काठमाडौं। मलेसियामा आप्रवासी श्रमिक व्यवस्थापनको आकर्षक कारोबारमा प्रभावशाली बनेका बंगलादेशी मूलका व्यवसायी अमिनुल इस्लाम अब्दुल नोर पुनः विवादको केन्द्रमा आएका छन्।
श्रमिक भित्र्याउने सरकारी प्रणाली संचालन गर्ने कम्पनी बेस्टिनेटका संस्थापक अमिनुलको व्यावसायिक विस्तार, राजनीतिक पहुँचको नाता नेपालसम्म जोडिन्छ।
हावापानी, श्रमिकका लागि आकर्षक तलब र खुला समाजका कारण मलेसिया नेपालीका लागि राम्रो गन्तव्य मानिन्छ। त्यही गन्तव्यमा अमिनुलले तयार पारेको सिन्डिकेट प्रणालीले रोजगारीका लागि जाने गरिब नेपालीले चर्को पैसा तिर्नु परेपछि बालेन्द्र शाह सरकारले रोक्न पहल गरेको छ। सिन्डिकेट रोक्न खोज्दा मलेसियामा अहिले नेपाली कामदार जान बन्द भएको छ।
१३ वर्षअघि अमिनुलले मलेसिया सरकारलाई समेत हातमा लिएर खडा गरेको सिन्डिकेट प्रणालीबाट अर्बौं रकम उठेको छ। उठेकोमध्ये आधा रकम हुण्डीमार्फत मलेसिया गएको अनुमान गरिएको छ। मलेसिया सरकार र राजनीतिज्ञलाई प्रभावमा तयार पारिएको प्रणाली नेपालमा कार्यान्वयनमा ल्याउँदा पनि त्यसरी नै राजनीतिज्ञदेखि प्रशासकसम्मलाई खुशी बनाएर निर्णय गराइएको थियो।
अमिनुलसँग जोडिएर कारोबार गर्ने केही कम्पनीका संचालकलाई बालेन सरकारले पक्राउ गरिसकेको छ। स्रोतका अनुसार स्वास्थ्य परीक्षण र बायोमेट्रिकको जालोमा नेपालका यसअघिका धेरै प्रधानमन्त्री, श्रममन्त्री, परराष्ट्रमन्त्री, मुख्यसचिव र सचिवसम्म जोडिएको देखिएको छ।
पछिल्लो समय मलेसिया सरकारले २५ वटा म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी सूचीकृत गरेपछि बालेन सरकारले गम्भीर रुपमा असहमति जनाएको थियो। यो संरचना खडा गर्ने कम्पनीको नेतृत्व पनि अमिनुलले गरिरहेका छन्।
सुरुमा कुटनीतिक माध्यमबाट समस्या समाधान गर्नका लागि पहल गरे पनि रिजल्ट नआएपछि योसँग जोडिएका म्यानपावर र स्वास्थ्य संस्थाका लगानीकर्तालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको थियो। स्रोतका अनुसार प्रहरीले अहिले स्वास्थ्य परीक्षण र बायोमेट्रिकका नाममा उठेको पैसाका बारेमा अनुसन्धान गरिरहेको छ।
उनै अमिनुलका बारेमा मलेसियाली समाचार संस्था मलेसियाकिनी र बंगलादेशको प्रोथोम आलोले संयुक्त अनुसन्धानमार्फत व्यक्तिगत पृष्ठभूमिदेखि व्यावसायिक साम्राज्यसम्म खोतलेका छन्। अनुसन्धानमा सामान्य आप्रवासी श्रमिकका रूपमा मलेसिया पुगेका उनी कसरी करोडौँ रिंगिटको कारोबारसँग जोडिएर शक्तिशाली व्यवसायी बने भन्ने विषय उल्लेख छ।
