी प्रभु हेलिकोप्टरबाट एक वर्षको अन्तरालमा १७ सय ८६ यात्रुले सेवा लिएका छन्। प्राधिकरणले तयार पारेको तथ्याङ्क अनुसार कम्पनीले सात सय पचासवटा फ्लाइट  मुभमेन्ट गरेको छ। कम्पनीले रोविन्सन कम्पनीको पाँचवटा हेलिकोप्टर संचालन गर्दै आएको छ।