काठमाडौं। बैंकिङ प्रणालीमा ऋण दिन योग्य पैसाको अभाव देखिएको छ। राष्ट्र बैंकका अनुसार बैंकहरुले पछिल्लो दुई सातामा निक्षेप ३ अर्बले बढाएर ऋण लगानी ३८ अर्ब रुपैयाँ बिस्तार गरेका छन्।
दसैंको बिदा सुरु हुनुअघि फुलपातिको अघिल्लो दिनसम्म बैंकहरुमा २५ खर्ब २३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। जबकी ऋण लगानी २२ खर्ब ४६ अर्ब रुपैयाँ पुगेको छ।
असोजको १२ गते बैंकहरुसँग कुल निक्षेप २५ खर्ब २० अर्ब रुपैयाँ थियो। ऋण लगानी २२ खर्ब ८ अर्ब रुपैयाँ मात्र गरेका थिए। 'निक्षेप र ऋणको सन्तुलन बिग्रिएको देखिएको छ। हामीले यसलाई गम्भिर रुपमा हेरिरहेका छौं' राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागका एक अधिकारीले भने।
बैंकहरुका अनुसार, यो अवधिमा आयात उच्च भएका कारण ऋण बिस्तार अधिक देखिएको हो। आन्तरिक रुपमा पनि सवारी साधन कर्जा ह्वात्तै बढेको छ।
'दसैंतिहारका लागि उपभोग्य खाद्यान्नदेखि अन्य औद्योगिक कच्च पदार्थ आयात उच्च भएको छ, यसले गर्दा प्रतितपत्र ब्यापक खोलिएको थियो' एक बैंकरले भने, 'आन्तरिकतर्फ गाडी कर्जा धेरै गएको छ।'
बैंकहरुसँग साउन लागेपछि सरकारी खर्चका कारण निक्षेपमा सुधार आएको थियो। नाफा बृद्धिबाट जम्मा भएको रकम पनि बैंकहरुसँग थियो। त्यही पैसा अहिले ऋण बिस्तार गर्न प्रयोग भएको बैंकरहरु बताउँछन्।
'यही पाराले जाने हो भने अब तरलता अभाव चरम अवस्थामा पुग्छ' ती बैंकरले भने, 'बैंकहरुले अब सावधानी अपनाउने बेला भइसकेको छ।'
राष्ट्र बैंकका अनुसार अधिकांस बैंकको कर्जा-पूँजी-निक्षेप अनुपात (सिसिडी रेसियो) ७८ प्रतिशत हाराहारी पुगिसकेको छ। केही बैंकको ८० प्रतिशत हाराहारीसम्म छ। राष्ट्र बैंकले सिसिडी ८० प्रतिशत नघाउने नहुने ब्यवस्था गरेको छ।
'निक्षेपको स्रोत हेरेर लगानी गर्न हामीले भनिरहेका छौं। कसैले नघाएको देखिएमा हामी कारवाहीमै उत्रिन्छौं' राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, 'अब कुनै पनि हालतमा छुट दिने पक्षमा हामी छैनौं।'
फुलपातिको दुई दिनअघि बैंकहरुको निक्षेप घटेर २५ खर्ब १५ अर्ब रुपैयाँसम्म आइसकेको थियो। भोलीपल्टै ८ अर्बले बढेर २५ खर्ब २३ अर्ब रुपैयाँ पुगेको हो।
'आफूसँग भएको पैसा साथमा किन राख्ने बैंकमै जम्मा गर्छु भनेर पनि बढेको हुनसक्छ' राष्ट्र बैंकका ती अधिकारीले भने, 'अब बिदा हुन्छ रेमिटेन्स परिवारले पाउँदैनन् भनेर त्यस दिन धेरै पैसा विदेशबाट आएको पनि हुनसक्छ। हामी हेरिरहेका छौं।'