काठमाडौँ। इन्साइडर ट्रेडिङ गरेको आरोपमा नेपाल धितोपत्र वोर्डले ब्रोकर नम्बर १० प्रज्ञान सेक्युरिटिजको कारोबार रोक्का राख्दै अनुसन्धान सुरु गरेको छ। सिभिल बैंकको साधारणसभामा हकप्रद शेयरको प्रस्ताव पुग्नुअघि नै त्यो सूचना चुहाएको आरोपमा वोर्डले अनुसन्धान सुरु गरेको हो।
'भाइबरमार्फत सूचना चुहाएर इन्साइडर ट्रेडिङलाई प्रबर्द्धन गरेको देखिएको छ' वोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता निरज गिरिले बिजमाण्डूसँग भने, 'यसको अनुसन्धान आजबाट हामीले सुरु गरेका छौं। अनुसन्धान टुङ्गोमा नपुगेसम्म कारोबार स्थगित राखेका छौं।'
सिभिल बैंकले सुरुमा ३० प्रतिशत हकप्रद शेयर दिने प्रस्ताव गरेको थियो। उसले साधारणसभा डाक्नुअघि नै ब्रोकर कम्पनी प्रज्ञानले भाइवरमार्फत सूचना चुहाएर सिभिले प्रस्ताव संशोधन गर्दै हकप्रद ४० प्रतिशत दिने उल्लेख गरेको थियो।
भोलिपल्ट सिभिलको साधारणसभाले प्रज्ञानले अघिल्लो दिन दावी गरेजस्तै हकप्रद ३० बाट बढाएर ४० प्रतिशत पुर्याएको प्रस्ताव अनुमोदन गर्यो। 'सर्सर्ति हेर्दा गम्भीर अपराध भएको देखिन्छ' अनुसन्धानरत बोर्ड स्रोतले जानकारी दियो, 'वित्तीय अपराध पुष्टि भएमा लाइसेन्स खारेजीसँगै अन्य कारवाही पनि हुन्छ।'
कारोबारमा रोक लागेपछि प्रज्ञान सेक्युरिटिजका प्रबन्ध निर्देशक प्रल्हाद ओली वोर्डमा छलफलका लागि पुगेका छन्।
केही समयअघि मात्र विराटनगरमा खोलिएको शाखाबाट सूचना चुहावट गरिएको हो। ओलीले आफुहरुलाई लगाइएको आरोप झुटो रहेका बताएका छन्। आफुहरुलाई बद्नाम गर्ने नियतले कसैले हाम्रो नाम ठेगाना राखेर छुट्टै एकाउन्ट श्रृजना गरी भाइबरमा हल्ला फिँजाएको उनले बताए।