७ अर्बको मेगा प्रोजेक्ट : यस्तो छ ३ तले पार्किङसहित मूलपानी क्रिकेट मैदानको डिजाइन

बिजमाण्डू
२०८१ बैशाख २५ गते ०८:२३ | May 7, 2024
७ अर्बको मेगा प्रोजेक्ट : यस्तो छ ३ तले पार्किङसहित मूलपानी क्रिकेट मैदानको डिजाइन
मूलपानी क्रिकेट रंगशालाको डिपीआर प्रस्तुती

काठमाडौं। राष्ट्रिय गौरवको आयोजनामा परेको मूलपानी क्रिकेट मैदानको डिजाइन युवा तथा खेलकुद मन्त्रालयमा प्रस्तुत गरिएको छ।

Tata
GBIME
Nepal Life

युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, मन्त्रालयका सचिव सुमनराज अर्याल लगायतको उपस्थितिमा मूलपानी मैदानको डिजाइन र संरचनाको बारेमा पुल्चोक इन्जिनियरिङ कलेजले डिजाइन प्रस्तुत गरेको हो।

डिजाइनअनुसार हालको तल्लो मूलपानी मैदानलाई प्रमुख मैदानका रूपमा निर्माण गरिनेछ। त्यहाँ २० हजार ८ सय ७८ दर्शक क्षमता रहनेछ। यो स्टेडियमको मुख्य विशेषता भनेको मैदानमा जडान गरिने सब–एयर प्रविधि हुनेछ। डिजाइन निर्माण टोलीका अनुसार पानी परेको १० देखि १२ मिनेटभित्र खेल खेल्न मैदान तयार हुनेछ।

डिजाइनमा तल्लो र माथिल्लो मूलपानी मैदान दुवै छन्। स्टेडियममा तीन तलाको अन्डर ग्राउन्ड पार्किङ, पुरुष र महिलाको लागि तीन सय क्षमताको होस्टेल, पौडी पोखरी, सुविधा सम्पन्न ट्रेनिङ सेन्टर, फ्लड लाइट, साउन्ड सिस्टम, डिजिटल डिस्प्ले बोर्ड, ६ लेनको इन्डोर प्रशिक्षण हल, आउटडोर प्रशिक्षण स्थल लगायतका संरचना हुने डिजाइनमा छ।

हालको माथिल्लो मूलपानी ग्राउन्ड प्रशिक्षण मैदानको रुपमा रहनेछ।

खेलकुदको ‘मेगा प्रोजेक्ट’का रूपमा रहेको मूलपानी क्रिकेट मैदानको डिजाइन अनुसारको सुविधा सम्पन्न अत्याधुनिक स्टेडियम निर्माणका लागि ७ अर्ब ३४ करोड ७० लाखको बजेट लाग्ने अनुमान गरिएको छ।

गत कात्तिक २३ गते राष्ट्रिय गौरवको आयोजनामा परेपछि राष्ट्रिय खेलकुद परिषद्ले निर्माणको लागि पुल्चोक इन्जिनियरिङ कलेजसँग सम्झौता गरेको थियो। सोही अनुरुप कलेजले डिजाइन प्रस्तुत गरेको हो।

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठका अनुसार चालु वर्ष नै यो मैदानको लागि ५० करोडदेखि एक अर्ब रुपैयाँसम्मको बजेट निकासा हुने सम्भावना छ। स्टेडियमको डिजाइनमा दर्शकको सुरक्षा नै प्रमुख रहने भन्दै त्यसमा सबैभन्दा बढी ध्यान दिनुपर्ने उनले बताए।

राखेप सदस्य सचिव टंकलाल घिसिङले आगामी बजेटमा यही प्रोजेक्टलाई प्राथमिकतामा राखिएको जानकारी दिए। गत कात्तिक २३ गते सरकारले मूलपानी, चितवन र विराटनगरमा निर्माणाधीन रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको थियो।