काठमाडौं। नेपालका सातवटा प्रदेशमध्ये प्रदेश नं.३ मा सबैभन्दा बढी डेरी उद्योगहरु रहेका छन्। देशभरमै सबैभन्दा धेरै दूध पनि प्रदेश नम्बर ३ मै उत्पादन हुने गरेको तथ्यांक छ। दैनिक रुपमा प्रदेश नम्बर ३ मा १८ लाख लिटर दूध उत्पादन हुँदै आएको छ।
नेपाल डेरी एसोसिएसनले दिएको तथ्याङक अनुसार प्रदेश न.३ मा ३५ ठूला, १५मझौला, २० साना र ६ सयवटा घरेलु डेरी रहेका छन्।
त्यसै गरी प्रदेश २ मा ११ लाख , प्रदेश ४ मा ८ लाख, प्रदेश ६ मा ४ लाख लिटर दूध दिनहुँ उत्पादन हुने गरेको छ। प्रदेश १ मा ३ लाख ४८ हजार, ५ मा २ लाख ९५ हजार र प्रदेश ७ मा सबैभन्दा कम १ लाख लिटर दूध उत्पादन हुने गरेको तथ्यांकले देखाएको छ।
देशभरका दुग्ध उद्योगमा १५ अर्व रुपैयाँभन्दा बढी लगानी रहेको नेपाल डेरी एसोसिएसनले जनाएको छ। साढे चार लाख कृषकहरुले डेरी क्षेत्रमा रोजगारीको अवसर पाएका छन्। दूध किन्दा दैनिक रुपमा शहरबाट गाउँमा ३ करोड रुपैयाँ जाने गरेको एसोसियनले जनाएको छ।
अहिले देशभर साढे ४८ लाख लिटर दुध उत्पादन हुने गरेको छ। देशका विभिन्न जिल्लाहरु दूध उत्पादनमा आत्म निर्भर बन्दै गएको बताइएको छ। नेपालको कुल ग्राहस्थ उत्पादनमा डेरी क्षेत्रको ९ प्रतिशत योगदान रहेको एसोसिएसनद्धारा जारी विज्ञप्तीमा उल्लेख छ।
उत्पादनको ५० प्रतिशत किसान आफैंले तथा १५ प्रतिशत औपचारिक क्षेत्र र ३५ प्रतिशत अनौपचारिक क्षेत्रमा खपत हुने गरेको पनि एसोसिएसनले जनाएको छ।
नेपाल डेरी एसोसिएसन नेपालभरिका दूग्ध व्यवसायीको छाता संगठन हो। विस २०५५ सालमा स्थापना भएर हाल ७ वटै प्रदेशमा छरिएर रहेका दूध व्यवसायीलार्इ समेट्दै आएको छ। संस्थामा २ सय भन्दा बढी उद्योगहरु आवद्ध रहेका छन्।
१९ औं साधरणसभा तथा ७ औं महाधिवेशनको पूर्वसन्ध्यामा पत्रकार सम्मेलन गर्दै एसोसिएसनले दूग्ध क्षेत्रको विकासकालागि नीतिगत परिवर्तन गर्नुपर्ने जनाएको छ।