राइड सेयरिङ पठाओको ठगी, ‘सर्ज चार्ज’का नाममा यात्रुबाट ४०% सम्म अतिरिक्त भाडा उठाउँदै

बिजमाण्डू
२०७८ मंसिर २० गते १९:०५ | Dec 6, 2021
राइड सेयरिङ पठाओको ठगी, ‘सर्ज चार्ज’का नाममा यात्रुबाट ४०% सम्म अतिरिक्त भाडा उठाउँदै

काठमाडौं। राइड सेयरिङ कम्पनी पठाओले विभिन्न बहानामा  सेवाग्राहीलाइ चर्को शुल्कको भारी बोकाउने गरेको छ। बिहान र बेलुकी 'पिक आवर'मा पठाओले 'सर्ज चार्ज' भन्दै ४० प्रतिशतसम्म अतिरिक्त शुल्क लिन थालेको छ।

Tata
GBIME
Nepal Life

सर्ज चार्ज भन्नाले कुनै ठाउँमा यात्रुको चाप धेरै भएपछि बढी भाडा कायम गर्नु र त्यसतर्फ राइडरलाई लोभ्याउनु हो। माग र आपूर्तिलाई मिलाउन सर्ज चार्ज लगाउने गरिएको पठाओका कन्ट्री डाइरेक्टर असीममान सिंह बस्नेतले बताए। उनका अनुसार कुनै ठाउँमा २५ जना यात्रुले पठाओ सेवा लिन खोज्छन् तर त्यहाँ १० जना मात्रै राइडर उपलब्ध हुन सक्छन्।

त्यस्तो ठाउँमा पठाओको सिस्टम आफैंले सर्ज चार्ज लगाएर राइडरलाई त्यसतर्फ जान आकर्षित गर्छ। 'दरबारमार्गमा माग धेरै छ। त्यहाँ जाँदा २५/३५ रुपैया बढी आउँछ भने ठमेलतिरका राइडर जान सक्ने भए। जसले माग र आपूर्तिलाई मिलाउँछौं,' उनले भने, 'अहिले सर्ज चार्जको विषय उठे पनि हामीले २०१८ मा सेवा सुरु गर्दादेखि नै लगाउदै आएका छौ।' दसैंपछि विभिन्न पार्टीका महाधिवेशन र अन्य कारणले राइडरहरु कम हुँदा सर्ज चार्ज बढ्न थालेको उनको भनाइ छ।

नेपालमा भरपर्दो सार्वजनिक सवारी साधन छैन। उपत्यकामा सार्वजनिक यातायातको यात्रा सकसपूर्ण हुन्छ। भनेको ठाउँ जान नमान्ने र बार्गेनिङ गर्ने ट्याक्सीको विकल्पको रूपमा पछिल्लो समय लोकप्रिय बनेको राइड शेयरिङ पठाओले पनि यात्रु ठग्न थालेको छ। विभिन्न बहानामा एउटै गन्तव्यका लागि ४० प्रतिशतसम्म बढी शुल्क लिन थालेको छ।

बस्नेतका अनुसार पठाओले क्वेष्ट,बुष्ट र सर्ज चार्ज गरी तीन किसिमले राइडरको कमाइलाइ जोड्छ। क्वेष्ट अनुसार दिएको टार्गेट मिट गर्ने चालकलाइ पठाओले बोनस दिन्छ। जसका कारण राइडरलाई धेरैभन्दा धेरै सेवाग्राहीलाई सेवा दिन खोज्छ। बोनस पाउने निहुँमा हतारमा राइडरहरुले सवारी साधन चलाउदा दुर्घटनाको जोखिम बढेको छ।

अहिले राइडरसँग प्रत्येक ट्रिपको २० प्रतिशत सेवा शुल्क लिने गरेको छ। बुष्टमा अवस्था हेरेर कहिलेकाही केही प्रतिशत रकम घटाइदिन्छ। जसका कारण चालकको आम्दानी बढ्छ। सर्ज चार्ज अनुसार सिस्टमले बढाएको आधारमा २० प्रतिशतसम्म अतिरिक्त शुल्क लिन पाइन्छ। माग कम हुँदै गएपछि सर्ज चार्ज घट्दै जाने दाबी गरिएको छ।

