बैंकका ठूला लगानीकर्ताको खस्किएको मनोबल : गल्तीबिनै फौजदारी डन्डा, राम्रा जनशक्ति आउन छाडे

बिजमाण्डू
२०८३ कात्तिक ११ गते १८:३१ | Oct 28, 2026
बैंकका ठूला लगानीकर्ताको खस्किएको मनोबल : गल्तीबिनै फौजदारी डन्डा, राम्रा जनशक्ति आउन छाडे


काठमाडौं। मुलुकका बैंक तथा वित्तीय संस्थाका ठूला लगानीकर्ता मंगलबार साँझ ठमेलमा रहेको एलफ्ट होटलमा थिए। बैंक तथा वित्तीय संस्थाका लगानीकर्ताको संस्था बैंक तथा वित्तीय संस्था परिसंघ(सीबीफीन)ले संचारकर्मीलाई छलफलका लागि बोलाएको थियो।

GBIME
Tata

छलफल अगाडि सीबीफीनका महासचिव मनोज गोयलले प्रिजेन्टेसनसहित बैंक तथा वित्तीय संस्थाले गरेको ऋण लगानीदेखि राजस्वको योगदानको कुरा उल्लेख गरे।

त्यही प्रिजेन्टेसनमा उनले पछिल्ला दिनमा बैंक तथा वित्तीय संस्थामा देखिएका चुनौति पनि राखे। बैंक तथा वित्तीय संस्था एउटा ठूलो संकटको बाटोमा गइरहेको स्पस्ट चित्र प्रस्तुत गरियो। गोयल आफैं पनि एनएमबि बैंकका अध्यक्ष हुन्।

उनी यसअघि क्लिन इनर्जी डेभपलमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत भइसकेका व्यक्ति हुन्। बैंकिङ क्षेत्रका जानकार गोयलले पछिल्ला दिनमा देखिएका समस्यालाई केलाउँदै जाँदा केही भयावह तस्विर प्रस्तुत गरे।

बैंक तथा वित्तीय संस्थाप्रति समाजको नकारात्मक धारणा विकास हुँदै जाँदा ऋण असुली नै गम्भीर बन्न थालेको गोयलको जिकिर छ। ‘हेर्नुस् ऋण उठाउन जाँदा कर्मचारीले पिटाइ खाइरहेको छ। लिलामी प्रकियामा लैजाँदा हाम्रो घरखेत खान खोज्यो भनिन्छ,’ उनले भने, ‘लिलामीमा लैजान खोज्यो भने विष खाइदिन्छु भनिदिन्छन्। हामी अहिले ठूलो सकसमा परिरहेका छौं।’

गोयलले बैंक तथा वित्तीय संस्थाको प्रतिफल कम तर जोखिम धेरै भएकाले लगानीकर्ताको मनोबल पनि खस्किएको बताए।आमजनताको तारोमा परेका बैंकर र लगानीकर्तालाई फौजदारी अभियोग लगाउँदै पक्राउ गर्न थालिएकोप्रति पनि गोयलले चिन्ता व्यक्त गरे।

‘पब्लिक पर्सेप्सन हामी जनताको घरखेत खाने भन्नेछ। अर्कातिर सामान्य गल्तीमा पनि फौजदारी अभियोग लगाउन थालिएको छ,’ उनले भने, ‘योसँगै बैंकिङ क्षेत्रमा नयाँ ट्यालेन्ट पनि आउन बन्द भएको छ।’

उनका अनुसार उच्च जोखिम भएको क्षेत्रको रुपमा बैंकिङ क्षेत्र देखिन थालेकाले राम्रा जनशक्ति निरुत्साहित भइरहेका छन्।

‘पहिला बैंक तथा वित्तीय संस्थामा राम्रा क्षमतावान जनशक्ति आउँथे। उनीहरुका कारण पनि बैंकिङ क्षेत्रले इन्नोभेसनदेखि भाइब्रेन्ट बनाएको थियो। अब विस्तारै जनशक्ति नै पाउन छाडिएको छ,’ गोयलले भने, ‘यसले पनि यो क्षेत्र जोखिममा परेको छ।’

