साउदी अरबमा बिचल्लीमा परेका तीनसय नेपालीलाई खाद्यान्न सहयोग, विभिन्न संस्थाले गरे हस्तान्तरण

बिजमाण्डू
२०७२ माघ २३ गते ००:०० | Feb 6, 2016

साउदी अरब। साउदी अरबमा बिचल्लीमा परेका नेपाली कामदारको राहतका लागि यहाँ क्रियाशील नेपाली सङ्घ संस्थाले खाद्यान्न सहयोग गरेका छन्।
 
काम गरेको तलब नदिएपछि साद सह्मी अल हजारी कम्पनीमा कार्यरत नेपाली कामदारहरु भोकभोकै बस्नु परेको समाचार सार्वजनिक भएपछि साउदीमा क्रियाशील नेपाली सङ्घ संस्थाले तत्कालको राहतका लागि खाद्यान्न सहयोग गरेका हुन्।
 
साउदीमा क्रियाशील नेपाली संस्था लालीगुराँस युवा परिवारले शुक्रबार दमाममा रहेको यो कम्पनीको क्याम्पमै पुगेर खाद्यान्न सामग्री प्रदान गरेको हो। संस्थाले ८० किलो चामल,१७ किलो दाल,१० किलो आलु,१० किलो प्याज,६ लिटर तेललगायत खाद्यान्न सामग्री सहयोग गरेको हो।
 
विदेशी भूमिमा बिचल्लीमा परेका नेपाली भोकभोकै बस्न नपरोस् भन्ने उद्धेश्यले थोरै मात्रामा भए पनि खाद्यान्न सामग्री सहयोग गरिएको संस्थाका अध्यक्ष टीकाराम रसाईलीले बताए।
           
यस्तै साउदीमै क्रियाशील अर्को नेपाली संस्था तमु धि नेपालले पनि पीडित नेपालीका लागि खाद्य सामग्री प्रदान गरेको छ। संस्थाले पीडित नेपालीका लागि क्याम्पमै पुगेर ४० किलो चामल, १० किलो मासु, ५ किलो दाल, १० किलो प्याज, नुन, तेल, तरकारी, पेय पदार्थलगायत खाद्यान्न प्रदान गरेको संस्थाका उपाध्यक्ष तथा लोकगायक तिलक गुरुङले जानकारी दिए।
 
तलब नपाएर सयौं नेपालीहरु भोकभोकै बस्नुपरेको अवस्थामा यसरी खाद्यान्न सहयोग पाउँदा आफूहरुलाई ठूलो राहत मिलेको स्याङजाका जीवन पौडेलले बताए। चार महिनादेखिको काम गरेको तलब नपाउँदा उक्त कम्पनीमा कार्यरत तीनसय नेपाली बिचल्लीमा परेका हुन्। रासस

Tata
GBIME
Nepal Life