बालेन सरकारका शक्तिशाली मन्त्री सुनील : निकटताले फास्ट ट्र्याकमा काम, अरु मन्त्रीको कामप्रति असन्तुष्ट

बिजमाण्डू
२०८३ कात्तिक १० गते १५:३९ | Oct 27, 2026
बालेन सरकारका शक्तिशाली मन्त्री सुनील : निकटताले फास्ट ट्र्याकमा काम, अरु मन्त्रीको कामप्रति असन्तुष्ट
सुनिल लम्साल


काठमाडौं। बालेन्द्र शाह सरकारमा पूर्वाधार विकासमन्त्री सुनिल लम्साल निर्णय क्षमतामा प्रभावशाली देखिएका छन्। उनी पूर्वाधार क्षेत्रका समस्या समाधानका लागि तात्कालीनदेखि दीर्घकालीनसम्मको योजना तयार पारेर नीतिगत तहमै निर्णय गराउन सफल देखिएका छन्।

GBIME
Tata

बोलीमा रुखो भए पनि उनको काम भने रिजल्टमा आधारित देखिएको छ। उनको निर्णय क्षमता प्रभावशाली हुनुमा प्रधानमन्त्री बालेनसँगको निकटता पनि हो।

बालेनका सबैभन्दा विश्वासिला सुनिलले आफूले बनाएका योजना सोझै मन्त्रिपरिषद्‍मा लैजानसक्ने ल्याकत राख्छन्। ‘प्रधानमन्त्रीको विश्वासिला भएकाले लम्सालले आफूले मन फुकाएर काम गर्न पाएका छन्,’ स्रोतले भन्यो, ‘साथी साथीबीचको अनौपाचारिक सम्बन्धले उनलाई काम गर्न सजिलो भएको छ।’

स्रोतका अनुसार त्यही निकटताका कारण कानुनी अड्चन लगायत समस्या समाधान गर्न सजिलो भएको छ। कानुनी अड्चन आउनेबित्तिकै सुनिलले कानुनमन्त्री सोविता गौतमसँग परामर्श गरेर समाधानको बाटो निकाल्ने गरेको स्रोतको भनाइ छ।

‘कानुनी अड्चन आउनेबित्तिकै कानुनमन्त्री गौतमसँग छलफल गरेर समाधानका लागि प्रयास गरिहाल्छन्। कानुनमन्त्री गौतम पनि आर्थिक र पूर्वाधारको मुद्दामा प्रोयाक्टिभ नै हुनुहुन्छ,’ स्रोतले भन्यो, ‘ऐन नियम संशोधनका विषयमा मन्त्रालयमा पूर्वाधारमन्त्री लम्साल, कर्मचारी र कानुनमन्त्री गौतमबीच धेरै पटक कयौं घण्टा छलफल भएको छ।’

कानुनमन्त्री सोविता गौतम, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल लगायत। फाइल तस्वीर

सुनिलले ठेक्कामा लामो समयदेखि देखिएको ठूलो समस्यालाई समाधान गरिसकेका छन्। उनले ठेक्का प्रणालीमा सुधारका लागि सार्वजनिक खरिद ऐनमा संशोधन गराइसकेका छन्।

न्यूनतम रकम कबोल गर्नेलाई ठेक्का दिने प्रणालीमा सुधार गर्दै औसत कबोल रकम नजिकको प्रस्ताव छनोटदेखि बोलपत्रको अवधि घटाउने र गुणस्तरीय काम गर्ने निर्माण कम्पनीलाई प्रोत्साहन गर्ने नीति ऐन संशोधनमार्फत लिइएको छ।

न्यून रकम कबोल गरेर ठेक्का लिने तर तोकिएको अवधिमा काम पूरा नगरी आयोजना वर्षौसम्म अलपत्र पर्ने समस्या समाधान गर्न सुनिलले नयाँ उपाय निकालेका हुन्।

सुनिल इन्जिनियर हुन्। विगतमा विभिन्न आयोजनामा समेत काम गरिसकेकाले उनले विकास निर्माणका समस्या मिहिन ढंगले बुझेका छन्।

