लकडाउनपछि मदिरा र चुरोटको व्यापार ६० प्रतिशत घट्यो, राजस्व संकलनमा पनि असर

बिजमाण्डू
२०७७ साउन २९ गते ०९:०४ | Aug 13, 2020
लकडाउनपछि मदिरा र चुरोटको व्यापार ६० प्रतिशत घट्यो, राजस्व संकलनमा पनि असर


काठमाडौं। कोभिड-१९ प्रकोप नियन्त्रणका लागि साढे चार महिनाअघि लगाइएको लकडाउनसँगै मदिरा व्यवसाय ओरालो लागेको छ। होटल, रेस्टुरेन्ट लगायतका व्यवसायहरु नियमितरूपमा सञ्चालन हुन नसकेपछि मदिराजन्य उत्पादनका साथै चुरोटको समेत व्यवसाय खस्किएको हो।

Tata
GBIME
Nepal Life

सम्बन्धित व्यवसायीहरुका अनुसार, मदिरा व्यवसाय अहिले कोभिड अघिको तुलनामा ६० देखि ८० प्रतिशतसम्म खस्किएको छ। यसमा पनि अझ विशेषगरी गर्मीको सिजनमा अत्यधिक बिक्री हुने बियरको व्यवसायमा ठूलो मार परेको छ।

मदिरा र चुरोटको कारोबार प्रभावित भएको तथ्य सरकारले असुल गर्ने अन्त:शुल्कमा समेत देखिन थालेको छ। चालु आर्थिक वर्षमा सरकारले अन्तःशुल्कबाट ९५ अर्ब ७८ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। जसमा वर्षको पहिलो महिनामा ४ अर्ब ६५ करोड रुपैयाँ मात्र जम्मा भएको विभागले जनाएको छ, जुन यो वर्षको अन्तःशुल्क लक्ष्यको ४.८५ प्रतिशत मात्र हो।

बजार माग न्यून रहनुका साथै कोरोना संक्रमणको दर पुनः बढ्न थालेपछि २० दिनअघिबाटै उद्योग बन्द गरेको मदिरा उद्योगी रवि केसीले बताए। उनले भने, 'अहिले चुरोट र मदिराको व्यापार निकै कम छ। कोभिडले व्यवसायमा असर परेपछि यतिबेला हाम्रो मातहतका सबै उद्योग बन्द गरेका छौं।' 

केसी यति डिष्टिलरी, याक ब्रुअरी लगायतका मदिरा उत्पादक कम्पनीको संचालकका साथै सूर्य नेपालका सिनियर भाइस प्रेसिडेन्ट हुन्। यति डिष्टलरीले ओल्ड दरबार ह्विस्की र ८८४८ भोड्का लगायत ब्राण्डका मदिरा उत्पादन गर्छ भने याक ब्रुअरीले 'बाह्रसिंगे' ब्रान्डको बियर उत्पादन गर्छ। 

याक ब्रुअरीले १४ महिनाअघिबाट कुरिनटारमा उद्योग राखेर बियर उत्पादन गर्दै आएको छ। यस्तै, सूर्य नेपालसँग नेपालको चुरोट बजारको ९० प्रतिशतभन्दा बढी हिस्सा छ। अन्त:शुल्कवापत सरकारलाई हुने आम्दानीमा सूर्य नेपाल एक्लैको १० प्रतिशत हिस्सा छ। 

कोरोनाको संक्रमण बढ्दै गर्दा कर्मचारी व्यवस्थापन र स्वास्थ्य सुरक्षा जोखिमका कारण सूर्य नेपाल बन्द गर्नु परेको केसीको भनाइ छ। कोरोनाकै कारण ढुवानीका सवारी साधन आवत-जावतमा समेत असहज हुन थालेपछि उद्योगमा काम गर्ने अधिकांश कर्मचारी अहिले आआफ्नो घर फर्किसकेको उनले बताए।  

जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजका सीइओ सशिन जोशीले कोभिडका कारण मदिराको व्यवसाय ४० प्रतिशतले घटेको बताए। होटल, रेस्टुरेन्ट नखुल्दा मदिराको व्यापार खस्किएको छ। सरकारले यातायात र अन्य गतिविधि फेरि कसिलो बनाउँदा व्यवसाय झन् घट्ने उनी बताउँछन्। उनले भने, 'एकातिर व्यवसाय घट्ने र अर्कोतिर कर्मचारी व्यवस्थापनमा समस्या हुँदा अहिले प्रायः मदिरा उद्योगहरु बन्द हुन थालेको छ।' 

