चोलेन्द्र-इनम कनेक्सन : बालेन र अमेरिकी प्रतिनिधि भनेर जोडिए, न्यायालयदेखि सुरक्षा निकायसम्म मुछिए

सविन ढकाल
२०८३ कात्तिक १२ गते १२:५४ | Oct 29, 2026
चोलेन्द्र-इनम कनेक्सन : बालेन र अमेरिकी प्रतिनिधि भनेर जोडिए, न्यायालयदेखि सुरक्षा निकायसम्म मुछिए


काठमाडौं। झण्डै चार महिनाअघि पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा प्रफुल्ल थिए। २०७८ फागुन १ गते महाअभियोग दर्तासँगै स्वत: निलम्बनमा परेपछि गुमनाम चोलेन्द्र सर्वोच्चको नेतृत्व मनोजकुमार शर्माले पाएपछि एकाएक सक्रिय बने।

GBIME
Tata

आफूसँग प्रधानमन्त्री बालेन्द्र शाह र अमेरिकासँग निकट भएको व्यक्ति सम्पर्कमा रहेको जिकिर गर्दै उनी एकाएक सक्रिय बनेका थिए। मनोज शर्मा प्रधानन्यायाधीश भएपछि चोलेन्द्रका भाइ प्रभु शमशेर पुरानै फर्ममा थिए।

प्रभु अधिकांश समय ग्वार्कोस्थित रोयल टुलिप होटलमा देखिने गरेका थिए। स्रोतका अनुसार चोलेन्द्रले आफ्नो सक्रियता बढ्दै गएपछि नक्सालनजिक एउटा भेट्ने ‘जक्सन’ बनाउने योजना समेत बनाएका थिए।

‘ठूलाठूला मुद्दा मिलाउने डिल हुन थालेपछि एउटा भेटघाटका लागि ठाउँ बनाउनेसम्म योजना बनेको थियो। नक्साल वरपर ठाउँ पनि खोजिएको थियो,’ स्रोतले भन्यो।

स्रोतका अनुसार विशेष अदालतमा परेका सम्पत्ति शुद्धीकरण सम्बन्धी ठूला उद्योगीको मुद्दा मिलाउने विषयमा सर्वोच्चसम्म कनेक्सन तयार हुँदै गएको थियो। त्यो कनेक्सनभित्र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपल्लै तहका नेतासमेत जोडिएका थिए।

स्रोतका अनुसार मुद्दा मिलाउनका लागि विभिन्न तह थिए। त्यसमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा हानेका केही बिचौलिया भनिएकाहरुको तह पनि देखिएको छ। तर, उनीहरु केहीको भूमिका शून्य देखिएको छ भने केही चाहिं मुद्दा मिलाउनका लागि जोडिएको देखिएको स्रोतले बतायो।

स्रोतका अनुसार विवादास्पद व्यापारी दीपक भट्टको बन्दी प्रत्यक्षीकरणको मुद्दा अगाडि बढेपछि प्रधानमन्त्री बालेन शाह र उनको टिम संशकित बन्यो। असोज पहिलो साता संयुक्त राष्ट्रसंघको महासभामा पुगेका बालेन र उनका प्रमुख सल्लाहकार कुमार वेनले भट्टको बन्दी प्रत्यक्षीकरण मुद्दाका विषयमा गृहमन्त्री सुधन गुरुङलाई बुझ्न लगाए।

गृहमन्त्री गुरुङले भट्टको मुद्दामा चोलेन्द्रको सम्बन्ध रहेको जानकारी पाए। यो कुरा उनले अमेरिकामा रहेका बालेनसामु पुर्‍याए। त्यसपछि बालेनले अमेरिकाबाट फर्किएकै दिन राति चोलेन्द्रलाई नियन्त्रणमा लिन लगाए। प्रहरीले चोलेन्द्रका दुईवटा मोबाइल नियन्त्रणमा लिएर सबै डेटा हेर्‍यो। त्यो डेटाकै आधारमा इनम सापकोटा पक्राउ परे।

इनम पक्राउपछि चोलेन्द्र छाँगाबाट खसेजस्तै

चोलेन्द्रलाई चार महिना अगाडि भेटेका व्यक्ति थिए- इनम। इनमले आफूलाई नेपालका लागि पूर्वअमेरिकी राजदूत डिन आर थम्सनको चिकित्सक भनेर चोलेन्द्रसामु चिनाएका थिए। त्यसबाहेक उनले अमेरिकी विशेष दूत सर्जियो गोरसँग सम्पर्क रहेको दाबी गरेका थिए। उनले प्रधानमन्त्री बालेनसँग पनि निकट रहेको बताएका थिए।

स्रोतका अनुसार इनमले केही मन्त्रीसँगको तस्विरदेखि कुराकानी देखाएका थिए। त्यही आधारमा चोलेन्द्र इनमलाई विश्वास गरेर एकपछि अर्को मुद्दा मामिलामा मिलाउन सक्रिय भए। उनी मुद्दामामिलासँगै राजनीतिक महत्वाकांक्षा समेत बढ्न थालेको थियो।

तर, इनम समातिएपछि बालेनको सम्पर्क सुत्र भनेकै आधारमा आफूले विश्वास गरेको चोलेन्द्रले आफ्ना निकटवर्तीलाई बताए। ‘वेस्टर्नको मान्छे भन्थ्यो। बालेनकै भनेर यहाँ गएको वहाँ गएको सूचना पनि ल्याउँथ्यो,’ चोलेन्द्रले निकटवर्ती भने।

स्रोतका अनुसार यो नेक्ससमा सागर घिमिरे भन्ने व्यक्ति समेत रहेको देखिएको छ। घिमिरेले आफू रास्वपा सभापति रवि लामिछानेको आफ्नै भान्जा भनेर चिनाउने गरेका थिए।

राडार बाहिर सागर

पछिल्ला मुद्दामामिला मिलाउन इनमजस्तै सागररे पनि सक्रिय रहेको स्रोतले बताएको छ। स्रोतका अनुसार सागरले झम्सिखेलस्थित कुटुम्ब होटलमा बसेर मुद्दामामिलाको बारेमा छलफल गर्ने गरेको खुलेको छ। उनी पहिला एक मेडिकल कम्पनीका कर्मचारी हुन्।

रास्वपा सरकारमा आएपछि उनको सक्रियता एकाएक बढेको थियो। स्रोतका अनुसार सागरले द प्लाजामा अफिस नै राखेका थिए। उनलाई हात्तिवनमा रहेको हाउजिङमा घर समेत दिइएको थियो।

‘अहिले धेरै अनुसन्धान इनममा मात्रै केन्द्रित छ। तर, अदालतको मुद्दा मामिलामा सागरको सक्रियता धेरै देखिएको थियो। विशेष अदालतको मुद्दा मिलाउन समेत उनको सक्रियता धेरै नै देखिएको छ,’ स्रोतले भन्यो, ‘उनीमाथि अनुसन्धान भयो भने रास्वपामा भुईंचालो नै जाने देखिन्छ।’

स्रोतका अनुसार सागर र इनममाथि राम्रोसँग अनुसन्धान भएमा राजनीतिज्ञ, न्यायालयदेखि सुरक्षा निकायसम्मका उच्च पदस्थ धेरै मुछिने अवस्था छ।