देउवालाई सर्वोच्च नेता मान्न कांग्रेस महामन्त्री पौडेल तयार, ‘रास्वपालाई मत दिनुको जवाफ पाइन’

बिजमाण्डू
२०८३ कात्तिक ८ गते १७:४५ | Oct 25, 2026
देउवालाई सर्वोच्च नेता मान्न कांग्रेस महामन्त्री पौडेल तयार, ‘रास्वपालाई मत दिनुको जवाफ पाइन’


काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई जनताले किन धेरै मत दिए भन्ने विषय अझै बुझ्न नसकेको बताएका छन्।

GBIME
Tata

गृह जिल्ला तनहुँको शुक्लागण्डकी नगर कार्यसमितिले आइतबार गरेको चियापान कार्यक्रममा कांग्रेस महामन्त्री पौडेलले फागुन २१ गतेको निर्वाचनमा आफूले निकै कम मत पाउनुको कारण खोजिरहेको बताए।

‘चुनाव लड्दा मलाई मेरो पार्टीलाई मतदाताहरुले एकदमै कम मत दिनुभयो। मसँग मेरो पार्टीसँग किन रिसाउनुभयो? म खोजी गरिरहेको छु। तर जसले जित्नुभयो उहाँहरुलाई त्यति धेरै किन मत दिए? मैले त्यसको जवाफ पाउन सकिरहेको छैन। के आशा गरेर, के जादु गर्नुहुन्छ भनेर मत दिनुभएको त्यो पनि बुझ्न सकिन। मान्छे चिनेको छैन। क्षमता के हो बुझेको छैन। तर आफ्नो मत दिनुभएको छ,’ पौडेलले भने।

उनले जनताको म्यान्डेटलाई सम्मान गर्दै कांग्रेस पाँच वर्षसम्म प्रतिपक्षको भूमिकामा रहने बताए।

पौडेलले महाधिवेशनमा सहभागी नभए पनि पूर्वसभापति शेरबहादुर देउवालाई सर्वोच्च नेता मान्न तयार रहेको बताए। ‘निवर्तमान सभापतिज्यूलाई अझै पनि वरिष्ठ नेता/सर्वोच्च नेता यस्तो अलंकारिक सम्मान व्यक्त गर्न तयार छौं,’ पौडेलले भने।

कांग्रेसले असोज तेस्रो साता भएको महाधिवेशन उद्‍घाटनमा निम्ता दिए पनि देउवा अनुपस्थित भएका थिए। देउवा पक्षले मंसिर अन्तिम साता महाधिवेशन गर्ने भनेको छ।