तलबी खातादेखि क्यूआर प्रयोगकर्तासम्म, बैंकको फोन लोनमा कसले कति ऋण पाउँछन्?

बिजमाण्डू
२०८३ कात्तिक ६ गते १०:४० | Oct 23, 2026
तलबी खातादेखि क्यूआर प्रयोगकर्तासम्म, बैंकको फोन लोनमा कसले कति ऋण पाउँछन्?


काठमाडौं । बैंकबाट ऋण लिन अब धितो खोज्नुपर्दैन, कागजपत्र बोकेर शाखा धाउनुपर्दैन। मोबाइलमा बैंकको एप खोलेर आवेदन दिएकै भरमा खातामा पैसा आउन सक्छ। ग्राहकले बैंकमा गरेको कारोबारका आधारमा प्रणालीले नै ऋणको सीमा निर्धारण गर्छ।

GBIME
Tata

यस्तो ‘फोन लोन’ सुविधा अहिले ११ वटा वाणिज्य बैंकले दिन थालेका छन्, जसबाट योग्य ग्राहकले मोबाइलबाटै अधिकतम दुई लाख रुपैयाँसम्म ऋण लिन सक्छन्। तर सबै ग्राहकले यो सुविधा पाउँछन् त? कुन बैंकले कस्ता ग्राहकलाई कति दिन्छन्? बैंकअनुसार यसको व्यवस्था फरक छ।

बैंकबाट ऋण लिन अब धितो चाहियो, न कागजपत्र बोकेर शाखा धाउनुपर्‍यो, न त कर्मचारीको निर्णय कुर्नैपर्ने बाध्यता! ग्राहकले मोबाइल एपमै आवेदन दिएपछि बैंक खातामा पैसा आउँछ। ‘फोन लोन’ सेवाबाट आफ्नो बैंकिङ कारोबारका आधारमा बिना धितो अधिकतम दुई लाख रुपैयाँसम्म ऋण लिन सकिन्छ।

एभरेष्ट, नबिल, एनआईसी एसिया, एनएमबि, सिटिजन्स, कुमारी, लक्ष्मी सनराइज, माछापुच्छ्रे, प्रभु, कृषि विकास र राष्ट्रिय वाणिज्य बैंकले ‘फोन लोन’ सेवा दिइरहेका छन्। केही बैंकले यस्तो सेवा विस्तार गर्ने तयारीसमेत गरेका छन्। बैंकहरूले ग्राहकलाई छिटो, सहज र सरल रूपमा कर्जा उपलब्ध गराउने उद्देश्यले मोबाइल एपबाटै ऋण दिने व्यवस्था गरेका हुन्।

फोन लोन लिन ग्राहकले सम्बन्धित बैंकको मोबाइल एपमा लगइन गरी उपलब्ध कर्जा विकल्पमार्फत आवेदन दिनुपर्छ। आवश्यक प्रमाणीकरण पूरा भएपछि बैंकले कर्जाका लागि ग्राहक योग्य भए/नभएको टुंगो लगाउँछ। यसका लागि छुट्टै कागजात बुझाउनुपर्ने व्यवस्था छैन। तर मोबाइल एपमा आवेदन दिएकै भरमा सबै ग्राहकले ऋण पाउने भने होइन।

ग्राहकले पाउने कर्जाको सीमा बैंकमा गरेको कारोबारका आधारमा निर्धारण हुन्छ। पछिल्लो ६ महिनाको खाताको कारोबार विश्लेषण गरेर प्रणालीले नै कति ऋण दिन सकिन्छ भन्ने तय गर्ने बैंकका अधिकारीहरू बताउँछन्। ग्राहकको कारोबारअनुसार न्यूनतम केही सय रुपैयाँदेखि अधिकतम दुई लाख रुपैयाँसम्म ऋण पाउन सकिने व्यवस्था छ।

अधिकांश बैंकले एक वर्षभित्र कर्जा भुक्तानी गर्नुपर्ने व्यवस्था गरेका छन् भने एनएमबि बैंकले अधिकतम दुई वर्षसम्मको अवधि दिएको छ।

कृषि विकास बैंकले यसै साता फोन लोन सेवा सुरु गरेको हो। बैंकले पहिलो चरणमा तलबी खातावाललाई लक्षित गरेको छ। बैंकको कर्जा व्यवसाय तथा ट्रेजरी विभाग प्रमुख सुदीप दाहालका अनुसार बैंकमा स्थानीय तहका कर्मचारी, शिक्षक तथा अन्य क्षेत्रका कर्मचारीका गरी करिब २० लाख तलबी खाता छन्।

‘ती तलबी खातावाललाई मध्यनजर गर्दै फोन लोन सेवा सञ्चालनमा ल्याएका हौं,’ दाहालले भने। उनका अनुसार ग्राहकले आफ्नो मोबाइल एपबाटै आवेदन दिन सक्छन्।

कारोबारका आधारमा प्रणालीले कर्जाको सीमा निर्धारण गर्ने भएकाले कर्मचारीले व्यक्तिगत रूपमा ऋणको रकम तय गर्दैनन्। ग्राहकले आम्दानी र कारोबारअनुसार पाँच सयदेखि दुई लाख रुपैयाँसम्म कर्जा पाउन सक्छन्। दोस्रो चरणमा अन्य खातावाललाई पनि सेवा विस्तार गर्ने बैंकको योजना छ।

नबिल बैंकले भने आफ्ना खातावालसँगै क्यूआर सेवा लिएका ग्राहकलाई पनि फोन लोन उपलब्ध गराउँदै आएको छ। बैंकले न्यूनतम १० हजारदेखि अधिकतम दुई लाख रुपैयाँसम्म कर्जा दिन्छ। कर्जाको सीमा ग्राहकले पछिल्लो छ महिनामा गरेको कारोबारका आधारमा तय हुन्छ।

एभरेष्ट बैंकले फोन लोन सेवा तलबी खातावालमा सीमित गरेको छ। बैंकका सूचना अधिकारी केशवराज पौडेलका अनुसार हाल साधारण बचत खातावालले यो सुविधा पाउँदैनन्।

तलबी खातावालले भने अधिकतम दुई लाख रुपैयाँसम्म ऋण लिन सक्छन्। ‘हामीकहाँ फोन लोन तलबी खातावालले पाउँछन्। साधारण बचतकर्तालाई भने त्यो सेवा अहिलेलाई छैन,’ उनले भने।

एनएमबि बैंकले आफ्ना ग्राहकलाई दुई लाख रुपैयाँसम्म फोन लोन उपलब्ध गराउँदै आएको छ। अन्य बैंकले पनि ग्राहकको कारोबार र योग्यताका आधारमा यस्तो कर्जा दिने व्यवस्था गरेका छन्।

मोबाइलबाटै ऋण लिन सकिने सुविधाले आकस्मिक खर्च व्यवस्थापन सहज बनाउने भए पनि कर्जाको सीमा, ब्याजदर, शुल्क र भुक्तानी अवधिबारे आवेदन गर्नुअघि सम्बन्धित बैंकका सर्तबारे जानकारी लिँदा ग्राहकलाई प्रक्रिया सजिलो हुने बैंक कर्मचारीहरु बताउँछन्।