भौतिक पूर्वाधार मन्त्रालयका एक पूर्वसचिवका अनुसार सुनिलले कुनै पनि विषयमा छलफल हुनेबित्तिकै समस्या बुझेर समाधानको बाटो निकालिहाल्छन्।

पूर्वाधार निर्माणको समस्या पहिल्याउनकै लागि सुनिलले देशव्यापीरुपमा स्थलगत अवलोकन गरेका थिए। उनले आयोजना रुग्ण हुनुका पछाडिको कारण केलाउँदै त्यसलाई समाधानको प्रयास समेत गरिरहेका छन्।

पूर्वाधार विकासमन्त्री सुनिल लम्साल विकास आयोजना निरीक्षणका क्रममा। फाइल तस्वीर

‘उनमा काम गर्ने हुटहुटी छ। त्यही भएर दसैंको टिका लगाउनेबित्तिकै उनी कालीगण्डकी कोरिडोर हेर्न निस्किए,’ ती पूर्वसचिवले भने, ‘मान्छेका केही राम्रा र केही नराम्रा पक्ष हुन्छन्। उहाँको बोली छुचो भए पनि काममा भने खोट लगाउने ठाउँ छैन।’

भोटेकोशी बाढीपछि पृथ्वी राजमार्ग अन्तर्गत पर्ने कृष्णभीरको सडक भत्किएपछि निर्माणमा देखाएको तदारुकताले पनि सुनिलको अग्रसरता स्पस्ट हुन्छ। उनको सक्रियताकै कारण १८ दिनमा पहाड काटेर सडक संचालनमा ल्याइएको थियो।

त्यो सडकखण्डमा खटिएका प्राविधिकका अनुसार सुनिलले कृष्णभीरको सडक संचालनका लागि ‘वार रुम’ जस्तै बनाएका थिए। उनले दैनिक कामको रिपोर्टिङ लिन्थे। ‘पहिला भएको भए पहाड काट्ने विषयमै दुई/चार दिन छलफल हुन्थ्यो होला। तर, मन्त्रीज्यूले पहाड काटेर हुन्छ कि के गरेर हुन्छ सडक बनाउनुपर्‍यो भन्नुभयो,’ मन्त्रालयका एक कर्मचारीले भने, ‘कृष्णभीर सडकमा खटिएका आयोजना प्रमुखले दिनरात नभनी काम गर्नुपर्ने अवस्था आयो।’

यस्तै त्रिशूली नदीको कटानले भासिएको गलौदी क्षेत्रको सडक १२ घण्टामा तयार भयो। दसैंको पूर्वसन्ध्यामा यो सडक भत्किएपछि धेरैमा नबन्ने चिन्ता थियो। तर, उनै सुनिल ताकेता गरेर १२ घण्टामा सडक खुलाउन सफल भए।

‘काम गर्न नसक्नेले पद छाड्नुपर्छ’

सुनिल कानुनी अड्चन हेरेर काम रोक्ने कुराको विपक्षमा छन्। उनले आफ्नो र्‍यापो अनुसार काम गर्न नसक्ने मन्त्रीलाई समेत सचेत गराउने गरेको स्रोतले बतायो। स्रोतका अनुसार केही दिनअघि उनले वनको मुद्दामा कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीलाई सचेत गराएका थिए।

वनले विकास निर्माणमा पारेको समस्या समाधानका विषयमा छलफल गर्दा कर्मचारी तहबाट आएको विषय चौधरीले राखेकी थिइन्। चौधरीले कर्मचारीको विषय ल्याएपछि लम्साल असन्तुष्ट बनेका थिए। ‘यसरी काम गरेर हुँदैन। हाम्रो म्यान्डेट फास्ट ट्र्याकमा काम गर्ने हो। त्यो स्पिरिट अनुसार काम गर्नुपर्छ,’ उनले भनेका थिए, ‘काम गर्न नसक्नेले पद छोड्नुपर्छ।’

स्रोतका अनुसार कतिपय मन्त्रालयले गरेको काम गराइ सुनिललाई मन परेको छैन। पर्यटन मन्त्रालय अन्तर्गतको नेपाल वायुसेवा निगम झन् बिग्रिएकोप्रति पनि उनी चिन्तित छन्।