लगानीकर्ताको बिरोधपछि सेबोन लचिलो, दोस्रो बजारमा ५ लाखमाथिको कारोबारमा मात्रै प्यान अनिवार्य

बिजमाण्डू
२०७५ फागुन ३० गते ११:५४ | Mar 14, 2019


काठमाडौं। दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ताले एक पटकमा न्युनतम ५ लाख रुपैयाँ भन्दा माथिको कारोबार गर्नका लागि स्थायी लेखा नम्बर अनिवार्य लिनु पर्ने भएको छ।

Tata
GBIME
Nepal Life

नेपाल धितोपत्र बोर्डले ५ लाख रुपैयाँ भन्दा तल कारोबार गर्ने लगानीकर्तालाई भने स्वेच्छिक छाडिदिएको छ।

नेपाल धितोपत्र बोर्डले यस अघि अर्थमन्त्रालयको निर्देशनमा दोस्रो बजारमा कारोबार गर्ने सम्पुर्ण लगानीकर्ताहरुका लागि अनिवार्य स्थायी लेखा नम्बर लिन निर्देशन दिएको थियो।

बोर्डको निर्देशनसँगै लगानीकर्ताले चर्को विरोध गरेपछि नेपाल धितोपत्र बोर्डले ५ लाख रुपैयाँको सिलिङ तोकेर लगानीकर्ताको विरोधलाई मत्तथर पार्न खोजेको छ।

बुधबार राजस्व सचिव लाल शंकर घिमिरेले तीनवटा लगानीकर्ता संघका प्रतिनिधिहरुलाई बोलाएर प्यानको कार्यान्वयका सम्बन्धमा छलफल गरेका थिए।

छलफलमा लगानीकर्ताले तत्काल प्यानलाई कार्यान्वयन नगर्न अनुरोध गरेका थिए। तर बजेटमै भएको व्यवस्था भन्दै मन्त्रालयले अडान लिए पछि लगानीकर्ताले नै न्युनतम सिलिङ तोकेर मात्रै प्यानको कार्यान्वयन गर्न सुझाव दिएका थिए।

लगानीकर्ताले आगामी बैशाख १ गतेदेखि ५ लाख रुपैयाँ भन्दा माथिको कारोबार गर्दा स्थायी लेखा नम्बर अनिवार्य आवश्यक पर्ने बोर्डले जनाएको छ।