अमिनुल मलेसियाका मन्त्री, उच्च सरकारी अधिकारी र राजपरिवारका सदस्यसँग खिचिएका तस्बिरहरूका कारण पनि चर्चामा छन्। बहुराष्ट्रिय व्यापारिक सम्झौता र ठूला सरकारी परियोजनासँग जोडिएका विभिन्न कम्पनीका दस्तावेजमा समेत उनको नाम भेटिएको छ।
मलेसियामा आकर्षक सुविधाको लोभ देखाएर विदेशी श्रमिक ल्याउने व्यवसायमा उनले कसरी यति ठूलो प्रभाव स्थापित गरे भन्ने विषय भने अझै स्पष्ट छैन। विशेषगरी सरकारी ठेक्का, निजी कम्पनीबीचको स्वामित्व सम्बन्ध र राजनीतिक पहुँचले उनको व्यावसायिक यात्रालाई विवादास्पद बनाएको छ।
अमिनुलले स्थापना गरेको बेस्टिनेट कम्पनी मलेसियाको विदेशी श्रमिक केन्द्रीय व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस) संचालनका कारण चर्चित छ। लाखौं विदेशी श्रमिकको आवेदन तथा प्रवेश प्रक्रिया व्यवस्थापन गर्न मलेसिया सरकारले यही प्रणाली प्रयोग गर्दै आएको छ।
यो प्रणालीमार्फत हुने आम्दानी र सरकारी सम्झौताका कारण बेस्टिनेटमाथि पटक-पटक प्रश्न उठेको छ। अमिनुलमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपसमेत छ। तर, उनले ती आरोप अस्वीकार गर्दै आएका छन्।
सामान्य श्रमिकदेखि प्रभावशाली व्यवसायीसम्म
अमिनुलको जन्म बंगलादेशको चटगाउँ क्षेत्रअन्तर्गत ब्राह्मणबारिया जिल्लामा भएको हो। उनी ७ दाजुभाइमध्येका एक हुन्। उनी सन् १९९० को दशकमा रोजगारी खोज्दै मलेसिया पुगेको यस व्यवसायसँग सम्बन्धित स्रोतहरूको भनाइ छ।
मलेसिया र बंगलादेशका श्रमिक आपूर्ति व्यवसायसँग सम्बन्धित ५ व्यक्तिले प्रोथोम आलोसँगको कुराकानीमा अमिनुलको प्रारम्भिक अवस्थाबारे जानकारी दिएका छन्। उनीहरूका अनुसार अमिनुल सामान्य आर्थिक पृष्ठभूमिका हुन्। उनी मलेसिया पुगेपछि बिस्तारै श्रमिक व्यवस्थापन व्यवसायमा प्रवेश गरेका थिए।
अमिनुलले चटगाउँ विश्वविद्यालयबाट व्यवसाय व्यवस्थापनमा स्नातक गरेका छन्। यही शैक्षिक पृष्ठभूमि र व्यावसायिक सम्पर्क उपयोग गर्दै उनले सुरुमा श्रमिक आपूर्ति एजेन्सी संचालन गर्ने एक व्यवसायीको एजेन्टका रूपमा काम गर्न थालेका थिए।
यस व्यवसायमा प्रवेश गरेपछि उनले मलेसियामा आफ्ना पहुँच विस्तार गर्दै लगे। मलेसियाली नागरिक रुसिलावती मोहम्मद युसुफसँग विवाह गरेपछि उनको नागरिकता प्राप्तिको प्रक्रिया पनि अघि बढेको अनुसन्धानमा उल्लेख छ।
श्रमिक आपूर्ति व्यवसायमा रुसिलावतीलाई रोजीका नामले चिनिन्छ। विवाहपछि यो दम्पतीले आप्रवासी श्रमिक व्यवस्थापनसम्बन्धी आफ्नो छुट्टै व्यवसाय सुरु गरेको थियो।
