सबैभन्दा ठूलो फोटो प्रतियोगिता घोषणा, सुरु भयो दर्ता प्रक्रिया, फोटो अफ दि इयरलाई एक लाख

बिजमाण्डू
२०७३ असार १६ गते ००:०० | Jun 30, 2016
सबैभन्दा ठूलो फोटो प्रतियोगिता घोषणा, सुरु भयो दर्ता प्रक्रिया, फोटो अफ दि इयरलाई एक लाख
काठमाडौं । फोटो पत्रकारहरुको छाता संगठन फोटो पत्रकार (पिजे) क्लब नेपाल ले आइएमई ग्लोबल आइएमई बैंक नेपाल फोटो प्रतियोगिता तथा प्रदर्शनीको पाँचौं संस्करणको घोषणा गरेको छ ।
 
पिजे क्लब नेपालले बुधबार प्रतियोगिता तथा प्रदर्शनीको घोषणा गरेको हो । विनासकारी भुकम्पबाट सिर्जित पीडादायी अवस्थाका कारण गतवर्ष स्थगित प्रतियोगिता र प्रदर्शनीलाई यो वर्षबाट पुनः निरन्तरता दिइन लागेको पिजे क्लबले जनाएको छ । 
विभिन्न सात विधामा प्रतिस्पर्धा गराइने प्रतियोगिताका लागि बुधबारबाटै फोटो दर्ता प्रक्रिया सुरु भएको छ । क्लबको आधिकारिक वेभसाइट www.pjclub.com.np मा गएर दिइएको गाइडलाइन अनुसार फोटो दर्ता गर्न सकिने क्लबले बताएको छ । 
 
प्रतियोगितामा व्यावसायिक, शौखिन सबैखाले फोटोग्राफर तथा फोटो पत्रकारले सहभागिता जनाउन पाउनेछन् । प्रतियोगितामा विदेशी नागरिक तथा पिजे क्लबको कार्यसमिति सदस्यले भने सहभागिता जनाउन नपाउने नियम बनाइएको छ ।
 
बुधबारबाटै सुरु भएको दर्ता प्रक्रिया असार मसान्तको मध्यरातमा १२ बजे वन्द हुनेछ भने साउन १२ मा पिजे क्लबले एक कार्यक्रमका बीच सबै सात विधाका विजेताको घोषणा गर्ने जानकारी गराएको छ । यसैगरी भदौ १५ गते विजेतालाई पुरस्कृत गरिनेछ भने त्यही दिनबाट बबरमहलको नेपाल आर्ट काउन्सिलमा सात विधाका १ सय ६० भन्दा बढि उत्कृष्ट फोटोहरुलाई प्रदर्शनीमा राखिने जानकारी क्लबले दिएको छ । 
 
काठमाडौंमा सात दिनको फोटो प्रदर्शनी गरेपछि मोफसलका पाँच स्थानमा पनि प्रदर्शनी गरिने पिजे क्लबका अध्यक्ष विकास कार्कीले जानकारी गराएका छन् । उनका अनुसार विराटनगर, धनगढी, नेपालगञ्ज, भैरहवा, पोखरा र चितवनको सौराहामा तीन दिनका दरले प्रदर्शनी गरिनेछ । 
 
प्रतियोगितामा यसपाली १ हजार ५ सय भन्दा बढि फोटोग्राफरका १३ हजारभन्दा बढि फोटोको सहभागिता रहने आयोजकको अपेक्षा छ । दुई वर्षअघि सम्पन्न अघिल्लो संस्करणमा १ हजारभन्दा बढि फोटोग्राफरका ९ हजार फोटो सहभागि थिए । प्रदर्शनीलाई १ लाखभन्दा बढि जिज्ञासुले अवलोकन गरेको पिजे क्लबले बताएको छ । 
 
आइएमई र ग्वोबल आइएमई बैंकको मुख्य प्रायोजन तथा मोडल ग्लोबल भिसा कन्सल्टेन्सीको सहकार्यमा हुन लागेको प्रतियोगितामा घुमफिर कल्चर एन्ड टुरिजम, नेपाल टेलिकम वाइल्ड लाइफ एन्ड नेचर, आइएमएस डेली लाइफ, अर्घाखाची सिमेन्ट न्यूज फोटो, शिखर इन्स्योरेन्स नेपाल स्माइल, मोडल ग्लोबल भिसा कन्सलटेन्सी स्पोर्टस र फोटो स्टोरी गरी सात विधामा प्रतिस्पर्धा हुनेछन् ।

Tata
GBIME
Nepal Life

अर्घाखाची सिमेन्ट न्युज फोटो विधामा २०७१  सालदेखि २०७२ चैत्र मसान्तसम्म खिचिएका तस्विरले मात्रै प्रतिस्पर्धा गर्न पाउनेछन् । अन्य विधामा जहिलेसुकै खिचिएका तस्विरहरू पठाउन सकिने छ । अन्य कुनै प्रतियोगितामा मुख्य विजेता भइसकेका र यही प्रतियोगिताको अघिल्ला संस्करणका विजेता फोटोलाई सहभागि गराउन पाइने छैन ।

५ लाख २० हजार रुपैयाँ कुल पुरस्कार रहेको प्रतियोगिताको मुख्य विधा आइएमई ग्लोबल आइएमई बैंक फोटो अफ दी एयरको विजेताले १ लाख रुपैयाँ पाउनेछ भने अन्य सबै सात विधाका विजेताले जनही ३० हजार, उपविजेताले जनही २० हजार तथा तेस्रो हुनेले १० हजार रुपैयाँ पाउने बुधबार घोषणा कार्यक्रममा जानकारी गराइयो । 
 

मुख्य प्रायोजक आइएमई समुहका अध्यक्ष चन्द्र ढकालले फोटो प्रतियोगिता र प्रदर्शनीलाई प्रायोजन निरन्तरता दिइने वचन दिए । ‘पत्रकारिता र दैनिक जीवनमा फोटोको महत्व विशेष छ । यो वर्ष हाम्रो पुरानो सम्झौताको अन्तिम वर्ष हो । तर पनि हामी यो कार्यक्रमसँगको सहकार्यलाई आगामी वर्षहरुमा निरन्तरता दिनेछौं,’ ढकालले भने, ‘नेपालकै गौरवका रुपमा स्थापित हुँदै गएको यो प्रतियोगिता र प्रदर्शनीमा सफलताका लागि हामी क्यामेरा चलाउने सबैलाई सुभकामना दिन चाहन्छौं ।’