'पठाओले अतिरिक्त ४० प्रतिशतसम्म शुल्क लिने गरेको भनेर हल्ला भएको छ। त्यस्तो होइन हामीले राइडरलाई २० प्रतिशत छुट दिने हो भने सेवाग्राहीसँग २० प्रतिशत लिने हो। ४० प्रतिशत नै सेवाग्राहीसँग लिने हुँदै होइन,' बस्नेतले भने। 

'भाडादर प्रति किमि डेढ रुपैयाँ बढ्यो'
पठाओले डेढ रुपैया भाडादर बढाएर प्रतिकिमि कारलाइट ३९ रुपैयाँ र दुई पाङग्रेको १७ रुपैयाँ पुर्‍याएको छ। कारलाइटको बेस फेयर १२५ रुपैयाँ तोकिएको छ। त्यसमा प्रत्येक मिनेट १ रुपैयाँ चार्ज लाग्छ।

दुई पांग्रेको ३० रुपैयाँ बेस फेयर तोकिएको छ। 'हामीले तेल लिटरको ९७ रुपैयाँ हुदा सेवा सुरु गरेका हौं। अहिले १३६ रुपैयाँ पुगिसक्यो। सरकारले पनि २८ प्रतिशतसम्म गाडीभाडा बढाएको छ। हामीले त एक/डेढ रुपैयाँ मात्र बढाएका हौं। सरकारले बढाए जसरी बढाएका छैनौं,' उनले भने।

पठाओसँग अहिले करिब १५ हजार फुल टाइम चालक छन्। पार्ट टाइमसमेत गरी करिब ३० हजार छन्। पठाओको प्रयोगकर्ता करिब १० लाख रहेको दाबी गरिएको छ।

अफलाइन पठाओ चोक चोकमा 
अहिले राजधानीको चोक चोकमा अफलाइन पठाओ भेटिने गरेका छन्। अफलाइन बसेका उनीहरु 'पठाओ चाहिएको हो ?' भन्दै आफैं सोध्छन। एपमा रिक्वेष्ट गर्दा लाग्ने भन्दा कम पैसामा लैजाने लोभ देखाउछन्। राइडरले प्रत्येक राइडिङपिच्छे २० प्रतिशत अतिरिक्त शुल्क बुझाउनुपर्छ। १० प्रतिशत घटाएर लिने गरि बार्गेनिङ गर्ने गरेका छन्। 

बस्नेतका अनुसार अफलाइन पठाओले ठगेको भन्दै धेरै उजुरीहरु समेत आएका छन्। तर प्रशासनमा उजुरी गर्दा एपका आधारमा मात्रै संचालन गर्न पाइने नियम बने मात्रै कारबाही गर्न सक्ने प्रतिक्रिया पाएको बताए। 'एकथरीले एक्सेप्ट गर्ने र यात्रुलाइ भेटेपछि राइडिङ क्यान्सिल गर्न लगाउने रहेछन्। त्यसपछि लैजाने रहेछन्। हामीले त्यो राइड सिस्टममा देख्दैनौ', बस्नेतले भने, 'अफलाइनमा हिड्ने,यात्रुलाइ दुर्व्यवहार गर्ने सयौं राइडरलाई निष्कासित गरेका छौं। उनीहरु अहिले चोक चोकमा पठाओ पठाओ भनेर बसेका छन्।'

पठाओको नाम दुरुपयोग भइरहेको उनको गुनासो छ।

ट्याक्सी सेवामा ठगिएका यात्रुको विकल्प बनेको पठाओ सार्वजनिक यातायातमा दर्ता नै छैन्। अन्तर्राष्ट्रिय प्रावधान देखाउदै चलाएको भए पनि सवारी तथा यातायात व्यवस्था ऐन २०४९  ले चिन्दैन। ऐन अनुसार एउटा प्रयोजनका लागि खरिद गरिएको सवारीसाधन अर्को प्रयोजनमा लगाउन पाइदैन।