त्यसपछि अमिनुलको सम्पर्क ब्राह्मणबारियाकै अर्का व्यवसायी रुहुल अमिनसँग भयो। रुहुल बंगलादेश एसोसिएसन अफ इन्टरनेसनल रिक्रुटिङ एजेन्सिजका पूर्वमहासचिव हुन्।
अमिनुलसँगै रुहुलमाथि पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोप लागेको छ। बंगलादेशी अधिकारीहरूले उनीहरूलाई पक्राउ गरी सुपुर्दगी गर्न मलेसियाको सहयोग मागेका छन्। यद्यपि, दुवैले आरोप अस्वीकार गरेका छन्।

दर्जनौं कम्पनीमार्फत फैलिएको व्यावसायिक साम्राज्य
मलेसिया पुगेको करिब ३ दशकमा अमिनुलको व्यवसाय श्रमिक आपूर्तिमा मात्र सीमित रहेन। सूचना प्रविधि, जल यातायात, सुरक्षा, स्वास्थ्य, पर्यटन, खाद्य उद्योग र पशुपालनसम्म उनले आफ्नो लगानी विस्तार गरेका छन्।
मलेसियामा विभिन्न क्षेत्रमा संचालित दर्जनौं कम्पनीमा उनको प्रत्यक्ष वा अप्रत्यक्ष व्यावसायिक सम्बन्ध भेटिएको अनुसन्धानले देखाएको छ। यद्यपि, ती सबै कम्पनीमा उनको समान स्वामित्व वा नियन्त्रण रहेको पुष्टि हुँदैन।
अमिनुललाई सबैभन्दा बढी चिनाउने कम्पनी बेस्टिनेट हो। तर, पछिल्लो समय उनले बेस्टिनेट एसडीएन बीएचडीमा आफ्नो प्रत्यक्ष सेयर स्वामित्व घटाएर एक प्रतिशतभन्दा कममा सीमित गरेका छन्।
प्रत्यक्ष सेयर हिस्सा सानो भए पनि बेस्टिनेट नाम जोडिएका अन्य कम्पनीसँग उनको सम्बन्ध कायम रहेको अनुसन्धानमा उल्लेख छ। कम्तीमा ६ वटा कम्पनीले आफ्नो नाममा बेस्टिनेट प्रयोग गर्दै आएका छन्।

ती कम्पनीमा बेस्टिनेट टेक्नोलोजी, बेस्टिनेट एफडब्लूक्यूएस, बेस्टिनेट आईटी सोलुसन्स र बेस्टिनेट इन्टरनेसनल सोलुसन्स छन्। त्यसैगरी, बेस्टिनेट हेल्थकेयर र बेस्टिनेट पेमेन्ट सर्भिसेज पनि यो व्यावसायिक सञ्जालसँग सम्बन्धित छन्।
यीमध्ये बेस्टिनेट एफडब्लूक्यूएसको नाम परिवर्तन गरी ब्रोडफिल्ड नेचुरल रिसोर्सेज राख्यो। बेस्टिनेट हेल्थकेयरले पनि पछि आफ्नो नाम परिवर्तन गरेर जी३ हेल्थकेयर राखेको छ।
केही कम्पनी सन् १९९८ मा स्थापना भएको जेआर जोइन्ट रिसोर्सेज समूहका सहायक कम्पनी हुन्। मूल कम्पनी जेआर जोइन्ट रिसोर्सेजमा पनि अमिनुलको प्रत्यक्ष सेयर हिस्सा १ प्रतिशतभन्दा कम रहेको अनुसन्धानले देखाएको छ।
मूल कम्पनी र सहायक कम्पनीका सेयरधनी विभिन्न अवधिमा एकअर्कासँग जोडिएका देखिन्छन्। यी कम्पनीबीच आपसी कारोबारसमेत हुने गरेको कर्पोरेट अभिलेखमा उल्लेख छ।
स्वास्थ्य क्षेत्रमा करोडौँ रिंगिटको कारोबार
श्रमिक व्यवस्थापनसँगै स्वास्थ्य क्षेत्रमा पनि अमिनुलसँग सम्बन्धित कम्पनीहरूले ठूलो कारोबार गरेका छन्। विशेषगरी कोभिड महामारीका बेला टेस्ट किट आपूर्ति र स्वास्थ्य सेवासम्बन्धी सम्झौताबाट यी कम्पनीले उल्लेख्य आम्दानी गरेका थिए।
