काठमाडौं।नेपाल अटोमोबाइल डिलर्स एशोसिएसन(नाडा)ले बजेटलार्इ सकारात्मक मान्दै बजेटले आर्थिक स्थायित्वसँगै मुलुकको अर्थतन्त्रलाई विस्तार गर्न सहयोग पुर्याउने ठहर गरेको छ।
नाडा अध्यक्ष शम्भुप्रसाद दाहालद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक स्थायित्वपछि संघीय सरकारले प्रस्तुत गरेको बजेट आर्थिक अनुशासनभित्र रहेर ल्याइएको छ जुन अत्यन्तै सकारात्मक छ। उनले राजनीतिक एजेण्डा समेटिएको विस्तारित बजेटलाई भन्दा मूलरुपमा अर्थतन्त्रलाई दीगो बनाएर छरितो बजेटलाई प्राथमिकता दिनु अर्थमन्त्री डा. युवराज खतिवडाको सफलता भएको समेत बताएका छन्।नाडाले बजेटमा विभिन्न बस्तुमा आत्मनिर्भर हुन आधारभूत संरक्षण दिने, प्रदेशमा कम्तीमा एक औद्योगिक क्षेत्र, एक आर्थिक क्षेत्र र एक विशेष क्षेत्र स्थापनाको सम्भाब्यता अध्ययनका लागि बजेट विनियोजन गर्नु सकारात्मक रहेको उल्लेख गरेको छ।
नाडाले निरन्तर रुपमा भन्दै आएका विभिन्न अवधारणगत तथा नीतिगत सुझावहरुलाई यस बजेटमा समावेश गरिएको जनाएको छ । ‘खासगरी सरकारले सवारी साधनहरुलाई विलासिताको बस्तुमा बर्गिकरण गरी सोही अनुरुप व्यवहार गर्दे आएकोमा यस बजेटले १००० सीसी सम्मका सवारी साधनहरु र १५० सीसी सम्मका मोटरसाइकललाई जनताको साधनको रुपमा लिई महशुल नबढाइएको हो भन्ने हाम्रो ठम्याइ छ,विज्ञप्तिमा भनिएको छ ‘सरकारले आशिंक रुपमा भए पनि सवारी साधन विलासिताको बस्तु होइन भनि स्वीकार गरेको देखिन्छ।’ नाडाले बढी सीसीलार्इ अत्याधिक अन्तशुल्क बढाउँदा सवारी साधन बिक्री घटेर राजस्व असुली प्रभावित हुने समेत जनाएको छ।