काठमाडौं। होटल संघ नेपाल (हान)ले पर्यटक भित्र्याउन पूर्वाधार विकासमा सरकारले विशेष जोड दिनुपर्ने जनाएको छ। विहीबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टसँग छुट्टाछुट्टै भेट गर्दै संघले पर्यटनको प्रचुर संभावना भए पनि पूर्वाधार कमजोर भएकाले पूर्वाधार विकासमा जोड दिएको हो।
हानले त्रिभुवन विमानस्थल सुधार आयोजनाको काममा तीव्रता दिन तथा गौतम बुद्ध, पोखरा र निजगढ विमानस्थल निर्माण कार्य छिटो अघि बढाउन पनि माग गरेको छ। भारत र चीनबाट स्थलमार्ग हुँदै आउने पर्यटकका लागि नाका क्षेत्रमा भौतिक सुविधा एवं पर्यटक मैत्री वातावरण निर्माणका लागि आग्रह पनि गरेको छ।
संघका अध्यक्ष अमरमान शाक्यको नेतृत्वमा रहेको टोलीले रैथाने परिकारलाई विश्वव्यापीकरण गर्नका लागि सरकारसँग सहयोगका लागि आग्रह गरेको छ। यसैगरि संघले पशुपति, लुम्बीनी लगायतका धार्मीक क्षेत्रमा वौद्ध सर्किट, हिन्दु सर्किट, ग्रेट हिमालयन ट्रेल लगायतका अवधारणा विकासमा सहयोग गर्न अपिल गरेको छ।
ताल तलैया, निकुञ्जलगायत पर्यटकीय स्थलको योजनाबद्ध विकास गरि २०३० सम्म ५० लाख पर्यटक भित्र्याउन प्रत्येक प्रदेशमा टुरिजम ब्राण्डिङ गर्न संघले आग्रह गरेको छ। भेटमा पर्यटन मन्त्री अधिकारीले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरि १५ लाख पर्यटक भित्र्याउन पहल गर्ने आश्वासन दिएका छन्।
यस्तै संघले श्रम लगायत सामाजिक सुरक्षा सम्बन्धी नीति नियम फराकिलो रुपमा संसोधन गराउन मन्त्री बिष्टलाई आग्रह गरेको छ।