वर्षौदेखि बैंक तथा वित्तीय संस्थामा बिताएका प्रमुख कार्यकारी अधिकृत समेत विज्ञका रुपमा बोर्डमा आउन छाडेको उनले बताए। उनका अनुसार रिटार्यड भएका ३० प्रतिशत पनि बैंकर बैंक तथा वित्तीय संस्थाको बोर्डमा आएका छैनन्।

‘सीइओहरु रिटार्यड हुने क्रम बढेको छ। ३०औं वर्ष बैंकमा बिताएका उनीहरु विज्ञका रुपमा आउँदा त्यसले ठूलो अर्थ राख्छ,’ गोयलले भने, ‘तर, किन टाउको दुखाउनु भनेर आउन चाहँदैनन्।’

उनले लोनलस प्रोभिजनमा पाँच प्रतिशतभन्दा बढी खर्च देखाउन नपाउने व्यवस्थामा परिमार्जन आवश्यक रहेको बताए।

सीबीफीनका कार्यवाहक अध्यक्ष राजेश उपाध्यायले बैंक तथा वित्तीय संस्था चौतर्फी आक्रमणको शिकार बनेको बताए।

‘हामी अहिले अत्यन्तै कठिन अवस्थामा छौं। गोयलजीले अघि नै भनिसक्नुभएको छ, ऋण उठाउन समस्या भएको विषय। निक्षेपकर्ताको पनि हित हेर्नुपर्ने भएकाले कसरी समन्वय गर्ने भन्ने चेपुवामा हामी परेका छौं,’ उनले भने, ‘एउटा पारदर्शी र संस्थागत रुपमा अगाडि बढेको क्षेत्रमा आक्रमण हुँदा त्यसको ठूलो असर पर्छ भन्ने सबैले बुझ्न जरुरी छ।’

उपाध्यायले न्यायालयले पनि बैंकिङ क्षेत्रको समस्यालाई गहिरो ढंगले बुझ्न आवश्यक रहेको बताए। ‘केही दिनअघि प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मालाई पक्राउ आदेश जारी भयो। शर्माको कुनै सम्बन्ध नहुँदा पनि त्यसरी पक्राउ पुर्जी किन जारी भयो?,’ उनले प्रश्न गर्दै भने, ‘बैंकिङ क्षेत्रका बारेमा पछिल्ला दिनमा यस्ता धेरै विषय जोडिएर आएका छन्, जसले थप समस्या निम्त्याउने जोखिम देखिरहेको छु।’

उनले अन्जानमा हुने गल्तीमा पनि फौजदारी अभियोग ब्योहोर्नुपर्ने अवस्था आएको गुनासो गरे।

पछिल्लो एक वर्षमा राष्ट्र बैंकको नेतृत्व कमजोर हुँदा प्रहरी हाबी देखिएको छ। गभर्नरका रुपमा डा. विश्वनाथ पौडेल आएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी) अगाडि र राष्ट्र बैंक पछाडि पछाडि देखिएको छ।

राष्ट्र बैंकले आफ्नो अधिकार क्षेत्र जोगाउन नसक्दा सीआइबीले असीमित अधिकार प्रयोग गरिरहेको छ। स्मार्ट टेलिकमको लिलामी प्रक्रियामा सीआइबीले गरेको धरपकडप्रति पनि सीबीफीनले गम्भीर असहमति जाहेर गरेको थियो।

छलफलमा एभरेष्ट बैंकका अध्यक्ष डा. बालगोपाल वैद्य र संचालक किरणकृष्ण श्रेष्ठ, ग्लोबल आईएमई बैंकका संचालक राधेश पन्त, लक्ष्मी सनराइजका बैकका अध्यक्ष रमण नेपाल, कामना सेवा बैंकका अध्यक्ष सुदीप आचार्य, सीबीफीनका उपाध्यक्ष दिलिप मुनकर्मी, सिद्धार्थ बैंकका अध्यक्ष राहुल अग्रवाल, कुमारी बैंकका संचालक राजाराम खड्का, सीबीफीनका कोषाध्यक्ष लक्ष्मीप्रसाद महर्जन, प्रभु बैंकका अध्यक्ष किशोरजंग कार्की, लुम्बिनी विकास बैंकका अध्यक्ष चिन्तामणि भट्टराई र रिलायन्स फाइनान्सका अध्यक्ष ईश्वरीप्रसाद न्यौपाने सहभागी थिए।