सन् २०२१ मा मलेसियाको सेयर बजारमा सूचीकृत जी३ ग्लोबलले बेस्टिनेट हेल्थकेयरको ५१ प्रतिशत सेयर खरिद गरेको थियो। त्यो सेयर बेस्टिनेट टेक्नोलोजीबाट खरिद गरिएको थियो। अमिनुल जी३ ग्लोबलका संचालकसमेत हुन्।
बेस्टिनेट हेल्थकेयरले अस्पतालका उपकरण, औषधि तथा अन्य स्वास्थ्य सामग्री वितरण गर्दै आएको छ। कम्पनीले सन् २०२२ मा एक सरकारी निकायलाई २० लाख कोभिड टेस्ट किट आपूर्ति गरेर कम्तीमा ३ करोड २० लाख रिंगिटको कारोबार गरेको अनुसन्धानमा उल्लेख छ।

त्यसपछि बेस्टिनेट टेक्नोलोजीले विभिन्न सेवाका लागि जी३ ग्लोबललाई वार्षिक ७ करोड रिंगिटभन्दा बढी भुक्तानी गरेको विवरण सार्वजनिक भएको छ।
कोभिड परीक्षणको सम्पूर्ण प्रक्रिया संचालन गर्न आवश्यक प्रविधि र अनुगमन प्रणालीसमेत सेवा सम्झौतामा समेटिएका थिए। यसरी एउटै व्यावसायिक सञ्जालसँग जोडिएका कम्पनीबीच ठूलो रकमको कारोबार भएको देखिन्छ।
छोराको नाममा पनि व्यवसाय विस्तार
अमिनुलको व्यावसायिक साम्राज्यमा उनका छोरा मुहम्मद काइलिज नर्मन अमिनुल इस्लामको भूमिका पनि बढ्दै गएको छ। क्वालालम्पुरको अन्तर्राष्ट्रिय विद्यालय र लन्डनको विश्वविद्यालयमा अध्ययन गरेका उनी जी३ ग्लोबलका ठूला सेयरधनीमध्ये एक हुन्।

मुहम्मदको संलग्नताले परिवारको व्यवसाय अर्को पुस्तामा विस्तार हुँदै गएको देखिन्छ। जी३ ग्लोबलले श्रमिक व्यवस्थापनभन्दा बाहिरका परियोजनामा पनि ठूला सम्झौता गरेको छ।
सन् २०२२ मा जी३ ग्लोबलले क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलका दुवै टर्मिनलमा सुरक्षा प्रणाली उपलब्ध गराउने ठेक्का पाएको थियो। ११ करोड ८० लाख रिंगिटमा सम्झौता भएको थियो।
त्यसबाहेक जी३ ग्लोबलको सहायक कम्पनीले माल्दिभ्समा आप्रवासी श्रमिकका लागि आवास सुविधा संचालन गर्ने ३० वर्षे सहुलियत सम्झौता गरेको थियो। यसअन्तर्गत रोजगारदाताबाट प्रत्येक श्रमिकका लागि मासिक शुल्क संकलन गर्ने व्यवस्था गरिएको छ।
सम्झौताअनुसार पहिलो वर्ष प्रत्येक श्रमिकका लागि रोजगारदाताले मासिक १०० अमेरिकी डलर तिर्नुपर्नेछ। त्यसपछि शुल्क बढेर मासिक १२० अमेरिकी डलर पुग्नेछ। त्यसमध्ये ५ डलर माल्दिभ्स सरकारलाई बुझाइनेछ।

यो व्यावसायिक मोडल मलेसियाको एफडब्लूसीएमएस प्रणालीसँग मिल्दोजुल्दो छ। दुवै व्यवस्थामा सेवा प्रदायक कम्पनीको आम्दानी श्रमिकसँग सम्बन्धित शुल्कबाट हुने संरचना अपनाइएको छ।
