- उमेश पौडेल/ विजमाण्डू
काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले भ्यालु एडेड सर्भिस (भ्यास)का लागि छुट्टै कम्पनी स्थापना गर्ने प्रक्रिया अगाडी बढाएको छ । प्राधिकरणले भ्यास सेवालार्इ नियमन गर्दै कम्पनी स्थापना गर्ने प्रक्रिया अगाडी बढाएको हो ।
दुरसञ्चार सेवा दिने कम्पनीहरुले र सुरक्षा निकायहरुले भ्यास सर्भिस लिनका लागि छुट्टै कम्पनीसँग सिमकार्ड लिनुपर्छ । अब भ्यास सेवा दिने कम्पनीका लागि नियमन गर्न नियमावली ल्याउँदैछौ । यही अन्तर्गत कम्पनी समेत खडा हुनेछ, प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बिजमाण्डूसँग भने, यी सबै सेवाका लागि त्यही कम्पनीमार्फत लाइसेन्स लिएर संचालन हुनुपर्छ ।
टेलिकम्युनिकेसनमार्फत प्रयोग गरेर डेटा, भ्वाइस वा एसएमएसमार्फत दिइने सेवा भ्यासमा पर्छ । कलर रिङव्याकटोन, न्युज अलर्ट, एसएमएस अलर्ट, मिसकल अलर्ट लगायतका यही सेवा अन्तर्गत पर्छ । पेमेन्ट गेटवे चलाउने वा यही सेवा सपोर्ट गर्ने कम्पनीले समेत त्यही कम्पनीमार्फत लाइसेन्स लिनुपर्छ ।
बैंकसँग सम्बन्धित विभिन्न जानकारीमुलक सामाग्रीहरु, मिसकल अलर्ट, टेलिकम कम्पनीहरुले दिने कुनै सेवाको प्याकेज, विभिन्न किसिमका विज्ञापनहरु, न्युज अलर्ट यो सेवा भित्र पर्छ ।यो सेवामा फाइनान्सियल ट्रान्जेक्सनदेखि लिएर विभिन्न स्किम गाडी, जमिन, मानिसहरु, विभिन्न किसिमका जनावरहरु आदि ट्याकिङ सिस्टमभित्र पर्छ ।
प्राधिकरणका अनुसार जिपिएस आधारित ट्रयाकिङको काम गर्ने कम्पनीले पनि लाइसेन्स लिनुपर्छ । यसअघि मन्त्रालयको सिफारिसमा प्राधिकरणले ट्याकिङ डिभाइस आयात गर्नकालागि विभिन्न कम्पनीहरुलाई अनुपति दिने गरेको थियो। तर यो कार्यविधि आएपछि प्राधिकरणवाट लाइसेन्स लिएर मात्र जिपिएस ट्याकिङ डिभाइसहरु ल्याउन मिल्नेछ।
सुरक्षा निकायहरु र सञ्चार मन्त्रालयलगायतका विभिन्न संस्थाले प्रयोग गरिरहेको ट्याकिङ सिस्टम मिलाउनका लागि तत्काल नियम ल्याउनुपरेको उनले बताए । यो सेवा लिन बैंकको जस्तै केवाइसी फर्म भर्नुपर्ने प्राधिकरणले जनाएको छ ।दुरसञ्चार सेवा प्रदायक कम्पनीहरुले यसअघि आफुखुशी तरिकाले भ्यास सर्भिस बाँडेका थिए। उनीहरुले कुनैपनि सेवा वाँड्नुपूर्व प्राधिकरणलाई नसोधी काम गरिरहेको र यसलाई व्यवस्थित गर्नका लागि नियमन ल्याउन लागिएको हो ।