उमेश पौडेल/बिजमाण्डू
काठमाडौं। केही वर्ष अघिसम्म उनको दैनिकी थियो, भारतबाट कोइला आयात गरी बेच्नु। आफ्नो पुरानो पेशालाई परिवर्तन गर्दै उनले सुरु गरे संगम स्वीट्स। भारतबाट झापामा कोइला आयात गरी बेच्दै आएका संगम शर्मा चेन मिठाई पसल संगम स्वीट्सको मालिक बनेका छन्।
२०५४ सालमा झापाको दमकबाट आफ्नो व्यवसाय सुरु गरेका शर्मा अहिले संगम स्वीट्सको ब्राण्ड स्थापित गर्न सफल भएका छन् । सातलाख रुपैयाँबाट गरेको संगम स्वीट्सको सम्पत्ति अहिले तीन करोड पुगिसकेको छ। कम्पनीले यो अवधिमा लाखौं ग्राहकको मन पनि जितिसकेको छ।
मिठाइको ब्यापारमा मारवाडी समुदायको वर्चश्व रहेको यो व्यवसायमा उनले ठुलो फड्को मारिसकेका छन्। धेरैको मुखमा संगम स्वीट्स झुण्ड्याइसकेका छन्। आँगन, रामेश्वरम र गुलाब जस्ता भारतीय ब्राण्ड नेपालमा लोकप्रिय छन् । 'ग्राहकको माग अनुसार हामी त्यसलाई प्राथमिकतामा राखेर उत्पादन गर्छौं,' शर्माले भने, ‘स्वदेशको उत्पादन प्रयोग गरेर नेपाली ब्रान्डलाई अझ प्रमोसन गर्ने लक्ष्य नै हाम्रो हो।'
स्थानीय स्तरमा उत्पादन भएका दूध र दूधजन्य पदार्थ संगम स्वीट्सले झापा र इलामबाट काठमाडौं ल्याउने गरेको छ। 'हामी झापा र इलामबाट आवस्यक दूध र दूधजन्य पदार्थ ल्याउछौं,' उनले भने, 'यसले हाम्रो घरेलु उद्योगलाई पनि टेवा पुगेको छ।'
नेपालमै मेहनत गरे विदेशमा पसिना बगाउन नपर्ने बताउँछन् शर्मा। 'मेहनत गरे नेपाल छाडेर विदेश जान पर्दैन यहिँ छन् अवसर,’ उनी भन्छन्, ‘मेरो १८ वर्षको फल हो यो र मैले एकसय ५० जनालाई रोजगारी दिएको छु र यसमा खुसी लाग्छ।’
उनले आफू आफ्नो काममा दृढ रहेकाले नै आफ्नो लक्ष्यमा सफल भएको बताए। 'अरुले के गर्छन त्यो थाहा छैन म आफ्नो काममा दृढ रहेको छु र आगामी दिनमा नेपालमा यो क्षेत्रलाई धेरै अगाडी बढ्ने लक्ष्य छ,' आफ्नो उद्देश्यबारे उनी यसरी प्रष्ट्याउँछन्।
स्वदेशकै जनशक्ति र स्वदेशी उत्पादनलाई प्राथमिकतामा राखेर काम गर्ने गरिएको पनि उनले बताए। 'विदेशी ब्राण्डसँग कम्पिटिसन गर्ने भन्दा पनि आफ्नो उत्पादनलाई कसरी लोकप्रिय बनाउने भन्ने ध्येयका साथ हामीले सबै काम विस्तारित गरेका हुन्छौं,' उनले भने।
'सुरुमा एउटा फ्रिज र सोकेस नभएको बेलाबाट सुरुवात गरेका हौं,' उनी सुनाउँछन्, ‘धैर्य गर्नुपर्छ कर्मको फल त अवस्य पाइन्छ र जुन मैले पाइरहेको छु।’ कम्पनीलाई आवस्यक पर्ने अधिकतम कच्चापदार्थ आफैंले उत्पादन गर्ने गरेको जानकारीय दिँदै शर्माले भने, ‘मिठाइका लागी आवस्यक कच्चा पदार्थदेखि उत्पादन, संकलन र वितरण गर्ने भएकाले गुणस्तरमा कहिल्यै सम्झौता गर्ने छैनौं।'
पाचौं शाखा कालीमाटीमा
यसअघि झापामा दुई र काठमाडौं दुईवटा शाखा विस्तार गरेको संगम स्वीट्सले एककरोड रुपैयाँ लगानीमा काठमाडौंको कालीमाटीमा आफ्नो शाखा खोलेको छ। कम्पनीले अझै केही शाखा विस्तारको योजना पनि बनाएको उनले जानकारी दिए। नयाँ शाखाको उद्योग राज्यमन्त्री मेघराज नेपाली निषाधले उदघाटन गरे।
‘राजधानीको मुख्य स्थानमा शाखा खोल्ने योजनाअनुसार कालीमाटीमा सेवा विस्तार गरेका हौं,’ शर्माले भने, ‘संगमको ब्राण्डलाई फ्रेन्चाइज अवधारणामा रहेर केहि वर्षमा नै देशभरी पुर्याउने लक्ष्य रहेको छ।’ संगम स्वीट्सले अबको केहि समयपछि नै झापाको सुरुङ्गामा नयाँ शाखा विस्तार गर्ने पनि जनाएको छ। योसँगै कम्पनीको शाखा संख्या ६ पुग्नेछन्।
हाल एकसय ५० परिकार उपलब्ध रहेको संगम स्वीट्समा अब थप १० किसिमका परिकार थप गर्ने लागेको संगमले जनाएको छ।