राजनीतिक नेतृत्व र उच्च अधिकारीसँग सम्बन्ध
अमिनुलको व्यावसायिक सफलतासँगै मलेसियाका राजनीतिक नेता र उच्च सरकारी अधिकारीसँगको उनको सम्बन्ध पनि चर्चामा छ। सरकारी परियोजनासँग जोडिएका कम्पनीमा पूर्वसरकारी अधिकारी तथा प्रभावशाली व्यक्तिहरूको सहभागिताले यस विषयमा थप चासो बढाएको हो।
बेस्टिनेटको अध्यक्षका रूपमा विभिन्न समयमा पूर्वगृहमन्त्री अज्मी खालिद र पाहाङका राजकुमार तेङ्कु अब्दुल रहमान सुल्तान अहमद शाह जोडिए। त्यस्तै, जी३ ग्लोबलको कार्यकारी अध्यक्षमा मलेसियाका पूर्वअध्यागमन महानिर्देशक आलियास अहमद छन्।
आलियास सरकारी सेवाबाट शिक्षा मन्त्रालयको महासचिवका रूपमा अवकाश भएका अधिकारी हुन्। सरकारी अनुभव भएका यस्ता व्यक्तिहरूको कम्पनीमा सहभागिताले अमिनुलको व्यावसायिक सञ्जाललाई थप चर्चामा ल्याएको छ।
पूर्वमानव संशाधनमन्त्री एम सराभाननसँग अमिनुलको व्यक्तिगत सम्बन्ध रहेको पनि सार्वजनिक भएको छ। सन् २०२३ को दीपावलीमा अमिनुल, उनका परिवारका सदस्य र अन्य व्यक्तिले मन्त्रीको निवासमा भेट गरेको तस्बिर सार्वजनिक भएको थियो।
भेटमा विवादमा परेका मानव संशाधन विकास निगमका प्रमुख कार्यकारी अधिकृत शाहुल हमिद शेख दाउदसमेत सहभागी थिए। पछि दुबईको मिराकल गार्डेनमा सराभानन, अमिनुल र अन्य व्यक्तिसँगै देखिएको अर्को तस्बिर सामाजिक सञ्जालमा फैलिएको थियो।

त्यस तस्बिरमा मलेसियाको सामाजिक सुरक्षा संगठनका अध्यक्ष तथा सिनेटर हनिफा अब्दुल्लाह पनि देखिएका थिए। तस्बिर सार्वजनिक भएपछि उनीहरू सँगै बिदा मनाउन गएको हुन सक्ने चर्चा चलेको थियो।
तर, सराभाननले मलेसियाकिनीलाई दिएको प्रतिक्रियामा आफू उनीहरूसँग बिदा मनाउन नगएको स्पष्ट पारेका छन्। उनले आफू परिवारसँग छुट्टै यात्रामा रहेका बेला दुबईमा संयोगले भेट भएको बताएका छन्।
सराभाननले अमिनुललाई मिलनसार, सहज रूपमा भेटघाट गर्न सकिने र सफल व्यवसायीका रूपमा वर्णन गरेका छन्। उनले अमिनुल आफ्ना असल मित्र रहेको बताउँदै आफूले चिनेका इमानदार व्यक्तिमध्ये एक भएको दाबी गरेका छन्।
अमिनुल सफल भएकै कारण अनावश्यक रूपमा निशाना बनाइएको सराभाननको तर्क छ। विदेशमा जन्मिएर पछि मलेसियाली नागरिक बनेका धेरै व्यक्ति रहे पनि अमिनुलको सफलतालाई लिएर बढी विवाद सिर्जना गरिएको उनले बताएका छन्।

२०११ बाट सुरु भएको सरकारी परियोजनाको पहल
अमिनुलको व्यावसायिक प्रभाव बुझ्न विदेशी श्रमिक व्यवस्थापन प्रणाली एफडब्लूसीएमएसको सुरुवाती प्रक्रियाबारे जान्न आवश्यक छ। यो परियोजना प्राप्त गर्ने प्रयास र यसमा संलग्न कम्पनीको स्वामित्वसम्बन्धी विवाद अदालतसम्म पुगेको थियो।
