काठमाडौं। नेपाल नागरिक उड्ययन प्राधिकरणले कानुन अनुसारनै कार्गो सेवा प्रवन्ध दस्तुर वृद्धि गरेको बताउँदै व्यवसायीको हड्तालले महशुल परिवर्तन नहुने अडान राखेको छ।
'विसौं बर्षदेखी संसारको कुन देशमा एकै किसिमको शुल्क हुँदैन' त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले भने 'सरकार र नागरिक उड्ययन प्राधिकरणले बनाएको कानुनको पालना गर्ने र गराउने हो। व्यवसायीले पचासौं दिन हड्ताल गरेपनि वृद्धि भएको शुल्क फिर्ता गर्दैनौ।'
सरोकारवालासँग छलफलै नगरी नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेडले आफूखुसी चर्को शुल्क बृद्धि गरेको भन्दै आयात निर्यातसँग सम्बन्धित १४ वटा संगठनले आयात निर्यातका सबै काम ठप्प पारेका छन्।उनीहरुले शुल्क फिर्ता नलिएसम्म आयात/निर्यात ठप्प पार्ने चेतावनी दिएका छन्।
प्राधिकरणले २०६७ साल भदौमा सरकारवाट स्वीकृत गरी विमानस्थल सेवा शुल्क नियमावलीमा उल्लेखित करको दरलाई कार्यान्वयन गरेको जनाएको छ।नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेडका महाप्रवन्धक कुमार केसीले उड्ययन प्राधिकरण र कम्पनीबीच भएको सम्झौतालाई कार्यान्वयन गर्न सुचना निकालिएको प्रवक्ता ठाकुरले बर्षौदेखि कम्पनीले प्राधिकरणलाई कम रकम दिएको भन्दै व्यापारी र गोदाम कम्पनी पोस्ने काम रोक्न शुल्क बढाइएको बताए। विमानस्थल कार्यालयले कारोवारको ७० प्रतिशत रकम र गोदाम कम्पनीले ३० प्रतिशत रकम पाउने सहमति छ।
के छ विमानस्थल दस्तुर नियमावलीमा ?
विमानस्थल कार्यालयले नागरिक उड्ययन प्राधिकरणको सेवा शर्त नियमावलीको अनुसुची ७ र ८ मा स्पष्ट व्यवस्था भएबमोजिम कर असुल गरेको जनाएको छ। नियमावलीको अनुसुची ७ मा मालसामान ढुवानी कार्गो शुल्क अन्तराष्ट्रिय उडानमा आगमनतर्फ प्रति केजी पचास पैसा र आन्तरिक उडानमा प्रस्थानतर्फ प्रति किलोग्राम तीस पैसा असुल गर्ने उल्लेख छ।
त्यस्तै अनुसुची ८ मा मालसामानको प्रकृति हेरेर निर्यात गर्दा साधारणलाई प्रति केजी दुई रुपैयाँ र आयात गर्दा प्रतिकेजी पाँच रुपैयाँ लिने उल्लेख छ। त्यस्तै बहुमूल्यतर्फ निर्यात गर्दा प्रतिकेजी तीन रुपैयाँ र आयात गर्दा ८ रुपैयाँ प्रतिकेजी असुल गर्ने उल्लेख छ।
त्यस्तै नाशवान सामानतर्फ निर्यात गर्दा प्रतिकेजी तीन रुपैयाँ र आयात गर्दा प्रतिकेजी ८ रुपैयाँ लिने नियमावलीमा उल्लेख छ। खतराजन्य सामाग्रीमा निर्याततर्फ प्रतिकेजी ६ रुपैयाँ र आयाततर्फ प्रतिकेजी १६ रुपैयाँ लिने उल्लेख छ।
एक्सप्रेस कुरियरतर्फ आयत निर्यातमा प्रतिकेजी पाँच रुपैयाँ शुल्क तथा जिवित जनावर आयात वा निर्यात गर्दा महुमूल्य मालसामान आयात वा निर्यात गर्दा लाग्ने दस्तुरको दोब्वर रुपैयाँ लाग्ने नियम छ।आन्तरिक उडानतर्फ, मृत शरीर र दैवी प्रकोपको मालसामान प्रवन्ध वापत कुनै दस्तुर नलाग्ने उल्लेख छ।