आँखु खोला हाइड्रोपावरको आइपिओमा दुर्इ दिनमै दोब्बर आवेदन, लगानी फिर्ताका लागि ९ बर्ष लाग्ने

बिजमाण्डू
२०७५ असोज २५ गते ०८:५४ | Oct 11, 2018
आँखु खोला हाइड्रोपावरको आइपिओमा दुर्इ दिनमै दोब्बर आवेदन, लगानी फिर्ताका लागि ९ बर्ष लाग्ने

काठमाडौं। आँखुखोला जलविद्युत कम्पनीले निष्काशन गरेको आइपिओमा बुधबार साँझसम्ममा झण्डै दोब्बरको आवेदन परेको छ। मंगलबारदेखि निष्काशन गरेको प्राथमिक शेयरमा बुधबारसम्ममा २८ लाख २० हजार कित्ताको लागि आवेदन परेको हो। 

Tata
GBIME
Nepal Life

कम्पनीले सर्वसाधारणको लागि १३ लाख ७६ हजार २० कित्ता आइपिओ निष्काशन गरेको छ। कम्पनीले शुक्रवारसम्मको लागि सार्वजनिक निष्काशन गर्नेछ। 

कम्पनीले गत साउनमा स्थानीय प्राभावित क्षेत्रको लागि ८ लाख कित्ता निष्काशन गरेको शेयरमध्ये बिक्री नभएको एक लाख ३७ हजार कित्ता पनि सर्वसाधारणको लागि बिक्री गर्न लागेको हो। जम्मा निष्काशन हुने १३ लाख ७६ हजार कित्तामध्ये ६८ हजार ८०१ कित्ता सामुहिक लगानी कोषको लागि र २७ हजार ५२० कित्ता कर्मचारीको लागि सुरक्षित गरेको छ। 

सर्वसाधारणले न्युनतम ५० देखि ६ हजार कित्तासम्मको लागि आवदेन दिन पाउने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक सिभिल क्यापिटलले जनाएको छ। 

जम्मा चुक्ता पूँजी ८० करोड रुपेयाँ रहेको कम्पनीको संस्थापक शेयर पूँजी ८० प्रतिशत अर्थात ६० करोड रुपैयाँ रहेको छ भने बाँकी सर्वसाधाणको रहेको छ। 

२ अर्ब ३६ करोड रुपैयाँको लागत रहेको परियोजनाले ७२ प्रतिशत ऋण र २८ प्रतिशत शेयर पूँजीबाट संकलन गर्ने छ। धादिङको सल्यानकोट र मारपाकमा निर्माण भएको ८.४ मेगावाट क्षमताको आयोजनाको प्रतिमेगावाट लागत २८ करोड १० लाख रुपैयाँ रहेको छ। 

शेयरधनीले न्युनतम एक सय रुपैयाँ उठाउन झण्डै ९ वर्ष कुर्नु पर्ने कम्पनीले जनाएको छ। संझौता अनुसार कम्पनीले २४ वर्षमा आफ्नो परियोजना सरकारलार्इ हस्तान्तरण गर्नु पर्नेछ।