जेआर जोइन्ट रिसोर्सेज, यसका दुई सेयरधनी मोहम्मद जाकी जाफर र एसएच याह्या एसएच मोहम्मद तथा व्यवसायी मोहम्मद निजाम जाकेलबीच कानुनी विवाद भएको थियो। मुद्दाले एफडब्लूसीएमएस परियोजना प्राप्त गर्न भएका भेटघाट, सम्झौता र राजनीतिक पहुँचसम्बन्धी विवरण बाहिर ल्याएको छ।
निजाम मलेसियाको चर्चित कपडा व्यवसाय समूह जाकेल परिवारसँग सम्बन्धित व्यवसायी हुन्। अमिनुल मुद्दामा प्रत्यक्ष नजोडिए पनि अदालतमा प्रस्तुत विवरणमा उनलाई विभिन्न व्यावसायिक संरचनाका मुख्य योजनाकारका रूपमा चित्रण गरिएको छ।
अदालतमा प्रस्तुत विवरणअनुसार अमिनुलले सन् २०११ मा तत्कालीन प्रधानमन्त्री नजिब अब्दुल रजाकसमक्ष विदेशी श्रमिक व्यवस्थापन प्रणालीको प्रस्ताव राखेका थिए। क्वालालम्पुरको पुत्रा वर्ल्ड ट्रेड सेन्टरमा भएको भेटपछि नजिबले उनलाई गृह मन्त्रालयसँग प्रस्ताव अघि बढाउन सुझाव दिएको दाबी गरिएको थियो।
सन् २०१२ मा गृह मन्त्रालयका महासचिवले बेस्टिनेटलाई परियोजनाको अवधारणा परीक्षण गर्न स्वीकृति दिएको पत्र पठाएका थिए। यसपछि विदेशी श्रमिक व्यवस्थापनलाई डिजिटल प्रणालीमा लैजाने पहल औपचारिक प्रक्रियामा प्रवेश गरेको थियो।
तर, परियोजना कार्यान्वयन र नियन्त्रणको विषयमा विभिन्न पक्षबीच असहमति देखिन थाल्यो। कम्पनीको सेयर स्वामित्व र परियोजनाबाट हुने सम्भावित आम्दानी विवादका प्रमुख विषय बने।
२० करोड रिंगिटको परामर्श शुल्क प्रस्ताव
अदालतमा निजामले दिएको बयानअनुसार सन् २०१४ को अन्त्यतिर तत्कालीन उपप्रधानमन्त्री अहमद जाहिद हमिदीका ज्वाइँ सैयद अलमान सैयद अल्वीले उनलाई अमिनुलसँग सहकार्य गर्न आग्रह गरे। बेस्टिनेटलाई सरकारी परियोजना कार्यान्वयन र रणनीति तयार गर्न कठिनाइ भइरहेको भन्दै सहकार्यको प्रस्ताव आएको निजामको दाबी थियो।
त्यसको केही महिनापछि सन् २०१५ को मध्यतिर निजामले अमिनुललाई आफ्नो परामर्श सेवा प्रस्ताव गरे। उच्च सरकारी अधिकारी र प्रभावशाली व्यक्तिसँग सम्पर्क रहेको दाबी गर्दै उनले सेवाबापत २० करोड रिंगिट मागे।

निजामका अनुसार उनले एफडब्लूसीएमएस परियोजना अघि बढाउन सरकारी अधिकारीसँग ३० भन्दा बढी बैठक गरेका थिए। तर, अमिनुलले अदालतमा ती बैठक मुख्यतः जाकेल समूहकै कारोबारसँग सम्बन्धित रहेको दाबी गरे।
अमिनुलले निजामको काम प्रस्तावित शुल्कको तुलनामा पर्याप्त नभएको बताए। यही असहमतिले परियोजनाको नियन्त्रण र कम्पनीको सेयर स्वामित्वसम्बन्धी विवादलाई थप जटिल बनाएको थियो।
