काठमाडौं। लघुवित्त संस्था सञ्चालनका लागि आवेदन दिए पनि सबै संस्थाले सञ्चालन अनुमति नपाउने भएका छन्। चालु आर्थिक बर्षको मौद्रिक नीतिमार्फत नयाँ संस्थाका लागि आवेदन बन्द गरिए पनि आवेदन दिइसकेकाहरुलाई स्वीकृति दिने राष्ट्र बैंकको नीति थियो।
यो पनि पढ्नुस्: लघुवित्त लाइसेन्सिङमा NRB को 'पोलिसी करप्सन'
राष्ट्र बैंकले बिहीबार सुचना जारि गर्दै आवेदन पाएका सबैलाई लाइसेन्स नदिने प्रस्ट पारेको छ। राष्ट्र बैंकमा लघुवित्त संस्था खोल्न करिव ९१ वटा आवेदन परेको थियो। यसवाहेक पनि गैरसरकारी संस्थाबाट स्तरोन्नति भएर लघुवित्त हुने प्रकृयामा २५ वटा संस्था छन्।
राष्ट्र बैंकले बित्तीय कारोबार गर्न सैद्धान्ति सहमति पाएर फिट एन्ड प्रोपर टेस्ट भइसकेसँगै अन्तरकृया भइसकेका संस्थाहरुलाई मात्र लाइसेन्स दिने भएको छ। आवेदन दिएकामध्ये १७ वटा संस्थाको मात्र फिट एण्ड प्रोपर टेस्ट भएको छ।
राष्ट्र बैंकको नयाँ नीतिका कारण ७४ वटा संस्थाले लघुवित्तको इजाजत नपाउने निश्चित भएको छ। राष्ट्र बैंकले फिट एण्ड प्रोपर टेस्ट नभइसकेका संस्थाका हकमा थप अध्ययन गर्ने भन्दै तत्काललाई सञ्चालन स्वीकृति नदिने तयारी गरेको हो।
राष्ट्र बैंकले वित्तीय मध्यस्तताको काम गरिरहेका गैरसरकारी संस्थाहरुका हकमा कानुनी तथा प्रशासनिक जटिलताको उपयुक्त निकासपछि मात्र लाइसेन्स दिने तयारी गरेको छ। राष्ट्र बैंकले यसका लागि कम्पनी रजिष्ट्रारको कार्यालयमा ती संस्थाहरु दर्ता भएर आएपछि उपयुक्तताको आधारमा मात्र लाइसेन्सन दिने भएको हो।