उत्पादन बिक्री नभएपछि उद्योगले धमाधम मजदुर कटौती गर्दै, मोरङका उद्योगले ५०% सम्म मजदुर निकाले

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७७ भदौ २५ गते १४:५४ | Sep 10, 2020
उत्पादन बिक्री नभएपछि उद्योगले धमाधम मजदुर कटौती गर्दै, मोरङका उद्योगले ५०% सम्म मजदुर निकाले

Tata
GBIME
Nepal Life

विराटनगर।  कोरोना संक्रमणसँगै उद्योग व्यवसाय चौपट छ। उत्पादित सामानको बिक्री नै हुन छाडेको छ। माग नै कम भएपछि अधिकांश उद्योगले उत्पादन २५ प्रतिशतमा झारेका छन्।

महामारीमा खाद्यान्न बाहेकका उद्योग प्रभावित छन्। उत्पादित वस्तुको माग पुरानै अवस्थामा फर्किने निश्चितता नभएपछि उद्योगले धमाधम मजदुर कटौती गर्न थालेका छन्। सुनसरी–मोरङ औद्योगिक क्षेत्रका निर्माण सामग्री उत्पादन गर्ने उद्योगले उत्पादन र मजदुर धमाधम कटौती गर्न थालेका छन्।

देशभरि भइरहेको लकडाउन र निषेधाज्ञाका कारण बिक्रीमा कमी आएपछि उद्योगले मजदुर कटौती गर्न थालेका हुन्। मोरङ व्यापार संघका पूर्व अध्यक्ष एवं प्रिमियर वायरका सञ्चालक पवनकुमार शारडाले उद्योगले यही हप्ता ३० प्रतिशत मजदुर कटौती गरेको बताए।
‘यस्तै स्थिति विद्यमान भए अर्को हप्ता थप कटौती गर्न बाध्य हुनुपर्नेछ,’ उद्योगी शारडाले भने, ‘भदौ महिनादेखि सरकारका टेन्डरहरू धमाधम निस्कन थाल्थे र निर्माण सामग्रीको आपूर्तिका लागि उत्पादन गर्नुपर्थ्यो। तर यो वर्ष भदौ सकिन लाग्दा पनि एउटै टेन्डर निस्किएको छैन।’

शारडाले उत्पादित सामग्री बिक्री नभएर गोदाम भरिएको र बाँकी उत्पादन राख्ने ठाउँ नभएको स्पष्ट पार्दै बिक्री हुने मुख्य ठाउँ काठमाडौंकै बजार शिथिल हुँदा उत्पादन र मजदुर कटौती गर्नुपरेको बताए। ‘व्यवसायीले दिएको नगद बैंकले बुझ्न मान्दैन, सरकारले बैंकलाई नगद नबुझ्न उर्दी गरेको छ,’ उनले भने, ‘यसले गर्दा धेरै बिक्रेताको बैंक खाता रित्तो छ। अर्कातिर बैंकमार्फत् नै भुक्तानी गर्नुपर्ने बाध्यकारी सरकारी नियम छ। यस्तो अवस्थामा हामीले विक्रेता र डिलरबाट पाउनुपर्ने ठूलो रकम बाँकी छ।’

पायोनियर वायर्स प्रालिका सञ्चालक एवं मोरङ व्यापार संघका सचिव अनिल शारडाले पनि आफ्नो उद्योगले ३० प्रतिशत मजदुर कटौती गरेको बताएका छन्। ‘कुनै बेला चौबिसै घण्टा चल्ने उद्योग अहिले १२ घण्टामा सीमित भएको छ,’ उनले भने, ‘साँझ ६ बजेपछिको सिफ्ट पूरै बन्द गरेका छौं।’

हुलास वायर इन्डस्ट्रिजका महाप्रबन्धक मुकेश कोठारीले फलामे तार, तारजाली र डन्डी लगायत उद्योगका सबै उत्पादनको बिक्री घटेको हुँदा ४० प्रतिशत मजदुर कटौती गरिएको जनाए। ‘उत्पादित वस्तुको नयाँ माग र बाँकी रहेको पुरानो पैसा दुवै बजारबाट आउन छाडेको छ,’ कोठारीको भनाइ थियो, ‘अहिले निर्यात पनि घटेको छ। त्यसैले उत्पादन र मजदुर कटौती गर्न बाध्य हुनुपरेको हो। हामी अहिले स्थायी कामदार मात्र राखेर काम गरिरहेका छौं। अस्थायी र दैनिक ज्यालादारीलाई विदा दिएका छौं।’

महालक्ष्मी केबलका सञ्चालक गिरीश लुनियाँले उद्योगले ५० प्रतिशत मजदुरलाई तत्कालका लागि बिदा दिएको बताए। उनले भने ‘दैनिक १६ घण्टा चल्ने उद्योग अहिले ८ घण्टामा आएर खुम्चिएको छ।’