काठमाडौं। नेपाल व्यवसायिक पहल(एनविआर्इ)ले श्रममन्त्री गोकर्ण विष्टलार्इ प्रमुख अतिथि राखेर वैदेशिक रोजगार सम्वन्धी छलफल कार्यक्रमको टुंगो लगायो।
कार्यक्रमको टुंगो लाग्यो तर कार्यक्रम स्थल धुर्इँपताल लगाएर खोज्दा समेत भेट्टाएन। सुरुवातमा काठमाडौं उपत्यकाको सबै तारे होटलमा फोन गयो तर भेन्यू भेट्टिएन्। एनविआर्इमा रहेका अधिकांश पदाधिकारीको जोरबलले समेत भेन्यू नपाएपछि सोमबार वालुवाटारमा रहेको आम्रपाली ब्यांकेटमा कार्यक्रम गर्यो। एनविआर्इमा ज्योती समूहका अध्यक्ष पद्म ज्योती, नेपाल इकरात इन्जिनियरिङ कम्पनीका प्रवन्ध निर्देशक कुशकुमार जोशी, आइएमएस समूहका अध्यक्ष दीपक मल्होत्रा लगायतका व्यवसायी आवद्ध छन्।
मंसिरको महिना विवाहको सिजन भएकाले काठमाडौंका कुनै पनि होटल खाली छैनन्। तत्कालै कुनै कार्यक्रम गर्नु परे तारे होटलमा सम्भवनै छैन।काठमाडौंका सबै पाँच तारे होटलका ब्यांकेट डिसेम्बर अन्तिमसम्मका लागि प्याक छ। कतिपय कर्पोरेटले तारे होटल नपाएपछि केही इभेन्ट डिसेम्बर पछि सारेका छन् भने कतिपयले अगाडीनै कार्यक्रम गरेका छन्।
उपत्यकाका तारे होटलका व्यवस्थापकका अनुसार डिसेम्बर अन्तिमसम्मका लागि ब्यांकेट अग्रिम बुकिङ भइसकेका छन्। अन्नपूर्ण होटलका प्रवन्धक आत्मराम खनालका अनुसार डिसेम्बर २० तारिखसम्म ब्याङ्केट हल र सभाकक्षको बुकिङ भइसकेको छ। ‘अहिले तारे होटलमा विवाह, व्रतबन्ध लगायतका कार्यक्रम गर्ने क्रम बढेको छ। मंसिरको महिना विवाहको सिजन भएकाले होटलको ब्यांकेट बुक भइसकेको छ’ उनले बिजमाण्डूसँग भने,’त्यो वाहेक अरु विभिन्न संस्थाको कार्यक्रममा पनि परेकोले डिसेम्बर अन्तिमसम्म बुकिङ भएको हो।’
ह्यात होटलको केही दिन छाडेर डिसेम्बरसम्म ब्यांकेट र सभा हल बुकिङ भइसकेको छ। ‘विवाह र व्रतन्ध लगायतका कार्यक्रममा लागि ब्यांकेट बुकिङ भइसकेको छ। हामीले कतिपय कर्पोरेटका कार्यक्रम गर्न नसक्ने भनेर फिर्ता बोलाएका छौं। कतिपयलार्इ अगाडिनै गर्न सुझाब दिएका छौं’ होटलका एक कर्मचारीले भने,’कतिपयलार्इ हामीले बीचको समयमा कार्यक्रम गर्न सुझाब दिएका छौं।’
दरबारमार्गस्थित होटल याक एण्ड यतिमा कर्पोरेट इभेन्ट र विवाह समारोहका लागि डिसेम्बर १७ तारिखसम्म ब्याङ्केट हल र कन्फ्रेन्स हल अग्रिम बुकिङ भइसकेको छ। विवाहको सिजन भएकै कारण डिसेम्बर १७ तारिखसम्म होटलको ब्याङ्केट पूर्ण रुपमा बुकिङ भइसकेको होटलका एक कर्मचारीले बताए। उनका अनुसार डिसेम्बर १७ तारिखपछि ब्यांकेट हल र कन्फ्रेन्स हल बुकिङ गर्न सकिनेछ।
होटल संघका महासिचव विनायक शाहले सामाजिक कार्य होटलमा गर्ने प्रचलन बढेको बताउँदै यसले होटलको व्यवसाय विस्तार भएको जानकारी दिए। ‘अहिले होटलमा पर्यटक भन्दा पनि ब्यांकेट र कन्फ्रेन्सले धान्न थालेका छन्। त्यसैले धेरैजसो होटलले ब्यांकेट थप्दै गएका छन्। होटलले मूल्य अभिवृद्धि गरेर आफ्नो व्यवसाय विस्तार गरिरहेका छन्’ उनले बिजमाण्डूसँग भने। स्रोतका अनुसार अहिले काठमाडौंका अधिकांश फाइभ स्टार होटलले ब्यांकेटमार्फत राम्रो कमार्इ गर्न थालेका छन्। कतिपय होटलमा विवाहका लागि काठमाडौंनै आउन थालेका छन्।