स्टक सकिँदै गएपछि विस्तारै उद्योग खुल्ने उनले बताए। विशेषगरी बियरको मुख्य सिजनमा लकडाउन भएका कारण यसको व्यापार धेरै प्रभावित छ। जोशीका अनुसार, बियरको वर्षभरिको व्यवसायको ठूलो हिस्सा नै चैतदेखि असारसम्मको चार महिनामा हुन्छ। 

नेपालको मदिरा बजारको प्रमुख प्लेयरमध्येको यस समुहअन्तर्गत हिमालयन ब्रुअरी, विजय ब्रुअरी, राज ब्रुअरी, एशियन ब्रुअरी लगायत ६ वटा मदिरा उत्पादन कम्पनी छन्। यी कम्पनीले रुस्लान भोड्‍का, गोल्डेन ओक, ब्ल्याक ओक, हिमालयन ब्रान्डी, हिमालयन ऐला, माउन्टेन आइस बियर, नमस्ते बियर, वार्सटाइनर बियर, फोस्टर बियर लगायत डेढ दर्जन ब्रान्डमा विभिन्न प्रकारका मदिरा उत्पादन गर्दै आएको छ।

नेपाली बियर बजारको मार्केट लिडर गोर्खा ब्रुअरीका उत्पादनहरुको पनि व्यापार कोभिड संक्रमण सुरु भएयता कम हुन थालेको कम्पनीका बजार तथा बिक्री विभागका एक कर्मचारीले बताए। उनका अनुसार सिजन भएर पनि यतिबेला बियरको व्यवसाय घटिरहेको छ। 

'लकडाउनले सबै मानिसको आय घटेकाले फुड चेनको अन्तिममा पर्ने मदिराको व्यवसायमा कमी आउनु स्वभाविक हो,' उनले भने, 'मल्टिनेशनल कम्पनी भएकाले पूर्णरूपमा स्वास्थ्यको प्रोटोकल पालना गरी उद्योगमा काम भइरहेको छ। यो कम्पनीले टुबोर्ग, काल्सबर्ग, सानमिगेल र गोर्खा लगायतका बियर उत्पादन गर्दै आएको छ। 

मदिरा व्यवसायमा मन्दीको असर राजस्वसम्म
कोरोनाका कारण मदिरा र चुरोटको व्यापार प्रभावित भएपछि यसको असर सरकारको राजस्व संकलनमा पनि परेको आन्तरिक राजस्व विभागले बताएको छ। खासगरी अन्तःशुल्कमा यसको प्रभावको नतिजा अहिले नै देखिएको छ। 

व्यवसायीहरुले उद्योगबाट तुलनात्मक रूपमा मदिरा तथा चुरोट अहिले बजारमा कम परिमाणमा बजारमा पठाएकाले अन्तःशुल्क संकलनमा कमी आएको विभागको बुझाइ छ। विभागका एक कर्मचारी भन्छन्, 'अन्तःशुल्क अन्तर्गतका उद्योगीहरुले सामाग्री कम मात्रामा बजारमा पठाएका छन्, जुन बजार मागमै निर्भर गर्ने कुरा हो। तर यसबाट मदिराको बजार खस्किएको अनुमान लगाउन सकिन्छ।' 

मदिरामा मन्दीले अन्तःशुल्कमा असर गरेको भए पनि आन्तरिक बजारमा चहलपल बढ्दा मूल्य अभिवृद्धि कर (भ्याट) संकलनमा भने सुधार देखिएको छ। यसमा ठूला करदाताहरुको पनि भूमिका छ।

ठूला करदाताहरुले २५ साउनभित्रै कर दाखिदा गरिदिँदा चालु वर्षको पहिलो महिनाको लक्ष्यको ८७ प्रतिशतभन्दा बढी उक्त दिनभित्रै उठेको छ। सरकारले यस महिना भ्याटवापत १३ अर्ब राजस्व संकलनको लक्ष्य लिएकोमा ११ अर्ब ३४ करोड संकलन भइसकेको हो। 

एनसेल, गोर्खा ब्रुअरी, आयल निगम, शिवम् सिमेन्ट, सिजी ब्रुअरी, श्रीराम टोबागो, सिप्रदी ट्रेडिङ लगायतका ठूला करदाताले नियमित कर तिरिरहेको ठूला करदाता कार्यालयले जनाएको छ। यसकारण लक्ष्य पूरा हुने अपेक्षा कार्यालयको छ। 

यस्तै, चालु वर्षको पहिलो महिना आयकर ९ अर्ब ८८ करोड रुपैयाँ संकलन भएको विभागले जानकारी दिएको छ। समग्रमा यो महिना ३५ अर्ब राजस्व उठाउने लक्ष्य राखेकोमा ३१ अर्ब संकलन भइसकेकाले लक्ष्य पूरा हुने विश्वास विभागको छ।