काठमाडौं। अनलाइन सपिङ पोर्टल 'सस्तो डिल डट कम' मा डोल्मा इम्प्याक्ट फण्डले ठूलो मात्रामा लगानी गर्ने भएको छ। सन् २०११ देखि संचालमा रहेको नेपाली अनलाइन पोर्टल सस्तो डिल डट कमलाई डोल्मा इम्प्याक्ट फण्डले लगानी गर्न लागेको सस्तो डिलका संस्थापक अमुन थापाले जानकारी दिए।
तर डोल्मा फण्डले सस्तो डिलमा गर्ने लगानी कति पैसाको हो भन्ने बारे भने गोप्य नै राखिएको छ। डोल्माका सिनियर इन्भेष्टमेन्ट म्यानेजर शब्द ज्ञवालीले सस्तो डट कमले भविष्यमा आफ्नो आकारमा निकै ठूलो फड्को मार्ने बताए। डोल्माले करिव ५ करोड रुपैयाँ लगानी गरेको हो।
‘यदि सस्तो डिलले हाम्रो साथ बिना नै बजारमा पछिल्लो समयमा २३३ प्रतिशत बृद्धि गर्न सक्छ भने भविष्यमा हामीसँगको पुँजी र सम्पर्कले यसको कति वृद्धि होला अनुमान गर्नुस् त!’ उनले भने।
डोल्माले लगानी गर्ने भएपछि सस्तो डिलले आफ्नो प्रोडक्ट क्याटेगोरी बिस्तार गर्नुका साथै तथा आफ्नो समग्र संचालन तथा उपभोक्ता र बिक्रेताहरुसँगको डिललाई झनै मजबुत बनाउन सक्ने बताइएको छ।
कम्पनीले हालैका पछिल्ला तीन महिनामा नै २३३ प्रतिशत बजार बृद्धि गरेको दावी गरेको छ भने यसका लाखौ प्रयोगकर्ता तथा ८ लाख सोसल मिडियामा ८ लाख फलोवर्स रहेको कम्पनीले बिज्ञप्तीमार्फत जनाएको छ।
डोल्मा इम्प्याक्ट फण्ड प्राइभेट इक्विटी फर्म हो जसले प्रविधि, हाइड्रोपावर, स्वास्थ्य क्षेत्र, औषधी तथा कृषि क्षेत्रमा लगानी गरिसकेको छ।
यसले आफ्ना पोर्टफोलियो कम्पनीहरुमार्फत २५ सय भन्दा बढीलाई रोजगारी समेत दिएको छ।
डोल्मा फण्डलाई डच डेभलपमेन्ट बैंक, फिनिस फण्ड फर इन्डस्ट्रियल कोअपरेसन, डेभलपमेन्ट बैंक अफ अस्ट्रिया तथा डच गुड ग्रोथ फण्डले लगानी गरेका छन्। डोल्माको लगानी बाहेक सस्तो डिलमा स्थानीय निजी कम्पनी टेलिभेन्चर्सले पनि लगानी गरेको छ।
डोल्मा फण्डमा हाल नेदरल्याण्ड, फिण्डल्याण्ड र अस्ट्रियाको लगानी रहेको छ। यी तीन मुलुकको सरकारी कोषबाट २० मिलियन डलर बराबरको रकम जम्मा गरिएको छ। यसको न्युनतम पुँजी दुई अर्ब रुपैयाँ हुने छ। यसलाई करिब चार अर्ब रुपैयाँ पुर्याइने छ। फण्डले नवीकरणीय उर्जा, जलविद्युत, कृषि, शिक्षा, स्वास्थ्य र वित्तीय समावेशी जस्ता आयोजनामा लगानी गर्ने छ।