काठमाडौं। दुग्ध विकास संस्थानले विभिन्न पदमा ७४ जना कर्मचारी मागेको छ। संस्थानले अधिकृतस्तरका १६ र सहायकस्तरमा ५८ जना कर्मचारी मागेको हो।
संस्थानले प्रशासन र प्राविधिक दुवैतर्फ कर्मचारी माग गरेको छ। संस्थानका अनुसार अधिकृत स्तरमा तीनजना टेक्निकल अफिसर,पाँच जना डेरी टेक्नोलोजिस्ट, एकजान अर्थविज्ञ, चारजना सहायक लेखा अधिकृत र तीन जना शाखा अधिकृत माग गरेको हो।
सहायक स्तरमा ६ जना बरिष्ठ प्रशासन सहायक, चारजना लेखापाल, एक जना वरिष्ठ कम्प्युटर अपरेटर, चारजना सुपरभाइजर र दुईजना सिनियर चिजमेकर माग गरेको छ।
त्यस्तै आठ जना टेक्निकल असिस्टेन्ट, दुइजना फोरमेन, एकजना चिज मेकर, तीनजना जुनियर टेक्निकल असिस्टेन्ट, एकजना कम्प्युटर अपरेटर, दुइजना लेखापाल,चार जना प्रशासन सहायक र २० जना डेरी सहायक कर्मचारीको विज्ञापन गरेको हो ।
संस्थानले सवै कर्मचारी खुल्ला प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्ने जनाएको छ।
अधिकृतस्तरका लागि प्राविधिक तहमा डेरी टेक्नोलोजी वा डेरी साइन्समा स्नातक उत्तीण गरेको हुनुपर्नेछ भने प्रशासनिक तहका लागि वाणिज्यशास्त्र, अर्थशास्त्र वा व्यापारमा स्नातकोत्तर गरेको हुनपर्ने संस्थानले जनाएको छ। त्यस्तै सहायकस्तरका तहविहिनका लागि सहायक लेखपढ गर्न जान्नेदेखि विभिन्न विषयमा प्रविणता प्रमाणपत्र उत्र्तीण गरेको हुनुपर्ने दुग्ध विकास संस्थानले जनाएको छ।
संस्थानले चैत्र २९ गतेसम्म फर्म भर्ने म्याद तोकेको छ भने दोब्वर दस्तुर तिरेर २०७३ साल बैशाख ६ गतेसम्म फर्म भर्न सकिने जनाएको छ।
फर्म भर्नका लागि अधिकृतस्तरका लागि एकहजार रुपैयाँ र सहायकस्तरका लागि पाँचसय रुपैया लाग्नेछ भने चैत्र २९ गतेभन्दा ढिला फर्म भरेमा तोकिएको भन्दा दाब्वर शुल्क लाग्नेछ।
अधिकृतस्तरका लागि २१ वर्षदेखि ३५ वर्ष ननाघेको र सहायकस्तरका लागि १८ बर्षदेखि ३५ वर्ष ननाघेको हुनुपर्नेछ । फर्म भर्न दुग्ध विकास संस्थानको वेव साइटमा गएर डाउनलोड गर्न सकिनेछ।
अर्थमन्त्रालयले प्रकाशित गरेको पछिल्लो तथ्यांक अनुसार दुग्ध विकास संस्थान १५ करोड ५८ लाख नाफामा रहेको छ। हाल संस्थानमा ९ सय ६६ जना स्थायी कर्मचारी, करारमा दुई र अन्य एकसय ४५ गरि जम्मा ११ सय १३ जना कर्मचारी कार्यरत रहेका छन्।