नेपाल एग्रोको शेयरमा एक घण्टामै दुई गुणा बढि आवेदन, साढे १४ हजारले दिए आवेदन

बिजमाण्डू
२०७६ बैशाख ८ गते १२:५५ | Apr 21, 2019
नेपाल एग्रोको शेयरमा एक घण्टामै दुई गुणा बढि आवेदन, साढे १४ हजारले दिए आवेदन

काठमाडौँ। नेपाल एग्रो लघुबित्तले आजदेखि निष्कासन गरेको प्राथमिक शेयर एक घण्टामै 'ओभर सब्सक्राइब' भएको छ। संस्थाको शेयरमा पहिलो एक ‍घण्टामै मागभन्दा दुई गुणा बढि आबेदन परेको हो।

Tata
GBIME
Nepal Life

बिक्री प्रबन्धक एसबिआइ मर्चेन्टले पहिलो एक घण्टामा सर्वसाधारणले तीन लाख २२ हजार ३५० कित्ता शेयरको माग गरेको जनाएको छ। १४ हजार ६०९ आबेदकले शेयरको माग गरेका हुन्। जुन मागभन्दा २.१३ गुणा बढि हो। 

संस्थाले कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्ट्याएर बाँकी रहेको एक लाख ५१ हजार दुई सय कित्ता साधारण शेयर आइतबारदेखि बिक्रि खुला गरेको हो। सर्वसाधारणले कम्तिमा १० कित्ता र बढिमा आठ सय कित्तासम्मका लागि आवेदन दिन सक्छन्। 

संस्थाले चुक्ता पूँजी बृद्धिका लागि प्राथमिक शेयर निष्कासन गरेको हो। हाल संस्थाको चुक्ता पूँजी तीन करोड ३६ लाख रुपैयाँ छ। पोखरामा केन्द्रीय कार्यालय रहेको संस्थाले १० जिल्लाका २६ शाखाबाट लघुबित्त सेवा दिँदै आएको छ। 

यसअघि सार्वजनिक भएका माइक्रोफाइनान्सको शेयरमा पहिलो दिनमा नै मागभन्दा बढि आवदेन पर्ने गरेको थियो। तर पहिलो घण्टा नै भने बढि आवेदन परेको भने थिएन।

यसअघि प्राथमिक शेयर निष्काशन गरेको स्पर्स लघुवित्तको पनि निष्काशन भएको पहिलो दिनमा नै ओभर सब्सक्राइब भएको थियो। संस्थाको प्राथमिक शेयरमा पहिलो दिन नै ८ गुणा बढि आवेदन परेको थियो। चार दिनमा संस्थाको आइपिओमा ३३ गुणा बढि आवेदन परेको थियो। 

यसैगरी आशा लघुवित्तले निष्काशन गरेको प्राथमिक शेयर दोस्रो दिन ओभर सब्सक्राइब भएको थियो। संस्थाको प्राथमिक शेयरमा दोस्रो दिनमा ९ गुणा बढि आवेदन परेको थियो। पुरै चार दिन बिक्री खुला गर्दा भने २० गुणा बढि आवदेन परेको थियो। 

चौतारी लघुवित्त वित्तीय संस्थाले गत मंसिरमा प्राथमिक शेयर निष्काशन गर्दा पहिलो दिनमा नै ७.५ गुणा बढि आवेदन परेको थियो। चार दिन बिक्री खुला गर्दा संस्थाको प्राथमिक शेयरमा ३० गुणाभन्दा बढि आवदेन परेको थियो।