बेस्टिनेटको सेयर नियन्त्रण गर्न दबाब
सन् २०१७ मा निजामले एफडब्लूसीएमएस एसडीएन बीएचडी नामको आफ्नै कम्पनी दर्ता गरे। अदालतमा प्रस्तुत विवरणअनुसार उनले तत्कालीन गृहमन्त्री जाहिदको टिप्पणी रहेको पत्र देखाएर परियोजना आफ्नो कम्पनीलाई दिन निर्देशन भएको दाबी गरेका थिए।
त्यसपछि निजामले २० करोड रिंगिटको परामर्श सम्झौता खारेज गर्ने र त्यसको सट्टा बेस्टिनेटको नियन्त्रण पाउन प्रस्ताव अघि सारे। अन्ततः बेस्टिनेटको ४९ प्रतिशत र अन्य दुई सम्बन्धित कम्पनीको ७० प्रतिशत सेयर लिने सहमति भएको विवरण अदालतमा प्रस्तुत भएको थियो।
ती दुई कम्पनी टास टेक एसडीएन बीएचडी र सिनरफ्लक्स एसडीएन बीएचडी थिए। टास टेक सूचना प्रविधि कम्पनी थियो भने सिनरफ्लक्स श्रमिक आपूर्ति व्यवसायमा संलग्न थियो।
सम्झौतामा नाफा बाँडफाँटको व्यवस्थासमेत समावेश थियो। सम्बन्धित सेयर निजामकी पत्नी नोरहाना शार्खानको नाममा हस्तान्तरण गर्ने दस्ताबेज तयार भएको थियो।
यसपछि निजामले दर्ता गरेको एफडब्लूसीएमएस एसडीएन बीएचडी बन्द गरियो। तर, सन् २०१८ मा बारिसन नेसनल नेतृत्वको सरकार परिवर्तन भएपछि जेआर जोइन्ट रिसोर्सेजले सम्झौतालाई अदालतमा चुनौती दियो।
अदालतले सेयर हस्तान्तरणसम्बन्धी सम्झौता दबाब र बाध्यतामा गराइएको निष्कर्षसहित सम्झौतालाई अमान्य ठहर गरिदियो।
यो मुद्दाले एफडब्लूसीएमएस परियोजना संचालनको अधिकार प्राप्त गर्न विभिन्न व्यावसायिक समूहबीच कति ठूलो प्रतिस्पर्धा थियो भन्ने देखायो। सरकारी प्रणालीसँग जोडिएको दीर्घकालीन शुल्क आम्दानी नै यस्तो प्रतिस्पर्धाको प्रमुख आर्थिक आकर्षण थियो।
बेस्टिनेटको आम्दानी र नाफा कति?
एफडब्लूसीएमएस परियोजनाले बेस्टिनेटलाई ठूलो आम्दानी दिएको कम्पनीका वित्तीय विवरणले देखाउँछन्। मलेसियाको कम्पनी आयोगमा पेस गरिएको विवरणअनुसार सन् २०२२ मा कम्पनीले १३ करोड ८९ लाख २० हजार रिंगिट आम्दानी गरेको थियो।
त्यो अवधिमा बेस्टिनेटको नाफा ८ करोड ५० लाख रिंगिट पुगेको थियो। कम्पनीको सञ्चित नाफा १२ करोड ८० लाख रिंगिट रहेको वित्तीय अभिलेखमा छ।
मलेसियामा हरेक वर्ष ठूलो संख्यामा विदेशी श्रमिक प्रवेश गर्ने भएकाले विदेशी श्रमिक व्यवस्थापन प्रणाली संचालन गर्ने कम्पनीका लागि नियमित आम्दानीको अवसर हुन्छ। श्रमिकको संख्या बढ्दै जाँदा सेवा शुल्कबाट हुने कुल आम्दानीसमेत बढ्छ।
सरकारसँग १ अर्ब ६३ करोड रिंगिट दाबी
