देशमै रासायनिक मल उत्पादन गर्न सकिन्छ? ७० अर्ब रुपैयाँ लाग्ने, तीन सय मेगावाट विजुली चाहिने




काठमाडौँ । लगानी बोर्डले रासायनिक मल उद्योग काराखाना स्थापना सम्भाव्यता अध्ययन प्रतिवेदन खासै उत्कृष्ट नरहेको प्रारम्भिक चरणमा ठहर गरको छ ।
 


भारतको डेभलपमेन्ट कर्पोरेशन (कर्नाटक) लिमिटेडले ढल्केवरमा सो कारखाना स्थापना गर्न विस्तृत अध्ययन गरी बोर्डसमक्ष हालै प्रतिवेदन बुझाएको थियो । प्रस्तुत प्रतिवेदनमा प्रतिवर्ष सात लाख मेट्रिक टन मल उत्पादन गर्न सक्ने गरी सो क्षेत्रमा एक सय ६२ हेक्टर जग्गामा कारखाना स्थापना गर्न सकिने उल्लेख छ ।  
 
व्यवस्थापिका–संसद, कृषि तथा जलस्रोत समितिको आजको बैठकमा बोर्डका कार्यकारी निर्देशक महाप्रसाद अधिकारीले सो जानकारी गराउँदै  प्रारम्भिक अध्ययनमा प्रतिवेदन उत्कृष्ट नठहरिएको बताए ।

उनका अनुसार प्रतिवेदनले कारखाना स्थापनाका लागि रु ७० अर्ब लाग्ने र यसका लागि करिब तीन सय मेगावाट ऊर्जाको आवश्यकता पर्ने उल्लेख छ । कार्यकारी निर्देशक अधिकारीले प्रतिवेदनमा  बोर्डले विस्तृत अध्ययन गरी सरकारलाई सुझाव दिने बैठकमा जानकारी दिए। 
 
उनले हालसम्म पश्चिम सेती (७५० मेगावाट), अरुण ३ (९०० मेगावाट), माथिल्लो कर्णाली (९०० मेगावाट) जस्ता जलविद्युत् आयोजनाका कार्यान्वयनस्थिति र प्रगतिबारे बैठकमा जानकारी दिए।
 
सुर्खेत, दैलेख र अछाम जिल्लामा आयोजना क्षेत्र रहेको माथिल्लो कर्णाली जलविद्युत् आयोजनालाई आवश्यक पर्ने जग्गा अधिग्रहण हुन लागेको छ । सो आयोजनाको लागत रु एक खर्ब १५ अर्बको छ । 
 
यसैगरी सङ्खुवासभामा आयोजनास्थल रहेको अरुण ३ का लागि जग्गा अधिग्रहणको कार्य जारी छ । सो आयोजनाको लागत रु ६७ अर्ब छ भने डोटी, डडेलधुरा, बझाङ र बैतडी आयोजनास्थल रहेको पश्चिम सेती कार्यान्वयन चरणमा छ । 
 
बैठकमा सांसद लक्ष्मीप्रसाद पोखरेलले सरकारले आयोजना कार्यान्वयनका क्रममा निजी जग्गालाई दिने मुआब्जा समान रुपमा वितरण गर्न आग्रह गरे।
 
अर्का सांसद डिल्लीप्रसाद काफ्लेले कलकारखाना स्थापना गर्न सरकारले पहिलो प्राथमिकता दिन र सम्भाव्यता प्रतिवेदनलाई थप अध्ययन गर्न सुझाव दिए। सांसद अमृतकुमार बोहराले ठूला जलविद्युत् आयोजनालाई निर्धारित समयभित्र पूरा गर्न सरकारले अनुगमनलाई ध्यान दिनुपर्ने बताए। 
 

Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell