हिमालयन बैंकको सेयर किन्न तानाबुना बुनेका दीपक भट्टलाई झड्का, तीन समूहले हाले आवेदन



सुदर्शन सापकोटा
२०८२ साउन १ गते १८:०७ | Jul 17, 2025
हिमालयन बैंकको सेयर किन्न तानाबुना बुनेका दीपक भट्टलाई झड्का, तीन समूहले हाले आवेदन

काठमाडौं। हिमालयन बैंकमा रहेको पाकिस्तानी साझेदार हबिब बैंकको सेयर आफूबाहेक अरुले नपाउन् भनेर हिमालयन रि-इन्स्योरेन्सको आडमा बुनिएको एउटा षड्यन्त्रमा तीन वटा समूहले धावा बोलेका छन्।

Tata
GBIME
Nepal Life

बीमा, पुँजी बजार, क्रेडिट रेटिङलगायत कम्पनीहरुमार्फत ‘फाइनान्सियल एम्पायर’ बनाउन सफल दीपक भट्टको नेतृत्वमा संगठित २५ बढी घरानाको व्यावसायिक समूहले बुनेको षड्यन्त्रलाई चुनौती दिँदै दुई कम्पनी र एक जनाले आवेदन दिएका हुन्। संस्थापक सेयर खरीद गर्न विद्यमान संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउँछन्।

नेसनल लाइफ, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका साथै एक व्यक्तिले आवेदन दिएका छन्। स्रोतका अनुसार भट्टको समूहले हिमालयन रि-इन्स्योरेन्समार्फत सेयर किन्ने तानाबुना बुनेको सार्वजनिक भएपछि हिमालयनकै संस्थापकले काउन्टर अट्याक गरेका हुन्।

स्रोतका अनुसार कर्मचारी संचय कोषलाई रोकेपछि स्रोत देखाएर लगानी गर्नसक्ने संस्थापक नआउने अनुमान त्यो समूहले गरेको थियो। तर, भट्ट समूहको सेयर किन्न बुनिएको षडयन्त्रलाई कुनै पनि हालतमा रोक्ने योजना अर्को समूहले बनाएको थियो।

गत जेठ अन्तिममा पाकिस्तानी हबिब बैंकले आफ्नो स्वामित्वमा रहेको हिमालयन बैंकको सेयर बिक्रीका लागि विद्यमान संस्थापक सेयरधनीहरुसँग प्रस्ताव माग गरेको थियो।

त्यो प्रस्ताव ‘फेल’ गराएर संस्थापक बाहिरलाई समेत हुने गरी सेयर बिक्रीको सूचना निकाल्ने र त्यो सेयर आफूले मात्र पाउने गरी सर्त राख्ने लिखित षड्यन्त्र हिमालयन रि-इन्स्योरेन्सको आडमा गरिएको थियो।

सेयरमा आवेदन दिने आज बिहीबार अन्तिम दिन हो। विद्यमान सेयरधनीमध्ये सम्भावित खरीदकर्ता कर्मचारी सञ्चय कोष हो। भएका अरु सञ्चालकले आवेदन दिनै नसक्ने र अर्थ मन्त्रालय मातहतको कोषलाई आवेदन हाल्न रोक्ने योजना यो समूहको थियो।

नियामकलाई प्रयोग गरेर अहिलेको प्रक्रिया रोक्न सक्ने खतरा भने उत्तिकै रहेको आवेदन दिएकामध्येका एक जनाले बिजमाण्डूसँग बताए। ‘शक्तिशाली समूह छ। नेपाल राष्ट्र बैंकदेखि अन्य नियामकसम्म प्रभावित हुन सक्छन्,’ उनले भने, ‘त्यसो हुँदा अहिले परेको आवेदन नै खारेजसमेत गराउन सक्छन्।’

यो समूहसँग अहिलेसम्म आफ्नो भन्न लायक बैंक छैन। त्यसो हुँदा उनीहरुले डेढ वर्ष अघिबाटै हिमालयन बैंक ताकिरहेका थिए। तर, अघिल्ला गभर्नर महाप्रसाद अधिकारी हुन्जेल पार नलाग्ने भएपछि समूह शान्त बसेको थियो। जसै जेठ पहिलो साता नयाँ गभर्नर आए- सेयर खरिद बिक्री प्रक्रिया सुरु गराइएको थियो।

समूहको नेतृत्व गरिरहेका इन्फिनिटी होल्डिङ्स प्रालिका अध्यक्ष दीपक भट्टसँग शंकर समूहलगायत अन्य व्यावसायिक समूह गोलबद्ध छन्। आफूले २५ वटा व्यावसायिक घरानाहरुको नेतृत्व गरिरहेको भट्टले बताउने गरेका छन्। त्यसमध्ये अधिकांश हिमालयन रि-इन्स्योरेन्सका सेयरधनी हुन्।

हिमालयन रि-इन्स्योरेन्सको आवरणमा यो समूहले यस्तो जटिल रणनीति बनाएको छ कि यसमा कानुनी दाउपेचदेखि सत्ता र प्रशासनका शक्तिशाली व्यक्तिहरुको पनि आड छ।

हिमालयन रि-इन्स्योरेन्समा दीपक भट्टको सतप्रतिशत लगानी रहेको इन्फिनिटीको ४७ करोड रुपैयाँ अर्थात ६.४३ प्रतिशत सेयर लगानी छ। यसबाहेक जगदम्बा मोटर्स, जगदम्बा स्टीललगायतको पनि करिब ८ प्रतिशत सेयर छ।

हिमालयन बैंकमा रहेको हबिबको सेयर हत्याउने प्रक्रिया अघिल्लो महिनाबाट सुरु भइसकेको थियो। गत जेठ ३० गते ३५ दिनको समय दिएर हबिब बैंकले आफ्नो सेयर खरीद गर्न इच्छुकलाई आवेदन दिन भनेर हिमालयन बैंकका विद्यमान सेयरधनीलाई आह्वान गरेको थियो। त्यसमा विद्यमान सेयरधनीबाट ३ जनाले आवेदन दिएका हुन्।

अहिले प्रति कित्ता ११२.८० रुपैयाँका दरले विद्यमान सेयरधनीलाई सेयर किन्नका लागि आह्वान गरिएको छ। तर, अहिलेका सेयरधनीले आवेदन दिँदैनन् भन्नेमा दीपक भट्ट समूह थियो।

सम्झौतापत्रमा कतिसम्म लेखिएको छ भने- विद्यमान सेयरधनीले आवेदन दिँदैनन्। बोलकबोलमा हिमालयन रि-इन्स्योरेन्स बाहेक अरु कुनै पक्षले नमिल्ने सर्त राखिने छ।

दीपक भट्टले नेतृत्व गर्ने यो समूहभित्रको शंकर ग्रुपले वित्तीय क्षेत्रबाट गएको ऋणमध्ये सबैभन्दा बढी प्रयोग गरिरहेको छ। दीपक भट्ट र शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवालबीच भएको लेनदेनमाथि अनुसन्धान गर्न राष्ट्र बैंकले सम्पति शुद्धीकरण अनुसन्धान विभागलाई पत्राचार गरेको थियो।

तर, प्रधानमन्त्री केपी ओलीको दबाबमा यो अनुसन्धानलाई ‘ढिसमिस’ गरिएको छ। राष्ट्र बैंकले त ऋण दुरुपयोगमा पनि अनुसन्धान हुनु पर्ने सुझाव दिएको थियो।

हिमालयन बैंकमा हबिबको १२.९३ प्रतिशत सेयर स्वामित्व छ। यो भनेको २ करोड ८० लाख १२ हजार ४४८ कित्ता सेयर हो। यसको प्रति कित्ता मूल्य ११२.८ रुपैयाँ राखिएको छ।

यो समूहले बनाएको ‘फाइनान्सियल एम्पायर’मा बैंकमात्र थिएन। पुनर्बीमा कम्पनीतर्फ हिमालयन रि-इन्स्योरेन्सदेखि जीवन, निर्जीवन बीमा कम्पनीहरु छन्। लघु बीमा कम्पनीहरुसमेत खोलिसकेका छन्।

साथै इन्फोमेरिक्स क्रेडिट नेपाल लिमिटेडका नाममा क्रेडिट रेटिङ कम्पनी पनि सञ्चालन गरिरहेका छन्। केही सेयर ब्रोकर, मर्चेन्ट बैंकिङ तथा भेञ्चर क्यापिटलसम्म खोलिसकेका छन्।

हिमालयन स्टकदेखि कमोडिटी एक्सचेञ्ज कम्पनी खोल्न खोजिरहेका छन्। हिमालयन बैंकमार्फत बैंकिङ क्षेत्रमा पनि पस्न खोजिरहेका छन्। पुनर्बीमा, बीमा, क्रेडिट रेटिङलगायत कम्पनीहरुको लाइसेन्स लिँदा नियामकले पारदर्शी प्रकृया नपनाइ यो समूहको पोल्टामा हालिदिएको थियो।

यो समूहले बैंकहरुको खराब ऋण व्यवस्थापन गर्नका लागि खोल्न लागिएको सम्पति व्यवस्थापन कम्पनी (एएमसी) र नियो बैंकको लाइसेन्सका लागि पनि आन्तरिक तयारी गरिसकेको छ। यो समूहकै चाहनामा सरकारले आगामी वर्षको बजेटमा यी दुवैको लाइसेन्सको बारेमा उल्लेख गरेको छ।