बेस्टिनेट र मलेसिया सरकारबीचको आर्थिक सम्झौता हालै अर्को ठूलो विवादमा पर्यो। कम्पनीले ३ वर्षसम्म विदेशी श्रमिकबाट संकलन गर्न नपाएको शुल्कबापत १ अर्ब ६३ करोड रिंगिट माग गर्दै सरकारलाई कानुनी मागपत्र पठायो।
बेस्टिनेटको दाबीअनुसार सरकारी व्यवस्थाका कारण कम्पनीले त्यो अवधिमा संकलन गर्न पाउनुपर्ने रकम प्राप्त गर्न सकेको थिएन। यो रकम कम्पनीको सन् २०२२ को वार्षिक आम्दानीको तुलनामा धेरै गुणा ठूलो हो।
ठूलो आर्थिक दाबी अदालतमा पुगे सरकारी कोषमाथि गम्भीर दायित्व सिर्जना हुन सक्ने जोखिम देखियो। त्यसपछि सरकारले बेस्टिनेटसँग एफडब्लूसीएमएस संचालनसम्बन्धी सम्झौता थप गर्ने निर्णय गरेको अनुसन्धानमा उल्लेख छ।
नयाँ व्यवस्थाअनुसार बेस्टिनेटले थप ६ वर्ष एफडब्लूसीएमएस सेवा संचालन गर्ने अधिकार पाएको छ। यससँगै प्रत्येक श्रमिकसँग सम्बन्धित सेवा शुल्क १०० रिंगिटबाट बढाएर २१५ रिंगिट पुर्याइएको छ।
यसरी प्रति श्रमिक शुल्कमा ११५ प्रतिशत वृद्धि भएको छ। यो सम्झौताले निजी कम्पनीलाई सरकारी प्रक्रियासँग जोडिएको दीर्घकालीन आम्दानीको स्रोत उपलब्ध गराएको छ। तर, यस्तो प्रणालीमा शुल्कको औचित्य, प्रतिस्पर्धा र सरकारी निगरानीका विषयमा प्रश्न उठ्नु स्वाभाविक देखिन्छ।
सार्वजनिक विवाद र कानुनी प्रश्न
अमिनुलको नाम व्यावसायिक विवादबाहेक सार्वजनिक मुद्दाका कारण पनि चर्चामा आएको छ। सन् २०१८ को आमनिर्वाचनअघि सामाजिक सञ्जालमा फैलिएको एउटा भिडियोमा उनी कार दुर्घटनापछि उत्पन्न विवादमा देखिएका थिए।
भिडियोमा सेतो बीएमडब्लू गाडी नजिकै अमिनुल र अर्का व्यक्तिबीच चर्काचर्की भइरहेको देखिन्छ। भिडियो खिच्ने व्यक्तिले अमिनुलमाथि राजनीतिक प्रभावको दाबी गरेको आरोप लगाए पनि ती दाबी स्वतन्त्र रूपमा प्रमाणित भएको छैन।
त्यसअघि सन् २०१७ मा एक किशोरमाथि हातपात गरेको आरोपमा पनि उनीविरुद्ध मुद्दा परेको थियो। जुन १७ मा सनवे पुत्रा होटलको लिफ्ट क्षेत्रमा भएको भनिएको घटनामा उनले आरोप अस्वीकार गरेका थिए।
अदालतको अभिलेखअनुसार यो मुद्दामा सन् २०१७ अगस्टदेखि डिसेम्बरसम्म ५ पटक सुनुवाइ भएको थियो। तर, त्यसपछि मुद्दा अघि नबढेको देखिन्छ भने उपलब्ध अभिलेखमा पनि यसको अन्तिम परिणाम स्पष्ट छैन।
मलेसियाकिनीले मुद्दाको अवस्थाबारे अदालतका रजिस्ट्रारसँग थप जानकारी मागेको जनाएको छ। ती घटनाबारे प्रतिक्रिया माग्दा अमिनुलले टिप्पणी गर्न अस्वीकार गरेका थिए।
उनले संयुक्त अनुसन्धानका लागि अन्तर्वार्ता दिन पनि अस्वीकार गरेको समाचारमा उल्लेख छ। आफूमाथि लागेका सबै आरोपबारे उनको विस्तृत प्रतिक्रिया सार्वजनिक हुन सकेको छैन।










