विराटनगर। विराटनगरबाट दुई वर्षअघि प्रयोगका रूपमा गरिएको माउन्टेन फ्लाइट (पर्वतीय उडान)ले आगामी शनिबारदेखि निरन्तरता पाउने भएको छ ।
विराटनगरका होटल तथा पर्यटन व्यवसायीले भवीश श्रेष्ठको नेतृत्वमा स्थापना गरेको ‘विराट होलिडेज’ नामको व्यावसायिक प्रतिष्ठानले यही शनिबारदेखि विराटनगरबाट माउन्टेन फ्लाइट सुरु गर्ने भएको हो । विराट होलिडेजद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले यति एयरको विमान भाडामा लिएर साप्ताहिक रूपमा पर्वतीय उडान गर्न लागिएको बताए ।
अध्यक्ष श्रेष्ठले विराटनगर विमानस्थलबाट ५५ मिनटको हुने माउन्टेन फ्लाइटको भाडादर ९ हजार ९ सय रुपैयाँ राखिएको जानकारी दिए । राजधानी काठमाडौंबाट माउन्टेन फ्लाइटको भाडादर ११ हजार ६ सय ५० रहेको उनको दाबी छ ।विराटनगरमा ०७३ फागुनमा भएको विराट एक्स्पोमा यति एअरको २९ सिटे जेट स्ट्रिम जहाजबाट माउन्टेन फ्लाइट गराइएको थियो । स्थानीय पर्यटन तथा होटल व्यवसायीकै सक्रियतामा गरिएको उक्त उडानको सफलतापछि यसको निरन्तरताका लागि उनीहरू प्रयासरत थिए ।
व्यवसायीले प्रदेश र सङ्घीय दुबै सरकारलाई विराटनगरबाट माउन्टेन फ्लाइटको वातावरण बनाइदिन हारगुहार गर्दै आएका थिए । तर दुबै सरकारले यसमा खासै ध्यान नदिएपछि उनीहरू आफैँ अग्रसर भएका हुन्। अध्यक्ष भवीशले ५५ मिनटको उडानमा झ्यालतिर १९ यात्रु राखिने र उनीहरूलाई ८ हजार मिटरभन्दा अग्ला कञ्चनजङ्घा, मकालु, सगरमाथा, ह्लोत्से र गौरीशङ्कर हिमालसम्म पुर्याएर विराटनगर विमानस्थलमै ल्याइपुर्याउने रुट तय गरिएको छ ।
‘हामीले नेपालका सबैजसो एयरलाइन्सलाई माउन्टेन फ्लाइटका लागि पटक–पटक अनुरोध गर्यौ’, श्रेष्ठको भनाइ थियो, ‘तर यात्रु नै हुँदैनन् भनेर कुनै विमान कम्पनी तयार भएनन् । त्यसपछि हामी आफैँले चार्टर्ड गरेर हप्ताको एक पटक उडाउन लागेका हौँ । यसको सफलतासँगै निरन्तरता र सङ्ख्या थपिँदै जानेछ ।’
तत्काल प्रदेश १ र २ का मुख्य शहरी क्षेत्र विराटनगर, इटहरी, दमक, बिर्तामोड, धरान, लाहान र सीमावर्ती भारतीय बजारलाई लक्षित गरेर यात्रु जम्मा गरिएको उनले उल्लेख गरे । विराटनगरबाट माउन्टेन फ्लाइट सुचारु हुन सकेमा भारतको विहार, पश्चिम बङ्गाल, असम, सिक्किम र उत्तरप्रदेशबाट यात्रु ल्याउन सकिने तथा भूटान, बङ्गलादेशका यात्रुलाई पनि आकर्षित गर्न सकिने उनको विश्वास थियो ।साथै पूर्व आउने पर्यटकको बसाइ पनि लम्बिने र यसबाट पूर्वको पर्यटनले प्रशस्त लाभ पाउन सक्ने उनको धारणा छ ।
विराटनगरमा रहेका सबै ट्राभल एजेन्सीले यस फ्लाइटको टिकट विक्री गरिरहेका छन् ।प्रदेश १ मा रहेका लुक्ला, फाप्लु, लामिडाँडा, रुम्जाटार, खानीडाँडा, थामखर्क, ताप्लेजुङ, इलामको सुकेलुम्बा लगायतका विमानस्थलमा विराटनगरबाट हवाई सम्पर्क छैन । माउन्टेन फ्लाइटले सफलता पाएमा ती विमानस्थल पनि विराटनगरसित जोडिन सक्ने भवीशको आशा छ ।
यतिका विराटनगरस्थित स्टेसन म्यानेजर प्रेम कुँवरले विराटनगरबाट माउन्टेन फ्लाइट सफल हुने दाबी गरे । नागरिक उड्डयन कार्यालय विराटनगरका प्रमुख टेकनाथ सिटौलाले विराटनगरबाट माउन्टेन फ्लाइटका लागि कुनै समस्या नभएको जानकारी दिए ।